+

आईपीएल ट्रेड : दिल्लीमा फर्किए पन्त, कुलदीप लखनउ पुगे

२०८३ असार  ९ गते १५:२५ २०८३ असार ९ गते १५:२५

९ असार, काठमाडौं । भारतीय विकेटकिपर ब्याटर ऋषभ पन्त फेरि दिल्ली क्यापिटल्समा फर्किएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलाडी आदानप्रदान (ट्रेड) मार्फत पन्त दिल्लीमा फर्किँदा स्पिनर कुलदीप यादव लखनउ सुपर जायन्ट्समा पुगेका छन्।

आईपीएलले आधिकारिक रूपमा उक्त सम्झौताको पुष्टि गरेको हो । दिल्लीले पन्तलाई १५ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ भने लखनउले कुलदीपलाई १३ करोड ५० लाख रुपैयाँमा आफ्नो टोलीमा भित्र्याएको छ ।

पन्तले यसअघि सन् २०१६ देखि २०२४ सम्म दिल्लीको प्रतिनिधित्व गरेका थिए । सो अवधिमा उनले टोलीका लागि सर्वाधिक १११ खेल खेलेका थिए भने सन् २०२१ देखि २०२४ सम्म ४३ खेलमा कप्तानीसमेत गरेका थिए ।

सन् २०२५ को मेगा अक्सनमा कीर्तिमानी २७ करोड रुपैयाँमा लखनउ पुगेका पन्तले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । उनले २०२५ मा २६९ रन र २०२६ मा ३१२ रन बनाएका थिए । उनको कप्तानीमा लखनउ क्रमशः सातौं र दशौं स्थानमा सीमित भएको थियो ।

यता कुलदीपले चार सिजन दिल्ली क्यापिटल्सबाट खेलेका थिए । उनले ६५ खेलमा ७२ विकेट लिँदै ८.३८ को इकोनोमीमा बलिङ गरेका थिए ।

तर २०२६ सिजन कुलदीपका लागि सम्झनलायक रहेन । उनले १० विकेट मात्र लिए भने १०.३० को इकोनोमीमा रन खर्चिए, जुन उनको १० वर्षे आईपीएल करियरकै सबैभन्दा महँगो बलिङ थियो ।

आईपीएल २०२६ सकिएको एक महिनाभित्रै सम्पन्न भएको यस ट्रेडमार्फत दिल्लीले आफ्नो पुरानो प्रभावशाली खेलाडीलाई पुनः टोलीमा फर्काएको छ भने लखनउले अनुभवी स्पिनरमार्फत आफ्नो बलिङ आक्रमणलाई मजबुत बनाएको छ ।

आईपीएल २०२७ ऋषभ पन्त कुलदीप यादव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय