+
फिफा विश्वकप २०२६ :

लगातार जितको लक्ष्यसहित इंग्ल्यान्डको नजर नकआउटमा

२०८३ असार  ९ गते १४:५१ २०८३ असार ९ गते १४:५१

फिफा विश्वकप २०२६ को समूह ‘एल’ अन्तर्गत बोस्टनस्थित बोस्टन रङ्गशालामा आज दुई अपराजित टोलीहरू इङ्गल्यान्ड र घाना बीच रोमाञ्चक भिडन्त हुँदैछ ।

पहिलो खेलमा क्रोएसियालाई ४-२ ले पराजित गर्दै सानदार सुरुवात गरेको इङ्गल्यान्ड विश्वकप इतिहासमा पाँचौं पटक आफ्ना सुरुवाती दुई खेल जित्ने ऐतिहासिक कीर्तिमान नजिक छ ।

मुख्य प्रशिक्षक थोमस टुचेलको आक्रामक रणनीति क्रोएसिया विरुद्ध रक्षात्मक रूपमा केही कमजोर देखिए पनि अग्रपङ्क्तिमा निकै विष्फोटक साबित भएको थियो ।

अर्कोतर्फ, समूहको पहिलो खेलमा पानामालाई १-० ले हराएर ३ अंक जोडिसकेको घाना पनि उच्च मनोबलका साथ मैदान उत्रँदैछ । घानाका अनुभवी प्रशिक्षक कार्लोस क्विरोजका लागि यो खेल पुरानो बदला लिने अवसर पनि हो, किनभने कतार विश्वकपमा उनको प्रशिक्षणमा रहेको इरानलाई इङ्गल्यान्डले ६-२ ले पराजित गरेको थियो ।

आजको खेल जितेमा इंग्ल्यान्ड नकआउटमा प्रवेश गर्नेछ भने त्यसपछिको अर्को खेलमा क्रोएसियाले पानामालाई हराएमा इंग्ल्यान्ड एक खेल अगावै समूह विजेता नै बन्नेछ ।

हेड-टु-हेड

इंग्ल्यान्ड र घानाबीच फुटबल इतिहासमा यो केवल दोस्रो भेट हो भने विश्वकप वा कुनै पनि आधिकारिक प्रतियोगिताको मञ्चमा पहिलो प्रतिस्पर्धात्मक खेल हो । यसअघि सन् २०११ मा भएको एकमात्र मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो ।

फिफा वरीयतामा चौथो स्थानमा रहेको इंग्ल्यान्ड र ७३औं स्थानमा रहेको घानाबीच ठूलो अन्तर छ । विश्वकपको इतिहासमा इङ्गल्यान्डले अफ्रिकी टोलीहरू विरुद्ध खेलेका ८ खेलमा अहिलेसम्म हार बेहोर्नु परेको छैन ।

यद्यपी सन् २०२५ को जुनमा भएको मैत्रीपूर्ण खेलमा भने सेनेगलले इंग्ल्यान्डलाई ३-१ ले हराएको थियो ।

टिम न्युज

इंग्ल्यान्ड : चोटग्रस्त टिनो लिभ्रामेन्टोको स्थानमा आकस्मिक रूपमा बोलाइएका डिफेन्डर ट्रेभोह चालोबाह टोलीसँग पूर्ण रूपमा जोडिएका छन् । विङ्गर बुकायो साकाको कुर्कुच्चाको चोटका कारण नोनी माडुएकेले नै सुरुवाती ११ मा निरन्तरता पाउने सम्भावना छ र साकालाई दोस्रो हाफमा मात्र मैदान प्रवेश गराइने सम्भावना छ ।

घाना: पहिलो खेलमा भिसा समस्याका कारण क्यानडा प्रवेश पाउन नसकेका स्टार मिडफिल्डर थोमस पार्टे यस खेलका लागि उपलब्ध छन् । पहिलो खेलमा ग्रोइन चोट बेहोरेका पहिलो रोजाइका गोलकिपर लरेन्स अति-जिगी प्रशिक्षणमा फर्किएका छन्, तर उनी फिट नभए बेन्जामिन असारेले गोलपोस्ट सम्हाल्नेछन् ।

प्लेयर्स टु वाच

इंग्ल्यान्ड

ह्यारी केन (स्ट्राइकर) : क्रोएसिया विरुद्धको जितमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान ह्यारी केन टोलीका मुख्य गोल मेसिन हुन् । घानाको शारीरिक रूपमा बलियो डिफेन्सलाई तोड्न उनको बक्सभित्रको चलाखीपूर्ण मुभमेन्ट र फिनिसिङ क्षमता इंग्ल्यान्डका लागि सबैभन्दा ठूलो हतियार हुनेछ ।

नोनी माडुएके (विङ्गर) : बुकायो साका पूर्ण रूपमा फिट नभएका कारण सुरुवाती ११ मा मौका पाउने माडुएके हाल उच्च फर्ममा छन् । विङ्ग्सबाट उनको विष्फोटक गति र ड्रिब्लिङ कलाले घानाका डिफेन्डरहरूलाई खेलभरि नै व्यस्त राख्ने निश्चित छ ।

जुड बेलिङहम (मिडफिल्डर) : इंग्ल्यान्डको मिडफिल्डका मुख्य खम्बा बेलिङहमले खेलको लय नियन्त्रण गर्नुका साथै आक्रामक विङ्गरहरूका लागि सटिक पासहरू निकाल्नेछन् । क्रोएसिया विरुद्ध जस्तै मिडफिल्डबाट अचानक विपक्षी बक्समा छिरेर गोल निकाल्ने उनको शैली घानाका लागि घातक बन्न सक्छ ।

घाना

थोमस पार्टे (मिडफिल्डर) : साउदी प्रो लिगमा खेलिरहेका आर्सनलका पूर्व मिडफिल्डर थोमस पार्टे यस खेलमा घानाको मिडफिल्डका मुख्य इन्जिन हुनेछन् । इंग्ल्यान्डको बलियो आक्रामक मिडफिल्ड र जुड बेलिङहमलाई रोक्न रक्षापङ्क्तिको ठीक अगाडि बसेर खेल बिगार्ने मुख्य जिम्मेवारी पार्टीकै काँधमा हुनेछ ।

कलेब यिरेन्की (मिडफिल्डर) : पानामा विरुद्धको खेलमा इन्जुरी समयको अन्तिम मिनेटमा निर्णायक गोल गर्दै घानालाई महत्वपूर्ण ३ अंक दिलाएका यिरेन्की हाल टोलीका नायक हुन् । मिडफिल्डमा थोमस पार्टेसँग उनको साझेदारी र काउन्टर अट्याकमा गोल निकाल्ने उनको लय इंग्ल्यान्डका लागि चुनौतीपूर्ण बन्न सक्छ ।

ब्रान्डन थोमस-असान्टे (स्ट्राइकर) : पहिलो खेलमा जोर्डन आयुले स्ट्राइकरको रूपमा संघर्ष गरेपछि प्रशिक्षक क्विरोजले बेन्चबाट प्रभाव पारेका आक्रामक फरवार्ड थोमस-असान्टेलाई सुरुवाती ११ मा मौका दिन सक्छन् । उनको शारीरिक शक्ति र गतिले इंग्ल्यान्डको केही कमजोर देखिएको डिफेन्स लाइनलाई दबाबमा राख्नेछ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय