News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा आज नेदरल्यान्ड्स र मोरक्को आमनेसामने हुँदैछन् ।
- समूह \'एफ\' को विजेता नेदरल्यान्ड्स आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा छ भने मोरक्को ऐतिहासिक सफलता दोहोर्याउन चाहन्छ ।
- यो खेलको विजेताले राउन्ड अफ १६ मा सह-आयोजक क्यानडाको सामना गर्नेछ ।
१५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत मेक्सिकोको मोन्टेरे रङ्गशालामा तीन पटकको विश्वकप उपविजेता नेदरल्यान्ड्स र कतार विश्वकप २०२२ को सेमिफाइनलिस्ट मोरक्को आमनेसामने हुँदैछन् ।
समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको नेदरल्यान्ड्स यस खेलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । उता समूह ‘सी’ मा स्कटल्यान्ड र हाइटीलाई हराउँदै दोस्रो स्थान हासिल गरेको मोरक्को फेरि एकपटक विश्व फुटबलमा आफ्नो बलियो उपस्थिति प्रमाणित गर्ने योजनासहित मैदान उत्रनेछ ।
‘गर या मर’ को यस भिडन्तको विजेताले ह्युस्टनमा हुने राउन्ड अफ १६ मा सह-आयोजक क्यानडाको सामना गर्नेछ ।
हालसम्मको यात्रा
नेदरल्यान्ड्स: डच टोलीले समूह चरणभर प्रभावशाली प्रदर्शन गर्दै अपराजित रहँदै समूह ‘एफ’ को विजेताका रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो । नेदरल्यान्ड्सले पहिलो खेलमा जापानसँग २-२ गोलको बराबरी खेलेको थियो । स्वीडेनलाई ५-१ लाई पराजित गर्दा ट्युनिसियालाई ३-१ ले पराजित गर्यो । आक्रमण र रक्षाबीच उत्कृष्ट सन्तुलन कायम गरेको नेदरल्यान्ड्सले तीनवटै खेलमा परिपक्व प्रदर्शन गर्दै आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरेको छ ।
मोरक्को : कतार विश्वकप २०२२ को ऐतिहासिक सेमिफाइनल यात्रापछि मोरक्कोले यस संस्करणमा पनि प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ । समूह ‘सी’ मा ब्राजिललाई १-१ को बराबरीमा रोकेको मोरक्कोले स्कटल्यान्डलाई १-० अनि र हाइटीमाथि ४-२ को जित निकाल्दै दोस्रो स्थानमा रहेर अन्तिम ३२ मा पुगेको मोरक्को आफ्नो अनुशासित रक्षात्मक खेल र तीव्र काउन्टर-अट्याकका कारण फेरि एकपटक खतरनाक टोलीका रूपमा उभिएको छ ।
हेड-टु-हेड
नेदरल्यान्ड्स र मोरक्कोबीच अन्तर्राष्ट्रिय फुटबलमा हालसम्म तीन पटक आधिकारिक भेट भएको छ । जसमा नेदरल्यान्ड्सले दुई खेल जितेको छ भने मोरक्कोले एक खेल आफ्नो पक्षमा पारेको छ।
विश्वकपको मुख्य प्रतियोगितामा यी दुई टोली यसअघि एकपटक मात्र आमनेसामने भएका छन् । सन् १९९४ को अमेरिका विश्वकपको समूह चरणमा नेदरल्यान्ड्सले मोरक्कोलाई २–१ ले पराजित गरेको थियो ।
त्यस खेलमा डेनिस बर्गक्याम्प र ब्रायन रोयले गोल गरेका थिए। रोचक तथ्य के छ भने, नेदरल्यान्ड्सका वर्तमान मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान उक्त खेलमा खेलाडीका रूपमा सुरुआती ११ मै थिए ।
विश्वकपबाहिर सन् १९९९ को मैत्रीपूर्ण खेलमा मोरक्को २–१ ले विजयी भएको थियो भने दुई टोलीबीचको पछिल्लो भेट सन् २०१७ मा हुँदा नेदरल्यान्ड्सले २–१ को जित निकालेको थियो ।
टिम न्युज
नेदरल्यान्ड्स : नेदरल्यान्ड्स विश्वकपमा अफ्रिकी टोलीविरुद्ध खेलेका पछिल्ला ६ खेलमा अपराजित छ । प्रशिक्षक रोनाल्ड कोम्यानले ४–३–३ को संरचनामा बार्ट भर्ब्रूगेनलाई नै गोलपोस्टको जिम्मेवारी दिने सम्भावना छ । रक्षापङ्क्तिमा डेन्जेल डमफ्रीज, जान पाउल भान हेके, भर्जिल भान डाइक र मिकी भान डे भेन रहने अपेक्षा गरिएको छ । मिडफिल्डमा रायन ग्राभेनबर्च, फ्रेन्की डे योङ र तिजानी रेइन्डर्स रहनेछन् भने अग्रपङ्क्ति डोन्येल मालेन, ब्रायन ब्रोबे र कोडी गाक्पोले सम्हाल्नेछन् ।
मोरक्को : मोरक्को लगातार दोस्रो विश्वकपमा अन्तिम १६ पुग्ने लक्ष्यमा छ । प्रशिक्षक वालिद रेग्रागुईले ४–२–३–१ को संरचनामा यासिन बोनोलाई गोलपोस्टमा राख्ने सम्भावना छ । डिफेन्समा अचरफ हाकिमी, इस्सा डियोप, छादी रियाद र नौसेर माजराउई रहनेछन् । मिडफिल्डको रक्षात्मक जिम्मेवारी नील एल आयनाउई र अयुब बुआड्डीले सम्हाल्नेछन् भने ब्राहिम डियाज, अजेदिन उनाही र बिलाल एल खानौसले आक्रमण सिर्जना गर्नेछन् । अग्रपङ्क्तिमा इस्माइल साइबारीबाट गोलको अपेक्षा हुनेछ ।
रणनीतिक भिडन्त
नेदरल्यान्ड्स बल नियन्त्रणमा राख्दै विङ्ग्समार्फत आक्रमण बुन्ने शैलीको टोली हो भने मोरक्को संगठित रक्षात्मक संरचना र तीव्र काउन्टर-अट्याकमा भर पर्छ । त्यसैले खेलको मुख्य चुनौती डच टोलीले मोरक्कोको अनुशासित डिफेन्स कसरी भत्काउँछ भन्ने हुनेछ ।
उता हाकिमी, ब्राहिम डियाज र साइबारीको गतिलाई प्रभावकारी रूपमा प्रयोग गर्न सके मोरक्कोले पनि नेदरल्यान्ड्सको रक्षापङ्क्तिलाई कठिन अवस्थामा पार्न सक्छ ।
खेल : नेदरल्यान्ड्स भर्सेस् मोरक्को
मिति र समय : १६ असार, बिहान ६:४५ बजे
स्थान : मोन्टेरे स्टेडियम, मेक्सिको
प्रत्यक्ष प्रसारण : हिमालय स्पोर्ट्स
प्रतिक्रिया 4