मुम्बई । बलिउड अभिनेता आमिर खानले सार्वजनिक रूपमा आफूले तेस्रो विवाह गर्न लागेको पुष्टि गरेका छन् । आइतबार (५ जुलाई) मा उनले प्रेमिका गौरी स्प्राटसँग विवाह गर्ने जानकारी मुम्बईमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा दिएका हुन् ।
विवाहलाई अत्यन्त निजी बनाउने उनको भनाइ छ । विवाह समारोह उनकै निवासमा आयोजना गरिनेछ, जसमा दुवै परिवारका सदस्य र केही नजिकका साथीमात्र सहभागी हुनेछन् । आमिरले सबैसँग आशीर्वाद र शुभकामना पनि मागेका छन् । यस अवसरमा उनका छोरा जुनैद खान पनि उपस्थित थिए ।
आमिरले पहिलो विवाह सन् १९८६ मा चलचित्र निर्माता रीना दत्तासँग गरेका थिए । सन् २००२ मा दत्तासँग अलग भएपछि उनले सन् २००५ मा निर्देशक किरण रावसँग दोस्रो विवाह गरेका थिए । सन् २०२१ मा आमिर र किरणको सम्बन्धविच्छेद भएको थियो ।
आमिरले सन् २०२५ मा आफ्नो ६०औँ जन्मदिनका अवसरमा गौरीसँगको सम्बन्ध सार्वजनिक गरेका थिए । गौरी बेंगलुरुकी एक सैलुन उद्यमी तथा फेसन व्यवसायी हुन् । उनका पिता तमिल-ब्रिटिश मूलका र आमा पञ्जाबी-आइरिश मूलकी हुन् । गौरी सन् १९२० को दशकमा भारतको स्वतन्त्रता आन्दोलनसँग सम्बन्धित ब्रिटिश कम्युनिस्ट फिलिप स्प्राटकी नातिनी हुन् ।
गौरीको पनि यसअघि विवाह भइसकेको थियो र उनका एक ७ वर्षीय सन्तान छन् । गौरी र उनका सन्तान पछिल्ला दुई वर्षदेखि मुम्बईमा सँगै बस्दै आएका छन् ।
आमिर र गौरी एकअर्कालाई पछिल्ला २५ वर्षदेखि चिन्छन् । सुरुमा उनीहरू घनिष्ठ साथी थिए, त्यसपछि उनीहरूले एकअर्कालाई डेट गर्न थाले । आमिर र गौरीले आफ्नो सम्बन्ध सार्वजनिक गरेपछि गौरी विभिन्न कार्यक्रम र अवसरमा आमिरसँगै देखिँदै आएकी छन् ।
मे २०२६ मा दिएको अन्तर्वार्तामा आमिरले गौरीसँगको सम्बन्धबारे भनेका थिए, ‘म आफूलाई धेरै भाग्यमानी ठान्छु कि मेरो जीवनमा गौरी आइन् र हाम्रो सम्बन्ध सुरु भयो । उनी उत्कृष्ट छन् र उनीसँग हुँदा मलाई धेरै शान्ति मिल्छ । रीना दत्ता र किरण रावसँग पनि मेरो सम्बन्ध निकै गहिरो थियो, तर ती सम्बन्ध अघि बढ्न सकेनन् । गौरी मेरो जीवनमा आउनु मेरा लागि सौभाग्य हो । अब आएर मात्र म आफूलाई पूर्ण भएको महसुस गर्छु ।’
प्रतिक्रिया 4