१८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा स्पेनले अस्ट्रिया विरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।
मिकेल ओयाजाबालले स्पेनका लागि पहिलो हाफमा एक गोल मात्र गरे ।
लस एन्जल स्टेडियममा भइरहेको खेलमा ओयाजाबालले ३६औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।ओयाजाबालले मार्क कुकुरेलाको पासमा गोल गरेका हुन् ।
सन् २०१० को विश्वकपमा फाइनल आन्द्रेस इनेस्टाले नेदरल्यान्ड्स विरुद्ध गरेको गोलपछि विश्वकपको नकआउट चरणमा गोल गर्ने ओयाजाबाल पहिलो स्पानिस खेलाडी बने ।

स्पेनले सुरुवात देखि नै अस्ट्रियामाथि लगातार आक्रमण गर्दै गोल गर्ने प्रयास गरेको थियो । पहिलो हाफमा स्पेनले गोल गर्ने धेरै अवसर बनाएपनि एक गवल मात्र गर्न सफल भएको हो ।
अस्ट्रियाका गोलकिपर अलेजान्डर स्लागाले केही उत्कृष्ट बचाउ गरेका थिए ।
२९औं मिनेटमा स्पेनका मार्क कुकुरेलाको गोल गरेपनि मान्यता पाएन । उक्त समयमा स्पेनका खेलाडीले अस्ट्रियाका गोलकिपरलाई अवरोध पुर्याएको भन्दै रेफ्रीले गोलको मान्यता दिएनन् ।
यस्तै ओयाजाबालले ३३औं मिनेटमा गरेको प्रहार अस्ट्रियाका गोलकिपर अलेजान्डर स्लागाले उत्कृष्ट बचाउ गरे ।
अस्ट्रियाका डिफेण्डरले स्पेनका युवा स्टार लामिन यमाललाई कडा निगरानीमा राखेका थिए ।
पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा एलेक्स बाएनाको फ्रिकिमक बारमा लागेर फर्कँदा स्पेनले अग्रता दोब्बर पार्ने अवसर गुमायो । त्यही रिबाउन्डमा यमालले हालेको प्रहार गोलकिपर अलेजान्डर स्लागाले बचाए ।
पहिलो हाफमा अस्ट्रियाका गोलकिपर स्लागाले उत्कृष्ट प्रदर्शन गर्दै ४ बचाउ गरेका थिए ।

प्रतिक्रिया 4