+
+
Shares

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना तथा लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहयोगमा सम्मेलन सुरु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १८:४१

१८ असार, बुटवल । बौद्ध धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धनका विषयमा केन्द्रित दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन बिहीबारदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना तथा लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहयोगमा सम्मेलन सुरु भएको हो ।

सम्मेलनको उद्घाटन गर्दै उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण विश्वको शान्तिको केन्द्र र साझा सभ्यता भएकाले यसको संरक्षण, प्रवर्द्धन र दिगो विकासमा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।

उनले बौद्ध सम्पदाको संरक्षणलाई पर्यटन विकाससँग जोडेर अघि बढाउनुपर्ने उल्लेख गर्दै यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले लुम्बिनीको पहिचान विश्व समुदायमाझ अझ सशक्त रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सम्मेलनमा नेपालसहित भारत, चीन, श्रीलङ्का र फिनल्यान्डका बौद्ध विद्वान, सम्पदा विज्ञ, अनुसन्धानकर्ता तथा शिक्षाविद्को सहभागिता रहेको छ ।

सम्मेलनका प्रमुख वक्ता प्राध्यापक डा. नरेशमान बज्राचार्यले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई मानव सभ्यताका लागि शान्ति, करुणा र सहअस्तित्वको विश्वव्यापी सन्देश बोकेको पवित्र भूमि भएको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. माणिकरत्न शाक्यले लुम्बिनी र आसपासका ऐतिहासिक तथा पुरातात्विक बौद्ध सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु सम्मेलनको मुख्य लक्ष्य रहेको बताए ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा लुम्बिनी क्षेत्रमा सुशासन प्रवद्र्धन, बौद्ध सम्पदाको संरक्षण तथा दिगो पर्यटन विकासका उपायबारे विभिन्न देशका विज्ञहरूले एक दर्जन अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनले लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण, प्रभावकारी व्यवस्थापन तथा दिगो पर्यटन विकासका लागि नीतिगत र व्यावहारिक सुझावसहित दीर्घकालीन मार्गचित्र तयार गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?