News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा पहिलोपटक आयोजना हुन लागेको 'पीडब्लुएक्सएम : रेस्टल क्यास्टल' कार्यक्रममा जापानी रेस्लिङ महानायक तथा डब्लुडब्लुई हल अफ फेमर तात्सुमी फुजिनामी सहभागी हुने भएका छन्।
- आगामी असार २० गते ललितपुरको नखिपोट युथ क्लबमा आयोजना हुने उक्त कार्यक्रममा खेलकुद, मनोरञ्जन र सङ्गीतको समेत प्रस्तुति रहनेछ।
- नेपाललाई अन्तर्राष्ट्रिय रेस्लिङको गन्तव्य बनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा नेपाली रेस्लरहरूले जापानबाट आउने उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नेछन्।
१४ असार, काठमाडौं । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने उद्देश्यसहित ‘पीडब्लुएक्सएम : रेस्टल क्यास्टल’ आयोजना हुने भएको छ । का
र्यक्रमको सबैभन्दा ठुलो आकर्षणको रूपमा विश्व प्रसिद्ध जापानी व्यावसायिक रेस्लिङका महानायक तथा डब्लुडब्लुई अल अफ फेमर तात्सुमी फुजिनामी रहेका छन् । विश्व रेस्लिङ इतिहासका सम्मानित व्यक्तित्व मध्ये एक मानिने फुजिनामीको उपस्थितिले नेपाली रेस्लिङ क्षेत्रका लागि ऐतिहासिक अवसर सिर्जना गर्ने विश्वास गरिएको छ ।
खेलकुद, मनोरञ्जन र सङ्गीतलाई एउटै मञ्चमा प्रस्तुत गर्ने लष्यसहित यो कार्यक्रम असार २० गते दिउँसो २ बजेदेखि ललितपुरको नखिपोट युथ क्लबको कभर्ड हलमा आयोजना हुनेछ । कार्यक्रममा चर्चित र्याप कलाकार डिबी यो म्याजेस्टी, भी-लेन ३९, साथै लोकप्रिय गायक कुहाङको साङ्गीतिक प्रस्तुति रहनेछ ।
फुजिनामीसँगै जापानबाट उत्कृष्ट खेलाडीहरू लेओना फुजिनामी, हरु योशिमुरा, हिरोशी मिहारा, काजुहिरो टामुरा, यासुशी मियामोटो तथा ह्योउ ओगवा सहभागी हुनेछन् । कार्यक्रममा नेपालका व्यावसायिक रेस्लरहरूले पनि आफ्नो क्षमता प्रदर्शन गर्नेछन् ।
नेपालको व्यावसायिक रेस्लिङका अग्रणी तथा प्रशिक्षक हिमालयन टाईगरको मार्गदर्शनमा तयार भएको नेपाली टोलीको नेतृत्व चर्चित र्यापर तथा व्यावसायिक रेस्लर बुलेट फ्लो (थापाकाजी) ले गर्नेछन् । यसका साथै अनुभवी रेस्लर जोन ब्रीज र लिजार्ड किङ्ग समेत नेपाली टोलीबाट प्रतिस्पर्धामा उत्रिनेछन् ।
पिग ई प्रोडक्सनको प्रस्तुति रहेको यस कार्यक्रम ‘पीडब्लुएक्सएम : रेस्टल क्यास्टल’ को सह–आयोजक भने नखिपोट युथ क्लब रहेको छ ।
कार्यक्रमको निर्देशन तकाशी ताकेइ (टक बिष्ट) ले गरिरहेका छन् । आयोजकका अनुसार ‘पीडब्लुएक्सएम : रेस्टल क्यास्टल’ केवल एउटा मनोरञ्जनात्मक कार्यक्रम नभई नेपाललाई अन्तर्राष्ट्रिय व्यावसायिक रेस्लिङको गन्तव्यका रूपमा स्थापित गर्ने अभियान हो ।
यस कार्यक्रममार्फत नेपाल र जापानबिच सांस्कृतिक आदान–प्रदानलाई प्रोत्साहन गर्नुका साथै नेपाली रेस्लरलाई अन्तर्राष्ट्रिय स्तरमा अवसर सिर्जना गर्ने, नयाँ प्रतिभा उत्पादन गर्ने तथा नेपाली दर्शकलाई विश्व स्तरीय मनोरञ्जन उपलब्ध गराउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4