News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको महालक्ष्मी नगरपालिका-५ मा विद्युत् सर्ट भई आगलागी हुँदा शिवकुमार तुम्बाको घर जलेर करिब ४ लाख २२ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
- आगलागीबाट घरधनी र डेरा गरी बस्ने व्यक्तिका खाद्यान्न, लत्ताकपडा एवम् इलेक्ट्रोनिक्स सामान नष्ट भए पनि मानवीय क्षति भने भएको छैन ।
८ असार, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा आगलागी हुँदा दुई तले घरको माथिल्लो तला जलेर नष्ट भएको छ ।
महालक्ष्मी नगरपालिका-५, लेगुवा शिवरात्री टोलका शिवकुमार तुम्बाको टिनको छानो भएको दुई तले घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट माथिल्लो तला पूर्णरूपमा जलेर नष्ट हुँदा करिब ४ लाख २२ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
आगलागीमा परी सोही घरमा डेरा गरी बस्ने संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका-७ की मिना चापागाईंको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, ल्यापटप, टेलिभिजन र मोबाइल फोन जलेर नष्ट भएको छ ।
आगलागीबाट घरधनी शिवकुमार तुम्बाको काठपात, धान, मकै तथा लत्ताकपडा जलेर क्षति भएको क्षेत्रीले जानकारी दिए ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया 4