+
+
Shares

‘ब्लु बस’ मा ट्रान्सजेन्डर चढ्न पाउने कि नपाउने ?

कुनै महिला सानो छोरा लिएर चढेकी छिन् भने के गर्ने ? कुनै वृद्ध आमाले सहाराका लागि आफ्नो छोरा साथमा ल्याएकी छिन् भने के गर्ने ?

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८३ असार १९ गते १७:३०
रवि लामिछाने सांसद निर्वाचित भएपछि ३ वर्षअघि चितवनमा सञ्चालन गरिएको ब्लु बस । फाइल फोटो ।

१९ असार, काठमाडौं । महिलाका लागि सञ्चालन गर्न लागिएको ‘ब्लु बस’ सेवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (ट्रान्सजेन्डर) चढ्न पाउने कि नपाउने ? भन्ने प्रश्न उठेको छ ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारकर्मी सुनिलबाबु पन्तले यो कुरा उठाएका हुन् । महिलाका लागि छुट्याइएको ब्लु बसमा जन्मका आधारमा पुरुष भए पनि आफूलाई महिला भनेर पहिचान गर्ने ट्रान्सवुमन तथा जन्मका आधारमा महिला भए पनि आफूलाई पुरुष भनेर पहिचान गर्ने ट्रान्सम्यानले यात्रा गर्न पाउने वा नपाउने ? भनी उनले प्रश्न उठाएका छन् ।

फेसबुकमा आफ्नो धारणा राख्दै उनले यो व्यवस्थाबारे सरकारले स्पष्ट मापदण्ड बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

उनले उठाएको यो प्रश्नले आफूहरूको ध्यानाकर्षण भएको साझा यातायातका कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले बताए । प्रश्नलाई गम्भीर रूपमा लिएको र सेवा सञ्चालनअघि तयार गरिने कार्यविधिमै यसको स्पष्ट व्यवस्था गरिने जानकारी दिए ।

उनका अनुसार ब्लु बस सञ्चालन गर्ने निर्णय साझा यातायातको एकल निर्णय नभई नेपाल सरकारको १०० दिने कार्ययोजनाअन्तर्गत अघि बढाइएको कार्यक्रम हो । सरकारले बजेट तथा नीतिगत व्यवस्था गर्ने र साझा यातायातले आफ्नै बसमार्फत सेवा सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए ।

अर्यालका अनुसार अहिले सञ्चालनको मोडालिटी तयार पार्ने काम भइरहेको छ । बजेटको औपचारिक स्वीकृति तथा नेपाल सरकार र साझा यातायातबीच समझदारी (एमओयू) भएपछि मात्रै सेवा सञ्चालन हुनेछ ।

‘साउन १ गतेदेखि नै सेवा सुरु हुन्छ भन्ने चर्चा भए पनि प्राविधिक प्रक्रिया अझै पूरा भइसकेको छैन’ अर्यालले भने, ‘बजेटको औपचारिक सुनिश्चितता र कार्यविधि तयार भएपछि मात्रै सेवा सञ्चालन हुन्छ । साउनभित्रै सेवा सुरु हुने सम्भावना भने प्रबल छ ।’

अर्यालले ट्रान्सजेन्डर यात्रुको विषय मात्र नभई महिलासँग आउने अन्य यात्रुको अवस्थाबारे पनि स्पष्ट व्यवस्था आवश्यक रहेको बताए ।

‘यदि कुनै महिला आफ्नो श्रीमानसँग यात्रा गरिरहेकी छन् भने के गर्ने ? कुनै महिला पाँच–सात वर्षको छोरा लिएर चढेकी छिन् भने के गर्ने ? कुनै वृद्ध आमाले सहाराका लागि आफ्नो छोरा साथमा ल्याएकी छिन् भने के गर्ने ? यस्ता व्यवहारिक प्रश्नहरू पनि उठेका छन्’ उनले भने ।

उनका अनुसार यस्ता सबै अवस्थालाई समेटेर व्यवहारिक कार्यविधि तयार गरिनेछ । ट्रान्सजेन्डर यात्रुको हकमा कानुनी पहिचानलाई आधार बनाउन सकिने अर्यालले बताए ।

‘यदि सम्बन्धित व्यक्तिसँग कानुनी रूपमा प्रमाणित परिचयपत्र वा सम्बन्धित कागजात छन् भने त्यसलाई आधार बनाउन सकिन्छ’ उनले भने, ‘यो विषय समयमै उठेको छ, त्यसैले कार्यविधिमै समेटेर समाधान खोज्ने प्रयास गर्छौं ।’

उनले कार्यविधि निर्माणका क्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसहित सरोकारवाला पक्षबाट आएका सुझावलाई पनि समेटिने बताए । ‘प्रश्न उठेपछि त्यसको समाधान पनि खोज्नुपर्छ । अहिले आएका सबै गुनासा र सुझावलाई समेटेर व्यवहारिक तथा समावेशी कार्यविधि बनाउनेतर्फ हामी अघि बढिरहेका छौं’ उनले भने ।

साझा यातायातका अनुसार सरकारसँगको आवश्यक समझदारीपत्रमा हस्ताक्षर भएपछि अन्तिम कार्यविधि सार्वजनिक गरिनेछ र त्यसपछि मात्रै ब्लु बस सेवा सञ्चालनमा ल्याइनेछ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?