+
+
Shares

पोखरामा ६ जनालाई उत्कृष्ट युवा पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते ११:२३

१९ असार, पोखरा । युवा उद्यमशीलता, सीप विकास, सशक्तीकरण तथा विभिन्न सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका ६ जना युवालाई पोखरा महानगरपालिकाको नगर युवा परिषदले उत्कृष्ट युवा पुरस्कार दिएको छ ।

नगर युवा परिषद्ले पोखरा युथ फेस्टिभलमा मेयर धनराज आचार्यले जनही २५ हजार रुपैयाँ राशिसहित अवार्ड प्रदान प्रदान गरेका हुन् ।

यसवर्ष पत्रकारिता क्षेत्रबाट दुर्गा रानामगर, पर्यटनबाट प्रतीक पहारी, समाज सेवाबाट सदिस पुन, युवा उद्यमशीलता, नवप्रवर्द्धन तथा रोजगारीबाट नवज्योति सुवेदी, खेलकुदबाट नारायणी भण्डारी तथा अपाङ्गता सशक्तीकरण क्षेत्रमा क्रियाशील सन्ध्या सुवेदीले पुरस्कार प्राप्त गरेका छन् ।

मेयर आचार्यले सम्बन्धित क्षेत्रका उत्कृष्ट काम गरिरहेकाहरुको सम्मान, युवाहरुलाई प्रोत्साहन र सकारात्मक सन्देश दिने काम पुरस्कारले गरिरहेको बताए । मेयर आचार्यले युवा छनोटमा नेतृत्वका हिसाबले उत्कृष्ट पात्र छनोटमा ध्यान दिन आग्रह गर्दै निष्पक्षतामा जोड दिइएको बताए ।

नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले आ-आफ्नो क्षेत्रमा उत्कृष्ट कर्म गरिरहेका ३५ वर्षमुनिका युवाहरुलाई छनोट समितिको सिफारिसका आधारमा पुरस्कृत गरेर हौसला बढाइएको बताए ।

युवाहरूको सिर्जनशीलता, नेतृत्व, उद्यमशीलता र सामाजिक योगदानलाई संस्थागत रूपमा सम्मान गर्दै अन्य युवालाई पनि प्रेरित गर्ने उद्देश्यले यो अवार्ड सुरु गरिएको उनको भनाइ छ ।

प्राडा भिमनाथ बरालको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिसका आधारमा अवार्ड प्रदान गरिएको हो । समितिमा तेज गुरुङ, मनोहर कडरिया, केशवशरण लामिछाने, अन्जु केसी र विक्रम कर्माचार्य सदस्य थिए ।

अघिल्लो वर्षमा उत्कृष्ट युवाका रुपमा सामाजिक तथा सरसफाइ क्षेत्रमा सन्तोष पौडेल, विज्ञान तथा प्रविधितर्फ ब्लाक टेकका प्रमुख कार्यकारी निर्देशक स्वदेश नेपाली, कला, साहित्य तथा नाट्य क्षेत्रबाट पोखरा थिएटरका सञ्चालक मुक्तिबहादुर कार्की (परिवर्तन), कृषितर्फ अर्गानिक हरिलो उत्पादन तथा बजारीकरणमा सक्रिय रोशनी आचार्य तथा खेलकुदतर्फ लन टेनिसका खेलाडी प्रदीप खड्का  र  पत्रकारिता क्षेत्रबाट अमृत सुवेदी पुरस्कृत भएका थिए ।

युथ फेस्टिभलमा पर्यटन अध्येता दीपेन्द्र पहारीले पोखराको पर्यटन सम्भावना र भविष्यका अवसरबारे प्रवचन दिएका थिए ।

‘पोखरामा उद्यमशीलता र अवसर’का विषयमा एउटा सत्रमा छलफलसमेत भएको छ ।  बाराही हस्पिटालिटीका निर्देशक वैभव पौडेल, स्थानीय परिकार सातुको व्यवसायीकरण गरिरहेका पृथ्वीकल्याण पराजुली तथा महिला सीप विकास पोखराकी उद्यमी रामकला खड्काले आफ्ना अनुभव साझा गरेका थिए ।

इन्जिनियर अनिश अधिकारीले सहजीकरण गरेको उक्त विमर्शमा सहभागीहरूले पर्यटनसँग जोडिएका नवीन व्यवसाय, स्थानीय उत्पादनको प्रवर्द्धन र युवामैत्री उद्यममार्फत पोखरामा प्रशस्त सम्भावना रहेको धारणा व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?