+
+
Shares

रास्वपाको मतदानमा भद्रगोल हुनुको कारण के हो ?

महाधिवेशनमा मतदान गरिरहेका प्रतिनिधि तथा उम्मेदवारहरूले भोटिङ मेसिनमा उम्मेदवारको नाम न वर्णानुक्रमअनुसार रहेको, न उम्मेदवारी दर्ता क्रममा मिलेको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते ११:१४

११ असार, चितवन । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदानमा प्रश्न उठिरहेका बेला भोटिङ मेसिनमा नभई उम्मेदवारी व्यवस्थापन प्रक्रियामै समस्या रहेको खुलेको छ ।

महाधिवेशनमा मतदान गरिरहेका प्रतिनिधि तथा उम्मेदवारहरूले भोटिङ मेसिनमा उम्मेदवारको नाम न वर्णानुक्रमअनुसार रहेको, न उम्मेदवारी दर्ता क्रममा मिलेको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।

साथै विभिन्न क्लस्टरका उम्मेदवारहरूलाई छुट्टाछुट्टै देखाउनुको सट्टा ६४ जनालाई एउटै सूचीमा राखिएको भन्दै पनि प्रश्न उठेको छ ।

तर रास्वपाका एक नेताले अनलाइनखबरसँग कुरा गर्दै मेसिनमा प्रबिष्ट गर्न प्राविधिकलाई उपलब्ध गराइएको नामावलीमै भद्रगोल भएको बताए ।

उनका अनुसार उम्मेदवारी दर्ताका क्रममा उम्मेदवारहरूले मधेशी खुला, मधेशी महिला, थारु, थारु महिलालगायत विभिन्न क्लस्टरमा उम्मेदवारी दिएका भए पनि अन्तिम नामावली तयार गर्दा ती क्लस्टरहरू नछुट्याइकन भोटिङ मेसिनमा विवरण इन्ट्री गर्न दिइएको थियो ।

‘६४ जनालाई खुलामै राखेर अन्तिम सूची प्राविधिकहरुलाई दिइयो । उम्मेदवारले कुन क्लस्टरमा उम्मेदवारी दिएका थिए भन्ने सरोकार प्राविधिकहरुलाई थिएन, उम्मेदवारहरूको नाम कुन आधारमा क्रमबद्ध गरिएको थियो भन्नेबारे पनि प्राविधिकहरुको चासोको विषय रहेन,’ एक नेताले भने, ‘पार्टीले जस्तो सूची दियो त्यस्तै इन्ट्री भोटिङ मेसिनको प्रणालीमा गरियो ।’

त्यसैले महाधिवेशनमा उम्मेदवारी दर्ता गर्दाको नम्बर र भोटिङ मेसिनमा देखिएको क्रमसंख्या नमिलेकाले समस्या सिर्जना भएको गुनासो प्रतिनिधि र उम्मेदवारहरुले गर्दै आएका छन् ।

एक नेताका अनुसार उम्मेदवारी दर्ता व्यवस्थापनका क्रममा एउटै क्लस्टरका फाराम तीन फरक स्थानबाट संकलन गरिएकाले पनि समस्या भएको हो ।

‘एउटै क्लस्टरको फाराम तीन ठाउँबाट वितरण भएछ । त्यसले एउटै सिरियल नम्बर तीन–तीन पटक दोहोरिने अवस्था भयो,’ स्रोतले भन्यो, ‘पछि ती सबै सूची एकीकृत गर्दा सुरुआती क्रममा रहेको उम्मेदवार धेरै पछाडि पुग्ने अवस्था बन्यो । अहिले देखिएको समस्या त्यही हो ।’

यो अवस्था अनुभवको कमी र निर्वाचन व्यवस्थापन प्रक्रियामा पर्याप्त समन्वय नहुँदाको परिणाम भएको ती नेताले बताए ।

रास्वपाले नयाँ कार्यसमिति चयन गर्न राम–लक्षमण भोटिङ मेसिन प्रयोग गरेको छ । राम–लक्षमण भोटिङ मेसिन नेकपा एमालेको महाधिवेशन लगायतका अन्य दल र संस्थाहरुमा पनि प्रयोग हुँदै आएको छ ।

रास्वपा महाधिवेशनमा देखिएको विवादको विषयमा प्राविधिक पक्षको भनाइ सार्वजनिक भएको छैन । अनलाइनखबरले यस विषयमा जिज्ञासा राख्दा राम–लक्षमण भोटिङ मेसिनका प्राविधिक रामप्रसाद रिमालले पछि कुरा गर्ने बताए ।

महाधिवेशनमा भोटिङ प्रक्रिया, उम्मेदवार सूचीकरण र क्लस्टर व्यवस्थापनबारे उठेका प्रश्नका सम्बन्धमा पार्टीको आधिकारिक धारणा पनि आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?