+
फिफा विश्वकप २०२६ :

विश्वकपमा मेसीको कीर्तिमान नै कीर्तिमान

२०८३ असार  ९ गते १:०५ २०८३ असार ९ गते १:०५

विश्वकपमा सर्वाधिक गोल, सर्वाधिक खेल देखि सर्वाधिक खेल जित्ने, सर्वाधिक गोल्डेन बल जित्ने सम्मको कीर्तिमान मेसीले बनाइसके । यस्तो लाग्छ मेसी कीर्तिमानको पछि होइन कीर्तिमान नै मेसीको लागि पर्खिरहेको छ ।

काठमाडौं । लियोनल मेसी र फिफा विश्वकपको कीर्तिमान पर्याय ने बनेको छ ।

मेसीले विश्वकपमा जति खेल खेल्दै जान्छन् उति नै कीर्तिमान बन्दै जान्छ । मेसी कीर्तिमान तोड्नै नयाँ-नयाँ कीर्तिमान लेखाउँदै अघि बढेका छन् ।

यस्तो लाग्छ मेसी कीर्तिमानको पछि होइन कीर्तिमान नै मेसीको लागि पर्खिरहेको छ ।

फिफा विश्वकपको ९६ वर्षे इतिहासमा मेसीले विश्वकपमा सर्वाधिक खेल्ने खेल्ने सर्वाधिक गोल गर्ने देखि विभिन्न खालको कीर्तिमान बनाइसकेका छन् ।

हाल उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ मा मेसीले हरेक खेलमा नयाँ नयाँ कीर्तिमान बनाइरहेका छन् ।

सोमबार राती डालास स्टेडियममा अस्ट्रिया विरुद्ध दुई गोल गर्दै मेसी विश्वकप इतिहासमा सर्वाधिक १८ गोल गर्ने खेलाडी बने ।

समूह जे मा पहिलो खेलमा अल्जेरिया विरुद्ध ह्याट्रिक गर्दे जर्मनीका मिरोस्लाभ क्लोजसँगै सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गरेका मेसीले लगत्तै अर्को खेलमा क्लोजको कीर्तिमान भंग गर्दे एकल कीर्तिमान बनाए ।

अस्ट्रिया विरुद्ध आठौं मिनेटमै पेनाल्टी मिस गरेका मेसीले ३८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने इन्जुरी टाइममा दोस्रो गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरेका थिए ।

सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा डेब्यु गरेका मेसीले छैटौं विश्वकपमा आएर सर्वाधिक गोलको कीर्तिमान बनाएका हुन् ।

मेसीले गर्ने हरेक गोल अहिले कीर्तिमान जस्ते बनेको छ ।

अल्जेरिया विरुद्ध उनले आफ्नो विश्वकप करियरकै पहिलो ह्याट्रिक गरे । त्यही खेलमा गोल गरेपछि उनी पाँच फरक विश्वकपमा गोल गर्ने दोस्रो खेलाडी समेत बने । यस्तै मेसी विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी समेत बने । यसअघि क्रिस्टियानो रोनाल्डोले ३३ वर्षको उमेरमा ह्याट्रिक गरेका थिए भने मेसीले ३८ वर्षको उमेरमा विश्वकपमा ह्याट्रिक गर्ने कीर्तिमान बनाए ।

अस्ट्रिया विरुद्ध गोलपछि उनी विश्वकपको सर्वाधिक गोलकर्ता मात्र बनेनन् विश्वकपमा लगातार ६ खेलमा गोल गर्ने तेस्रो खेलाडी समेत बने ।

फ्रान्सका जस्ट फोन्टेनले सन् १९५८ र ब्राजिलका जर्जिन्होले सन् १९७० मा लगातार ६ खेलमा गोल गरेका थिए ।

मेसीले सन् २०२२ को कतार विश्वकपमा लगातार चार र २०२६ को विश्वकपमा लगातार दुई गरी लगातार ६ खेलमा गोल गरेका हुन् । चार वर्षअघि अर्जेन्टिनालाई विश्वकप उपाधि जिताउँदा मेसीले फाइनलमा २ गोल गरेका थिए । उनले समुह चरणको सुरुवाती दुई खेलमा साउदी अरेबिया र मेक्सिको विरुद्ध गोल गरेका थिए । त्यसपछि पोल्यान्ड विरुद्ध गोल नगरेपनि प्रिक्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा लगातार गोल गरे ।

यस विश्वकपमा सुरुवाती दुई खेलमा गोल गरेपछि मेसीले लगातार ६ खेलमा गोल गरेका हुन् ।

यस्तै मेसीले विश्वकपमा समूह चरण देखि प्रिक्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलसम्म सबै चरणमा गोल गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन् ।

मेसी आफ्नो टिनएज, ट्वेन्टिज र थर्टिजमा विश्वकपमा गोल गर्ने पनि पहिलो खेलाडी हुन् । साथे उनी विश्वकपमा गोल गर्ने अर्जेन्टिनाको सबेभन्दा कान्छो र सबैभन्दा पाका खेलाडी समेत हुन् ।

सर्वाधिक खेल र सर्वाधिक जित

मेसीले फिफा विश्वकपमा गोल गर्नेमा मात्र होइन खेल खेल्ने र जित्नेमा पनि कीर्तिमान बनाएका छन् ।

लगातार छैटौं पटक विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी समेत हुन् । यसे विश्वकपमा मेसी पछि क्रिस्टियानो रोनाल्डो पनि लगातार छैटौं पटक विश्वकप खेल्ने खेलाडी बनेका छन् ।

१९ वर्षको उमेरमा २००६ मा विश्वकपमा डेब्यु गरेदेखि मेसीले लगातार विश्वकप खेलेका छन् ।

यस्ते विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि मेसीकै नाममा छ । सन् २०२२ को कतार विश्वकपको फाइनलमा फ्रान्स विरुद्ध उनले सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान बनाएका थिए । यस संस्करण समूह चरणको दुई खेल खेलेपछि विश्वकपमा उनको खेल संख्या २८ पुगेको छ ।

यस्तै मेसी विश्वकपमा सर्वाधिक खेल जित्ने खेलाडी समेत बनेका छन् ।

यसअघि अल्जेरिया विरुद्धको खेल जित्दे मेसीले जर्मनीका क्लोजसँगै सर्वाधिक १७ खेल जित्ने कीर्तिमान बराबरी गरेका थिए । अब उनी विश्वकपमा सर्वाधिक १८ खेल जित्ने खेलाडी बनेका छन् ।

यस्तै मेसीले विश्वकपमा लगातार पाँच विश्वकपमा असिस्ट गर्ने कीर्तिमान पनि बनाएका छन् । यस विश्वकपमा गोलका लागि असिस्ट गरे उनी लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी हुनेछन् ।

विश्वकपमा सर्वाधिक असिस्ट गर्नेमा पनि मेसी संयुक्त रुपमा शीर्ष स्थानमा छन् । अर्जेन्टिनी लेजेन्ड डिएगो म्याराडोना र मेसीले सर्वाधिक ८ असिस्ट गरेका छन् । थप एक असिस्ट गरेमा मेसीले सर्वाधिक असिस्टको कीर्तिमान पनि आफ्ने नाममा लेखाउने छन् ।

विश्वकप उपाधि र दुई गोल्डेन बल

मेसीले एक पटक विश्वकप जितेर आफ्नो करियरलाई पनि पूर्ण बनाइसकेका छन् । साथे उनले व्यक्तिगत अवार्डमा पनि कीर्तिमान राखेका छन् । मेसी विश्वकपमा दुई पटक गोल्डेन बल अवार्ड जित्ने एक्ला खेलाडी समेत हुन् ।

सन् २०१४ मा अर्जेन्टिनालाई फाइनलमा पुर्‍याएर उपाधि जित्न नसकेपनि मेसीले गोल्डेन बल जितेका थिए भने २०२२ मा विश्वकप उपाधि सँगे गोल्डेन बल अवार्ड समेत जितेका थिए ।

यस्तै मेसीले विश्वकपमा सर्वाधिक १२ प्लेअर अफ दि म्याच अवार्ड समेत जितेका छन् ।

मेसीले विश्वकपमा सबेभन्दा धेरै मिनेट पनि खेलेका छन् । उनले २ हजार ४०० भन्दा बढी मिनेट खेलेका छन् । यस्तै विश्वकपमा सर्वाधिक ६७ चान्स क्रिएट गर्ने कीर्तिमान पनि मेसीकै नाममा छ ।

मेसीले २३औं संस्करणको विश्वकपमा दुई खेलमै ५ गोल गरिसकेका छन् र गोल्डेन बुटको दौडमा अघि छन् । उनले विश्वकपमा जित्न बाँकी अवार्ड गोल्डेन बुट पनि हो । यस पटक अर्जेन्टिनाका लागि मुख्य गोलकर्ताको रुपमा देखिएका मेसीले त्यो अवार्ड पनि जित्ने सम्भावना देखिएको छ ।

फिफा विश्वकप २०२६
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय