११ असार, चितवन । रास्वपाको प्रथम महाधिवेशनको मतपरिणाम सार्वजनिक हुँदा उम्मेदवारकै नाम गायब भएको छ ।
लुम्बिनी प्रदेशबा६ भूगोलतर्फका उम्मेदवारी दिएका भरतप्रसाद पनेरुको नाम नै निर्वाचन आयोगले सार्वजनिक गरेन । उनको नाममा आएको मत पनि घोषणा गरेन । पनेरुले पार्टीको महाधिवेशनमा चरम लापरबाही भएको भन्दै आपत्ति जनाएका छन् ।
उनले अनलाइखबरसँग आफ्नो गुनासो यसरी सुनाए :
तपाईंले लुम्बिनी प्रदेशबाट भूगोलतर्फ उम्मेदवारी दिनुभएको तर मतपरिणाम सार्वजनिक हुँदा आफ्नो नाम र मत नै देखिएन भन्नुभयो, वास्तविक कुरा के हो ?
म बाँके जिल्लाबाट लुम्बिनी प्रदेशको भूगोलतर्फ केन्द्रीय सदस्यको उम्मेदवार थिएँ। उम्मेदवारको सूचीमा मेरो नाम ३२ औं नम्बरमा थियो। तर, निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गर्दा मेरो नाम र मैले पाएको मत कतै पनि देखिएन, पूरै गायब गरियो।
यसबारे निर्वाचन आयोगसँग केही सोधपुछ गर्नुभयो? उनीहरूले के कारण देखाए ?
पहिलो कुरा त म सम्पूर्ण देशवासी र पार्टी कार्यकर्तासँग हार्दिकताका साथ माफी माग्न चाहन्छु । वास्तवमा यो माफी हाम्रो पार्टी सभापति, महामन्त्री र निर्वाचन आयोगले माग्नुपर्ने थियो। तर उहाँहरूले नमागेकाले एक जिम्मेवार उम्मेदवारका नाताले म माफी माग्दैछु।
हामीले आजसम्म हाम्रो पार्टीलाई ‘डिजिटल पार्टी’ र ‘डाटाबेस पार्टी’ भनेर जति फुर्ति लगायौँ, जुन अहङ्कार देखायौँ, आज यो घटनाले हामीलाई लज्जित बनाएको छ।
निर्वाचन आयोगले मतपरिणाम फलाक्दै गर्दा हाम्रो डिजिटल पार्टीको आधिकारिक वेबसाइटको ‘लाइभ अधिवेशन’ पोर्टलमा कुनै अपडेट नै थिएन।
सबै कुरा सकिएपछि मात्रै अपडेट आउने हो भने त्यो ‘लाइभ’ को के अर्थ भयो र ? अर्को कुरा, भोटिङ मेसिनबाट गरिएको मतदानको परिणाम अनलाइन प्लेटफर्ममा हालेको भए सबैले सहजै हेर्न पाउँथे, समयको पनि बचत हुन्थ्यो। तर यहाँ परिणाम लुकाइयो।
त्यसो भए मतपरिणाममा व्यापक लापरबाही नै भएको हो त ?
३ दिनमा सकिने महाधिवेशनलाई उहाँहरूले एक महिना झुलाउने तरिकाले अगाडि बढाउनुभयो। हाम्रा कतिपय साथीहरू त थाकेर घर फर्किसक्नुभयो।
मेरो प्रश्न के हो भने— डिजिटली गरिएको मतदानको मेरो भोट उहाँहरूले कहाँ लगेर हराउनुभयो ? अब त्यो कहाँ खोज्ने ?
यदि मेरो उम्मेदवारी (नोमिनेसन) नै नभएको भए बेग्लै कुरा हुन्थ्यो । तर मेरो नोमिनेसन स्वीकृत भएको छ । अरू कसैले नहाले पनि मैले आफैँलाई त एउटा भोट हालेको छु नि ! कम्तीमा त्यो एउटा भोट त देखिनुपर्थ्यो। खै त मेरो भोट ? मेरो प्रश्न यही हो।
यस विषयमा निर्वाचन समिति वा आयोगका सदस्यहरूको जवाफ के छ त ?
उहाँहरूले “म खोज्छु” भन्नुभएको छ। अब कहाँ गएर खोजेर ल्याउनुहुन्छ, एकछिन कुरेर हेरौँ। यति मात्र होइन, प्रवासको भोटमा पनि चलखेल भएको छ। हाम्रो ‘घन्टी एप’ मा सुरुमा मेरो प्रवासतर्फ ७ भोट देखिएको थियो, अरू साथीहरूको पनि देखिएको थियो। तर, एकछिनपछि एपबाट ती भोटहरू एकाएक हटाइयो।
यसबाहेक, उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा पनि घोर षड्यन्त्र भएको छ। सूची प्रकाशन गर्दा कि त दर्ता क्रमका आधारमा हुनुपर्छ कि वर्णानुक्रम अनुसार हुनुपर्छ। तर त्यहाँ कुनै मापदण्ड नै थिएन।
हामी डा. स्वर्णिम वाग्लेको सम्मान गर्छौँ, तर हाम्रो प्रश्न के हो भने— उहाँको नाम एक नम्बरमा कसरी आयो? सुशान्त वैद्धिकको नाम किन अन्तिममा राखियो ? सुशान्त वैद्धिकको नाम एक नम्बरमा किन आउन सकेन ? यो विषय गम्भीर र प्रश्नयोग्य छ।
पार्टीभित्रै नेतृत्वले के भन्छ ?
हाम्रा सभापति आफैँ प्रश्न गरेर नेतृत्वमा पुग्नुभएको हो। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तालाई प्रश्न गर भन्नुहुन्छ। त्यसैले हामी समग्र पार्टी प्रणालीमाथि नै यो प्रश्न गरिरहेका छौँ।
वास्तवमा यस्ता प्रश्नहरू पार्टीको आन्तरिक लोकतन्त्र र विधानले तोकेको ठाउँमा गरिनुपर्ने हो। तर, त्यहाँ त केवल ताली मात्र बजाइन्छ, प्रश्न सुनिँदैन।
आन्तरिक रूपमा सुनुवाइ नभएपछि हामी मिडियामा आउन बाध्य भएका हौँ।
अब तपाईंको आगामी कदम के हुन्छ त ?
मेरो उपाय भनेको निर्वाचन आयोगमा आधिकारिक उजुरी दिने नै हो। उजुरी दिएपछि उहाँहरूले “खोज्दैछौँ, सार्वजनिक हुन्छ” भन्नुभएको छ। सार्वजनिक नभई मत कहाँ जान्छ र ?
मलाई जसरी पनि मेरो भोट चाहिन्छ, म आफ्नो भोट अधिकार लिएरै छाड्छु।
प्रतिक्रिया 4