+

ओलम्पिक क्रिकेटका लागि ८ टिम सम्मिलित छनोट प्रतियोगिता हुने, नेपालको सम्भावना कति ?

२०८३ असार  १५ गते १५:५० २०८३ असार १५ गते १५:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय ओलम्पिक समितिले सन् २०२८ को लस एन्जलस ओलम्पिकमा क्रिकेट खेलको छनोट प्रक्रिया सार्वजनिक गरेको छ।
  • पुरुषतर्फ टी-२० वरियताका आधारमा चार टोली छनोट हुने र बाँकी स्थानका लागि ग्लोबल छनोट प्रतियोगिता हुनेछ।
  • नेपालले २०२६ को डिसेम्बरसम्म आईसीसी टी-२० वरियताको शीर्ष १२ भित्र पर्न सकेमात्र ग्लोबल छनोट खेल्ने अवसर पाउनेछ।

१५ असार, काठमाडौं । सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा क्रिकेटको छनोट प्रक्रिया सार्वजनिक भएको छ । १२८ वर्षपछि ओलम्पिकमा फर्किएको क्रिकेटका लागि नेपालले पनि ग्लोबल छनोटमार्फत स्थान बनाउने अवसर बन्न सक्छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले एलए २०२८ का लागि क्रिकेटको छनोट प्रणाली स्वीकृत गरेको हो । पुरुष र महिलातर्फ समान रूपमा ६–६ टोली सहभागी हुनेछन् भने प्रत्येक टोलीमा १५ खेलाडी रहनेछन्।

पुरुषतर्फ चार टोलीले आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरियताका आधारमा प्रत्यक्ष ओलम्पिक यात्रा तय गर्नेछन् । तर यी चार टोली एउटै महादेशका हुन पाउने छैनन् । अर्थात् विभिन्न महादेशका सबैभन्दा उच्च वरियतामा रहेका चार टोलीले मात्र प्रत्यक्ष स्थान पाउनेछन् ।

आयोजक राष्ट्र अमेरिकाले भने आईसीसी टी–२० वरियतामा शीर्ष १५ भित्र रहेमा स्वतः एक स्थान पाउनेछ ।

बाँकी एक स्थानका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना हुनेछ, जसमा वरियताका आधारमा छनोट भएका आठ टोली सहभागी हुनेछन् । यदि वेस्ट इन्डिज ती आठ टोलीभित्र परेमा भने त्यसको सट्टा क्यारेबियन क्षेत्रीय छनोट आयोजना गरी एउटा राष्ट्रिय टोलीलाई ग्लोबल छनोटमा पठाइनेछ, किनभने वेस्ट इन्डिज ओलम्पिकमा एउटै राष्ट्रका रूपमा सहभागी हुन पाउँदैन ।

यसरी आयोजक अमेरिका प्रत्यक्ष छनोट भएमा आठ वरियताप्राप्त टोलीसहित कुल नौ टोलीको सहभागितामा अन्तिम ग्लोबल छनोट प्रतियोगिता हुने सम्भावना रहनेछ । उक्त प्रतियोगिताको विजेता टोलीले ओलम्पिकको अन्तिम टिकट हात पार्नेछ ।

हाल नेपाल आईसीसी टी–२० वरियतामा १५औं स्थानमा छ । सन् २०२६ को डिसेम्बर ३१ सम्मको समयमा शीर्ष १२ वरियताभित्र पर्न सके मात्र नेपालले छनोट प्रतियोगिता खेल्न पाउनेछ ।

महिला क्रिकेटका लागि पनि चार महादेशीय र एक आयोजक गरी ५ टिम स्वत: छनोट हुने र बाँकी एक टिमका लागि छनोट प्रतियोगिता हुनेछ ।

एलए २०२८ मा पुरुष र महिलातर्फ गरी कुल २८ खेल खेलाइनेछन् । क्रिकेट जुलाई १४ र २१ बाहेक अन्य अधिकांश दिन डबल हेडरका रूपमा सञ्चालन हुनेछ। स्थानीय समयअनुसार पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल साँझ ६:३० बजे सुरु हुनेछ ।

क्रिकेट यसअघि केवल सन् १९०० को पेरिस ओलम्पिक मा मात्र समावेश भएको थियो, जहाँ ग्रेट ब्रिटेन र फ्रान्सबीच दुई दिने एक मात्र खेल भएको थियो । त्यसयता १२८ वर्षपछि क्रिकेट टी–२० ढाँचामा ओलम्पिकमा पुनः फर्किन लागेको हो ।

ओलम्पिक क्रिकेट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय