+
+
Shares

चितवनको जमिनमुनि गाडिएको इतिहास : कांग्रेस विद्रोहीहरूको सामूहिक हत्या

इतिहासकार डा. राजेश गौतमले त्यतिबेला ३० देखि ४० जनाको ज्यान गएको हुन सक्ने बताए । मुलुक पञ्चायती व्यवस्थामा गएका बेला उनीहरूको शहादतले लोकतन्त्र ल्याउन ठूलो भूमिका खेलेको उनको भनाइ छ ।

केशव सावद केशव सावद
२०८३ असार ९ गते १३:०९

९ असार, काठमाडौं । पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालालाई अपदस्थ गरेर १ पुस २०१७ मा तत्कालीन राजा महेन्द्र शाहले शासन सत्ता हातमा लिए ।

महेन्द्रले शाही ‘कू’ मार्फत् प्रधानमन्त्रीसहितका नेताहरूलाई जेल हालेको डेढ महिनापछि आयोजित नेपाली कांग्रेसको भेलाले सुवर्णशमशेरलाई कार्यवाहक सभापति चयन गर्‍यो ।

भारतको पटनामा १२–१४ माघ २०१७ मा आयोजित सोही भेलाले संसद् र मन्त्रीमण्डल पुनर्स्थापनाको माग अघि सार्‍यो । माग पूरा गर्न राजा तयार नभए सशस्त्र विद्रोहमा उत्रिने निर्णय पनि भेलाबाट पारित भयो ।

जहानियाँ राणा शासन अन्त्यका लागि यसअघि नै सशस्त्र विद्रोह गरिसकेको कांग्रेसले फेरि सशस्त्र संघर्षमा उत्रिने निर्णय लिँदा शासकहरूमा खैलाबैला त मच्चियो तर, राजा महेन्द्र आफ्नो अडानबाट टसमस भएनन् ।

राजा आफ्नो अडानमा अडिग रहेपछि कांग्रेसले जहाँनियाँ राणा शासनविरूद्ध २००७ सालमा मुक्ति सेनाले सशस्त्र कारबाही थालनी गरेकै दिन पारेर २६ कात्तिक २०१८ मा दोस्रोपल्ट सशस्त्र विद्रोहको सुरुवात गर्‍यो ।

‘२०१८ कात्तिक २६ गते क्रान्ति दिवसको दिनबाट सुरु भएको सशस्त्र आन्दोलन पछि नेपालको तराई र पहाडी भागमा रहेका पुलिस चौकीहरू, पुलहरू र सरकारी सम्पत्तिहरूमाथि आक्रमण गर्ने, भत्काउने जलाउने र भाग्ने कामहरू हुन थाले,’ नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस (भाग ३) मा लेखिएको छ ।

सेनाले मुक्ति सेनाको कब्जाबाट भरतपुरलाई मुक्त गराउने क्रममा कांग्रेसका थुप्रै कार्यकर्ताहरू हताहत भएको इतिहासले देखाउँछ । तर, भरतपुर कब्जा गर्ने क्रममा कांग्रेसले बेहोरेको क्षतिको यकीन तथ्यांक भने छैन ।

सशस्त्र विद्रोह घोषणा गरेको कांग्रेस देशका विभिन्न स्थानमा ‘हान र भाग’ को रणनीतिमा आक्रमण र जनसरकार गठनलाई तीव्रताका साथ अघि बढायो । यही रणनीतिअन्तर्गत २६ माघ २०१८ मा भरतपुर (चितवन) कब्जा गर्‍यो ।

तर, मुक्ति सेनाले बिना रक्तपात भरतपुर कब्जा गर्दा कांग्रेसमा छाएको खुशीयाली ४८ घण्टाभन्दा बढी समय टिक्न सकेन । काठमाडौंबाट गएको ब्रिगेडियर जनरल भक्तनरसिंह राणा नेतृत्वको शाही सेनाले २८ माघमा भरतपुरलाई मुक्ति सेनाको नियन्त्रणबाट ‘मुक्त’ गरायो ।

सेनाले मुक्ति सेनाको कब्जाबाट भरतपुरलाई मुक्त गराउने क्रममा कांग्रेसका थुप्रै कार्यकर्ताहरू हताहत भएको इतिहासले देखाउँछ । तर, भरतपुर कब्जा गर्ने क्रममा कांग्रेसले बेहोरेको क्षतिको यकीन तथ्यांक भने छैन ।

नेपालको प्रजातान्त्रिक आन्दोलनसँग प्रत्यक्ष जोडिएका ऐतिहासिक पात्र बखानसिंह गुरूङको जीवनका आरोह–अवरोह समेटेर तयार पारिएको वसन्त पराजुलीको पुस्तक ‘बखान’ मा भरतपुर कब्जा गर्दा धेरै हताहत भएको उल्लेख छ ।

‘यति नै मारिए भन्ने पूर्ण रिपोर्ट आइपुगेको छैन । मलाई अहिलेसम्म प्राप्त जानकारीअनुसार ज्यान गुमाउनेमा हरिप्रसाद गुरूङ, बुद्धसिंह राना, खेमबहादुर गुरूङ, शमशेरबहादुर गुरूङ, ट्राफिक तामाङ, जगतप्रकाश जंह शाह, पञ्चे गुरूङ, हस्तबहादुर गुरूङलगायत २६ जना थिए,’ लेखकले विभिन्न व्यक्तिको हवाला दिँदै बखानसिंहको भनाइ पुस्तकमा उद्धृत गरेका छन् ।

लेखक पराजुलीका अनुसार हत्या गरिएकामध्ये सबैभन्दा कम उमेरका २७ वर्षीय बुद्धसिंह राना थिए । ६६ जनालाई विभिन्न अवधिको कैद, सजाय र दण्ड दिइएको, विध्वंसक र अराष्ट्रिय तत्व घोषणा गर्दै मुद्दा चलाइएको थियो ।

इतिहासकार डा. राजेश गौतमले त्यतिबेला ३० देखि ४० जनाको ज्यान गएको हुन सक्ने बताए । मुलुक पञ्चायती व्यवस्थामा गएका बेला उनीहरूको शहादतले लोकतन्त्र ल्याउन ठूलो भूमिका खेलेको उनको भनाइ छ ।

‘महेन्द्रले ‘कू’ गरेका थिए । बीपी भारत गएर बस्नु भएको थियो,’ डा. गौतमले अनलाइनखबरसँग भने, ‘त्यस्तो बेलामा लोकतन्त्र चाहिन्छ भनेर आन्दोलन गरेका थिए, पञ्चायती सरकारले दमन गर्‍यो ।’

कांग्रेस सभापति गगन थापाले आइतबार सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताहरूलाई उनीहरूकै मञ्च प्रयोग गरेर यही इतिहास स्मरण गराएका थिए ।

थापाले रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सम्बोधन गर्दै प्रजातन्त्र पुनर्बहालीका लागि चितवनमा मात्रै कम्तीमा पनि ५० जना कांग्रेसका कार्यकर्ताले ज्यान गुमाउनु परेको बताएका थिए ।

‘तपाईंहरू जुन ठाउँमा उभिनु भएको छ, त्यहाँ कम्तीमा ५० जनाको शव गाडिएका छन्,’ उनले भने, ‘उनीहरूलाई २०१८ सालमा पञ्चायत सरकारले काटेर गाडेको थियो ।’

सभापति थापाले २०१८ सालमा सरकारले हत्या गरेकाहरूले देश र जनताका लागि चार तारे झण्डा उठाएको बताए ।

‘उनीहरूले चार तारे झण्डा उठाउँदै जय नेपाल भनेका थिए । तर, आफ्ना लागि होइन लोकतन्त्र, तपाईं र हाम्रा लागि । त्यही कारणले तपाईंले निलो झण्डा फहराउन पाउनु भएको छ,’ उनले भने, ‘एक पटक झण्डा फहराउँदै गर्दा निलो झण्डा मुनि अलिकति रातो छ । चितवनको जमिनमा पनि त्यो रातो छ । त्यो रातो ती शहीदहरूले लगाएको रातो हो ।’

इतिहासकार गौतमले भरतपुर घटनाबारे ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस’ नामक पुस्तकको भाग–३ मा उल्लेख गरेका छन् । जस अनुसार लालध्वज गुरूङ र पहलमानसिंह गुरूङको नेतृत्वमा क्रान्तिहरूले २६ माघ २०१८ को राति भरतपुर थानामाथि आक्रमण गरे ।

आक्रमणको नेतृत्व गर्ने मध्येका लालध्वज र भरतपुर प्रहरी थानाका थानेदार भरत गुरूङ नातेदार थिए । ‘बखान’ मा उल्लेख भए अनुसार भरत लालध्वजका साला हुन् ।

‘त्यसबेला चितौनका थाना प्रमुखमा थानेदार भरत गुरूङ थिए थिए,’ पुस्तकमा लेखिएको छ, ‘जो लालध्वज गुरूङका साला नाता पर्ने हुन् ।’

पूर्वनिर्धारित योजनाअनुरूप थानेदार भरत गुरूङले बिना संघर्ष थानामा रहेका २५० वटा राइफलसहित आत्मसमर्पण गरे । ‘उनी (भरत गुरूङ) सँग त्यहाँ रहेका सैनिकहरूले पनि कांग्रेसका क्रान्तिकारीहरू समक्ष आत्मसमर्पण गरेका थिए,’ इतिहासकार गौतमले पुस्तकमा लेखेका छन् ।

त्यसअघि नै लालध्वजले थानेदार भरतलाई आत्मसमर्पणका लागि कांग्रेस कार्यकर्ता तोपमान गुरूङमार्फत पत्र पठाइसकेका थिए । भरत २००७ सालको सशस्त्र आन्दोलनका योद्धा र मुक्ति सेनाबाट रक्षा दल हुँदै प्रहरी सेवामा प्रवेश गरेका थिए ।

थानापछि कांग्रेसका कार्यकर्ताहरूले भरतपुर क्षेत्रमा रहेका सबै सरकारी कार्यालय, टिकौलीको गैंडा गस्ती कार्यालय, राप्ती दूनका सबैजसो विभागहरू, माल अड्डा, मेघौलीको विमानस्थल, भरतपुरको विमानस्थलसहितका महत्वपूर्ण स्थानहरू कब्जा गरेका थिए ।

भरतपुर कब्जाका लागि कांग्रेसले भरतपुर र मेघौली विमानस्थलमा विमान अवतरणमा अवरोध पुर्‍याउन धावनमार्ग जोतेका थिए भने हेटौंडादेखिका पुलहरू भत्काएका थिए । त्यही कारण सरकारी सेना भरतपुर आउन नसक्नेमा ढुक्क भएर २८ माघको बिहान कांग्रेस कार्यकर्ताहरू नारायणी मावि नजिकै खानाको तयारी गरिरहेका थिए ।

जगतप्रकाशजंग शाहको हत्या गरिसकेपछि भक्तनरसिंहले उनको शरीरबाट टाउको छुट्याउन लगाइ आदेश भएअनुसार राजदरबारमा पठाएको पनि पुस्तकमा उल्लेख छ ।

भरतपुरमाथि कांग्रेसले कब्जा गरेको खबर चिसापानीगढीका बडाहाकिम रामेश्वरप्रसाद श्रेष्ठले केन्द्रमा पठाइसकेका थिए । भरतपुर कब्जाको खबर पाएपछि सरकारले हातहतियारसहित थप सैनिक सिमरा विमानस्थलमा ओराली सकेको थियो ।

सिमराबाट हेटौंडा हुँदै भत्किएका पुलहरूको अस्थायी मर्मत गर्दै अगाडि बढेको शेर बटालियनका बिर्गेडियर भक्तनरसिंह राणाको नेतृत्वको सरकारी सेनाले भरतपुर विमानस्थललाई आफ्नो नियन्त्रणमा लिइसकेको थियो ।

इतिहासकार गौतमका अनुसार राणा नेतृत्वको सैन्य टोलीले नारायणी मावि नजिकै ढुक्कसँग बसेका कांग्रेस कार्यकर्ताहरूलाई चारैतिरबाट घेरेर गोली हानेको थियो ।

‘त्यसबेला केही क्रान्तिकारी कार्यकर्ताहरूको घटनास्थलमै मृत्यु भएको थियो भने कति जना सेनाको घेरा तोडेर भाग्न सफल भएका थिए,’ उनले पुस्तकमा लेखेका छन् ।

भरतपुरलाई कांग्रेसको कब्जाबाट मुक्त गरेपछि पनि सरकारी सेनाले भरतपुर गेस्ट हाउसको छानामा फहराइरहेको चार तारे झण्डा र बीपीको तस्विर भने झिकेको थिएन ।

‘उक्त काम उनीहरूले आन्दोलनकारीलाई झुक्याइ फसाउनका लागि गरेका थिए,’ इतिहासकार गौतम भन्छन् ।

भरतपुर कब्जाको खुशीयाली मनाउन सेतो गाडीमा चार तारे झण्डा फहराउँदै पुगेका ११ जना आन्दोलनकारीले सरकारी सेनाले गेस्ट हाउस चौरमा नियन्त्रण लिएको थियो ।

‘भारतपुरको अतिथि गृहको छानामा चार तारे झण्डा फहराइ रहेको देखेपछि उनीहरू ढुक्क भएर अतिथि गृहतर्फ लागे,’ ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस (भाग ३)’ मा लेखिएको छ, ‘तर, त्यहाँ पुग्नेबित्तिकै सरकारी सेनाले उनीहरूलाई गिरफ्तार गर्‍यो ।’

गिरफ्तार हुनेमा हरिप्रसाद गुरूङ, बुद्धसिंह राना, शमशेरबहादुर गुरूङ, जगतप्रकाश जंग शाह, खेमबहादुर गुरूङ, ट्राफी (ट्राफिक) गुरूङका साथै जिप चालक नरबहादुर र मीनबहादुरलगायत मुक्ति सेनाका ११ जनालाई सरकारी सेनाले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका ११ जनालाई एउटै डोरीले बाँधेर सेनाले लतारेर चौबिसकोटी पुर्‍याएको थियो । जसमध्ये तीन जनालाई गोली हानेर मारिएको रिपोर्ट नरकटियागञ्जमा रहेका बखानसिंहले पाएका थिए ।

‘अन्य आठ जनालाई सरकारी सेनाले त्यहीँबाट लतार्दै–घिसार्दै टिकौली जंगल पुर्‍याए छ । आठमध्ये सात जना आन्दोलनकारीलाई सङ्गीन रोपेर तड्पाई–तड्पाई हत्या गरेछ,’ ‘बखान’ पुस्तकमा लेखिएको छ, ‘जगतप्रकाशजंग शाहलाई भने राजपरिवारको भनेर सेनाले मार्न सकेन छ ।’

पछि सेनाले उनीबारे राजा महेन्द्रलाई जानकारी गराएपछि राजाकै अनुमति लिएर जगतप्रकाशलाई हेस्ट हाउसमा निर्ममतापूर्वक यातना दिई मारेर गेस्ट हाउसबाहिर लगेर उत्तरतर्फको पाटीघारीमा लगेर गाडेको पुस्तकमा उल्लेख छ ।

२८ माघको बिहानै क्रान्तिकारीहरू सवार राप्ती दूनको जिपमा सरकारी सेनाले भारतपुर विमानस्थलको आधा मैदान पार नगर्दै गोली प्रहार गर्‍यो ।

उक्त जिपमा सवार कृष्ण पौडेल, चन्द्रबहादुर शाही, चन्द्रबहादुर मल्ल, कृष्णप्रसाद बास्तोला, मैते तामाङ, कृष्णबहादुर तामाङ, पञ्चु तामाङ, टेण्डु तामाङ, लालबहादुर तामाङलगायत सवार थिए ।

धर्मानन्द ढकालले चलाएको जिपमा शाही सेनाले गोली प्रहार गरेपछि आन्दोलनकारीहरूको भागाभाग भएको थियो । गोली लागेर ढलेका पञ्चुलाई सेनाले कुटी–कुटी त्यहीँ मारेको इतिहासकार गौतम बताउँछन् ।

उनका अनुसार भरतपुर सैनिक कारबाही र त्यसपछि गिरफतार सबैलाई शाही सेनाले अतिथि गृहको एउटा कोठामा थुनेर राखेको थियो । गिरफ्तार भएका सहयोद्धाहरूलाई मुक्त गराउन आन्दोलनकारीको एक समूहले फेरि आक्रमण गरेको थियो ।

उक्त आक्रमणमा बुद्धिबल गुरूङ, सानो गजबबहादुर गुरूङ, जसबहादुर गुरूङ, कृष्णबहादुर कुमाललगायतका आन्दोलनकारीको सहभागिता रहेको थियो । आन्दोलनकारीको समूह गोली चलाउँदै अगाडि बढेपछि शाही सेनाको भागदौड मच्चिएको थियो ।

उक्त भागदौडका क्रममा बन्दी बनाइएका छेज्यु तामाङ, तलबहादुर गुरूङलगायत आन्दोलनकारीहरू भाग्न सफल भएका थिए । ‘उक्त घटनापछि सरकारी सेनाले अतिथि गृहमा फिर्ता गरी कब्जा गर्दा बन्दी बनाइएकाहरू हरिनाथ, धनबहादुर, सन्तवीर सिंह, गिरिबहादुर गुरूङ, होमबहादुर लगायत ट्राफिक तामाङ र अन्य केहीलाई २९ माघ राति भक्तनरसिंहले बाहिर निकाली टिकौली जंगलमा लगी गोली हानी हत्या गरे र त्यहीँ नै खाल्टो खनी गाडिदिएका थिए,’ गौतमको पुस्तकमा लेखिएको छ ।

भक्तनरसिंहले २ चैतमा भरतपुर अस्पतालको पूर्वपट्टीको स्थानमा हरिप्रसाद गुरूङ, बुद्धसिंह राना, खेमबहादुर गुरूङ, जगतप्रकाशजंग शाह र शमशेरबहादुर गुरूङको सामूहिक हत्या गरेका थिए ।

‘शमशेरबहादुर गुरूङलाई बेग्लै एउटा खम्बामा बाँधी खुकुरीले खुट्टादेखि टाउकोसम्म छर्या–छर्याक पार्दै ज्यादै कठोर यातना दिए,’ नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस (भाग ३) मा लेखिएको छ, ‘अन्य सबैलाई गोली हानी हत्या गरे । सबैलाई त्यहीँ नै खाल्टो खनेर पुरिदिएका थिए ।’

जगतप्रकाशजंग शाहको हत्या गरिसकेपछि भक्तनरसिंहले उनको शरीरबाट टाउको छुट्याउन लगाइ आदेश भएअनुसार राजदरबारमा पठाएको पनि पुस्तकमा उल्लेख छ ।

‘जहाँ राजा महेन्द्रले ऋषिकेश शाहलाई समेत राखी आफ्नो अगाडि किस्तीमा रातो कपडाले छोपेर ल्याएको टाउकोको कपडा नजिकै रहेको सैनिकको तरबारले हटाउन लगाई ‘तैंले मेरो राज्य खान खोजेको हैन ?’ भन्दै आक्रोश व्यक्त गरेका थिए,’ इतिहासकार गौतमले ऋषिकेश शाहसँगको अन्तर्वार्ताका आधारमा पुस्तमा लेखेका छन् ।

चितवन कब्जाका लागि कांग्रेसले महेश्वरलाल श्रेष्ठ, लालध्वज गुरूङ, सेनाका पूर्वमेजर महेश्वरलाल श्रेष्ठ र जगतप्रकाशजंग शाहको नेतृत्वमा टोली गठन गरेको थियो । पार्टीले चितवन कब्जाको निर्णय गरेर मुख्य जिम्मेवारी भने बखानसिंह गुरूङलाई सुम्पिएको थियो ।

भारतको नरकटियागञ्जमा कांग्रेसले स्थापना गरेको क्याम्पमा उनले टोली विभाजन गरेका थिए । बखानसिंहले महेश्वरलाललाई चितवन गएर राजनीतिक भेटघाट गरेर आन्दोलनको वातावरण बनाउन निर्देशन दिएका थिए ।

कांग्रेसले बिनारक्तपात भरतपुर कब्जामा लियो । भरतपुर कब्जामा लिने क्रममा कांग्रेसको जनमुक्ति सेनाले भरतपुरमा रहेको प्रहरी थानाबाट एक सय ८० थान हतियार, गैंडा गस्ती क्याम्पबाट २७ नाल बन्दुक कब्जामा लिएको ‘बखान’ मा उल्लेख छ ।

लालध्वजलाई गुप्त ढंगले भरतपुर जान र कांग्रेसलाई सहयोग गर्दै आएका प्रशासनका मानिसहरूसँग भेट गरेर क्रान्तिलाई सघाउनका लागि आग्रह गर्न भनिएको थियो । यस्तै पूर्वमेजर मेहरध्वजलाई मुक्ति सेनाको कमान सम्हाल्ने जिम्मा दिइएको थियो ।

मेहरध्वज नेतृत्वको समूहले चितवनमा आक्रमण गर्ने योजना बनाइएको थियो । जगतप्रकाश जंग नेतृत्वको चौथो टोलीलाई भने मेहरध्वज नेतृत्वको टोलीलाई आवश्यकताअनुसार ‘ब्याक फोर्स’ दिने भनिएको थियो ।

तर, कांग्रेसले बिनारक्तपात भरतपुर कब्जामा लियो । भरतपुर कब्जामा लिने क्रममा कांग्रेसको जनमुक्ति सेनाले भरतपुरमा रहेको प्रहरी थानाबाट एक सय ८० थान हतियार, गैंडा गस्ती क्याम्पबाट २७ नाल बन्दुक कब्जामा लिएको ‘बखान’ मा उल्लेख छ ।

त्यसअघि पूर्वमेजर मेहरध्वज नेतृत्वको जनमुक्ति सेनाले २४ माघ २०१८ मा भरतपुर प्रवेश गर्ने क्रममा बघौडा चौकी आक्रमण गरेर नौ थान ‘थ्री नट थ्री’ बन्दुक नियन्त्रणमा लिएको थियो । ४० सदस्यीय यो टोली बघौडा चौकी आक्रमण गरेर भरतपुर आएको थियो ।

त्यसको एक दिनपछि जगतप्रकाशजंग शाह नेतृत्वको टोलीले ध्रुवघाटको प्रहरी थाना कब्जामा लिएर दुई नाल बन्दुक, राइफल र गोलीगट्ठा नियन्त्रणमा लिएको थियो ।

आन्दोनलकारीको कब्जामा रहेको भरतपुर फिर्ताका क्रममा शाही सेनाले मच्चाएको क्रुरताबारे भारतको नरकटियागञ्जस्थित क्याम्पमा रहेका बखानसिंह गुरूङ भने अनभिज्ञ थिए ।

उनले २९ माघमा पार्टीका कार्यवाहक सभापति सुवर्णशमशेरलाई लेखेको पत्रमा शाही सेनाले गरेको हत्याबारे केही पनि उल्लेख गरेको पाइँदैन । पत्रमा बखानसिंहले चितवनको संघर्षमा सफलता भएको कुरामात्र उल्लेख गरेको इतिहासकार गौतम बताउँछन् ।

बखानसिंहले पत्रमा माडी, भारतपुर, टिकौली, चौकीसहित चितवनका ६८ चौकीहरू कांग्रेसको अधिकारमा रहेको र त्यहाँबाट २५० थान राइफल, दुई हजार थान गोली, प्राप्त भएको उल्लेख गरेको पाइन्छ ।

जसमध्ये सात नाल बन्दुक गोवर्द्धन शर्मालाई दिएको उल्लेख गर्दै उनले इमानसिंह, लालध्वज, पहलमानसिंह र मेजर (मेहरध्वज अधिकारी) को कार्य सह्रानीय रहेको पत्रमा उल्लेख गरेका छन् ।

‘पत्र पाएपछि सुवर्णशमशेरले पनि सन् १९६२ फेबुअरी १४ मा बखानसिंहलाई एक पत्र लेखी उनको कार्यको सह्राना गर्दै आफू अहिले सुरू भएको संघर्षको रूपबाट ज्यादै प्रभावी भएको कुरा लेख्दै देशका लागि उठाइएको जनआन्दोलनले हाम्रो देशको शान, मर्यादा साथसाथै प्रजातन्त्रको पुनस्र्थापना गराई छाड्ने छ भन्ने कुरा व्यक्त गरेका थिए,’ गौतमको पुस्तकमा लेखिएको छ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?