भारतीय फुटबल टोलीका पूर्वकप्तान तथा दक्षिण एसियाकै ‘लेजेन्ड’ फुटबलर भाइचुङ भुटिया गत साता नेपाल आए । कतारमा जारी विश्वकप फुटबलको विश्लेषण गर्न हिमालय टीभीसँग जोडिएका उनले विश्वकपको बदलिँदो स्वरूप, खेलमा प्रविधिको भूमिका र दक्षिण एसियाली फुटबलको वर्तमान अवस्थाबारे आफ्ना गहन विचार व्यक्त गरेका छन्।
सिक्किमको एउटा विकट गाउँबाट उदाएर भारतीय फुटबललाई अन्तर्राष्ट्रिय पहिचान दिलाएका भुटियाले संवादका क्रममा आफ्नो बाल्यकालको सङ्घर्ष, नेपालसँगको भावनात्मक सम्बन्ध र फुटबलको आधुनिकीकरणका लागि आफूले गरेका प्रयासबारे खुला चर्चा गरेका छन्। उनले नेपाल र भारतको फुटबल प्रशासनमा रहेका कमजोरी तथा एन्फाको प्रतिबन्धबारे औँल्याउँदै, ग्रासरुट तहबाटै फुटबलको विकास गर्न र खेलाडीलाई उचित अवसर दिनुपर्नेमा विशेष जोड दिएका छन्।
समग्रमा, एक चर्चित खेलाडीको व्यक्तिगत जीवनदेखि नेपाल र भारतको फुटबल सुधारका लागि आवश्यक रणनीतिक मार्गचित्रसम्म समेटिएको यो सामग्री हिमालय टीभीको कार्यक्रम ‘यक्ष प्रश्न’ मा प्रस्तोता निमेश बन्जाडेसँग भुटियाले गरेको कुराकानीको सम्पादित अंश:
कस्तो लाग्छ नेपालमा आउँदा ?
धेरै खुसी लाग्छ। किनकि, नेपालमा म सानैदेखि धेरैपल्ट फुटबलको लागि पनि आएँ। वास्तवमा मेरो फुटबल जीवनमा धेरै नेपाली खेलाडीहरू, सिनियर खेलाडीहरूसँग जोडिएको छु। हामी सानो हुँदा उहाँहरू सिक्किममा ‘गभर्नर्स गोल्डकप’ खेल्न आउँदा स्टार खेलाडी हुनुहुन्थ्यो। उहाँहरू जहिलेसुकै गभर्नर्स गोल्डकप… ज्यादाजसो नेपालले नै जित्थ्यो त्यतिबेला। कोही-कोही बेला नेपाल होइन भने आरएनएसी भनेर टिम पनि थियो, रोयल नेपाल एयरलाइन्स। अनि धेरै खेलाडीहरू जस्तै- मणि शाह दाइ बित्नुभयो, राजु दाइ, राजेश दाइ (लम्बु दाइ) भनेर चिनिन्छ, उहाँहरूको खेल हेरेर नै सानोमा म धेरै इन्स्पायर भएँ।
नेपालका अहिले पनि धेरै सिनियर प्लेयर्सहरू … गणेश थापा पनि मसँग इस्ट बङ्गाल, इन्डियामा सँगै खेल्नुभयो। त्यसको पछि पनि धेरै खेलाडीहरू जस्तै हरि खड्का, कोच बालगोपाल महर्जनहरू र धेरै साथीहरू हुनुहुन्छ। अनि धेरै परिवारसँग पनि… यहाँ कति जना हाम्रै स्कुल, जब म ग्यान्टोकमा पढ्दाखेरि धेरै विद्यार्थीहरू नेपालको पनि हुनुहुन्थ्यो। त्यसले गर्दा नेपालसँग मेरो सम्बन्ध धेरै राम्रो छ। यहाँ साथीहरू र फ्यामिलीहरू पनि धेरै छन्, सम्बन्ध छ। र, जहिलेसुकै नेपालमा आउन धेरै खुसी लाग्छ।
अनि नेपालको के सबैभन्दा राम्रो लाग्छ, यहाँ आइसकेपछि ?
मलाई लाग्छ, नेपालको पक्कै पनि परिवर्तन त अहिले धेरै देख्दै छु, सकारात्मक परिवर्तन देख्दै छु। तर सबैभन्दा राम्रो पक्कै पनि परिवार र साथीहरूले गराउँछन् । ठाउँ जस्तै होस्, तर आफ्ना साथीहरू र साथीका परिवारहरू भेट्दा नै मलाई लाग्छ रमाइलो हुन्छ।
नेपाली दर्शकहरूका लागि, ‘हिमालय स्पोर्ट्स’ को लागि कमेन्ट्री गरिरहनुभएको छ, कस्तो लागिरहेछ यो विश्वकप ?
सुरुमा त हिमालय स्पोर्ट्सलाई धेरै-धेरै धन्यवाद। एउटा नयाँ अवसर र नेपालमा आउन पाउनु नै… त्यो अपर्चुनिटी दिनुभएकोमा धेरै-धेरै धन्यवाद। हुन त मेरो सम्झौता इन्डियाको स्पोर्ट्स च्यानलसँग पहिले नै थियो। जब हिमालय स्पोर्ट्सले कन्ट्याक्ट गर्दाखेरि मलाई पनि धेरै आउन मन थियो र मैले कसरी हुन्छ, के गरेर हुन्छ, मेरो आफ्नो कन्ट्र्याक्टलाई पनि बिचमा पाँच-छ दिन ब्रेक गरेर यहाँ आउन पाएँ। कारण, मलाई एकदमै आउने इच्छा पनि थियो। जब हिमालय स्पोर्ट्सले एउटा अवसर दिँदाखेरि चाहिँ धेरै खुसी लाग्यो। र, मेरो इन्डियाको च्यानल जहाँ म धेरै सालदेखि काम गर्छु, उहाँहरूलाई पनि धन्यवाद, अलिकति ब्रेक बिचमा मिलाइदिनुभएकोमा। धेरै खुसी लाग्यो। अब गएर कमेन्ट्री गर्छु, उता फेरि म गएर जोइन गर्छु उहाँहरूसँग।
यो विश्वकप चाहिँ कस्तो लाग्यो विगत विश्वकपभन्दा ?
मलाई लाग्छ सबैभन्दा रमाइलो विश्वकप, एउटा कलरफुल विश्वकप। मलाई लाग्छ कि जुन अहिले संसारको स्थिति भइरहेको छ… गल्फको युद्धहरूलाई लिएर कहाँ-कहाँ संसार नै अहिले… धेरै दुश्मन बनाउने बाटोमा गइराखेकोले गर्दा विश्वकपले यो देखाइदियो कि हामी शान्तिपूर्ण, खुसी र रमाइलो हुन सकिन्छ। विशेषगरी अमेरिका एउटा सह-आयोजक देश हुनाले गर्दा विश्वका विभिन्न भागदेखि फ्यान्सहरू आइरहेका छन्। त्यो एउटा सांस्कृतिक… शान्तिमा कसरी फुटबलले एकजुट गर्न सक्छ भनेर यो विश्वकपले देखाइदियो। र मलाई लाग्छ, एउटा ठूलो सन्देश गएको छ कि युद्धहरू नेताहरूले गर्दै गर्छन् आफ्नो स्वार्थको लागि, तर संसारमा जनता शान्तिपूर्ण भएर, मज्जाले मिलेर बाँच्न सक्छ भन्ने एउटा मेसेज विश्वकपले दिएको छ।

जनताले शान्ति चाहेको छ, भाइचारा चाहेको छ, सौहार्दपूर्ण सम्बन्ध चाहेको छ भन्ने यो वर्ल्डकपले म्यासेज दियो ?
पक्कै पनि दिएको छ।
अब यो जारी विश्वकपलाई तपाईंले प्राविधिक रूपमा कसरी हेरिरहनुभएको छ ? यसपटकको विश्वकपमा फुटबलको कुन नयाँ शैली वा रणनीति हावी भएको पाउनुभयो ?
यो विश्वकप पहिलो पटक ४८ वटा टोली सहभागी भएको संस्करण हो। यसअघि ३२ टोलीले मात्र अवसर पाउँथे। त्यसैले यसपालि धेरै देशले विश्वकप खेल्ने मौका पाए। एसियाको मात्र कुरा गर्ने हो भने पहिले चार वटा कोटा थियो, अहिले आठ वटा भएको छ। त्यसमा अन्तरमहादेशीय छनोट पार गरेर इराक पनि पुगेपछि पहिलो पटक एसियाका नौ वटा टोली विश्वकप खेलिरहेका छन्।
जोर्डन, उज्वेकिस्तानजस्ता टोली पहिलो पटक विश्वकपमा पुगेका छन्। यी टोलीसँग नेपाल र भारतले पनि छनोट प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। आफूले खेलिरहेका विपक्षी टोली विश्वकपमा पुगेर राम्रो प्रदर्शन गर्दा त्यसले अन्य देशका खेलाडीलाई पनि प्रेरणा दिन्छ। साथै, आफ्नो स्तर कहाँ छ भन्ने वास्तविक मूल्यांकन गर्ने अवसर पनि मिल्छ।
यस विश्वकपमा नयाँ शैली वा रणनीति के देख्नुभयो ?
मलाई सबैभन्दा सकारात्मक लागेको कुरा भनेको ४८ टोली भएपछि प्रतियोगिताको स्तर खस्किन्छ भन्ने अनुमान गलत साबित भएको हो। धेरै विज्ञले टोली बढेपछि गुणस्तर घट्छ भनेका थिए, तर त्यसो भएन।
केप भर्डे क्वार्टरफाइनल पुगेको छ। इरान, इराक, उज्वेकिस्तान, जोर्डनजस्ता टोलीले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। हरेक टोलीले गोल गरेको छ र कम्तीमा एक अंक त जोडेकै छ। पूर्ण रूपमा एकतर्फी खेल निकै कम भए। धेरैले अपेक्षा गरेजस्तो स्तरमा ठूलो अन्तर देखिएन।
यसले अहिले विश्व फुटबलमा ठूला र साना टोलीबीचको दूरी निकै घटेको देखाएको छ। साना देशले पनि राम्रो फुटबल खेलेर ठूला टोलीसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने यो विश्वकपले प्रमाणित गरेको छ।
यसपालि लागू भएका नयाँ नियमहरूले पनि खेलमा प्रभाव पारेका छन् ?
केही नियम निकै प्रभावकारी देखिएका छन्। उदाहरणका लागि, खेलाडी परिवर्तन हुँदा १० सेकेन्डभित्र मैदान छाड्नुपर्ने व्यवस्था गरिएको छ। पहिले अग्रता लिएको टोलीले समय बिताउन खेलाडी परिवर्तनमा अनावश्यक ढिलाइ गर्थ्यो, अहिले त्यो कम भएको छ।
त्यस्तै, चोट लागेपछि खेलाडीले एक मिनेट मैदानबाहिर बस्नुपर्ने नियमले पनि समय खेर जाने प्रवृत्ति घटाएको छ।
प्रविधिको प्रयोग पनि यसपालि अझ उन्नत भएको छ। रेफ्री क्यामेरा, टचलाइन प्रविधि र भीएआरको प्रभावकारी प्रयोगले अफसाइड र गोलसम्बन्धी विवाद उल्लेखनीय रूपमा घटाएको छ। त्यसले खेललाई अझ निष्पक्ष र विश्वसनीय बनाउन मद्दत गरेको छ।
यो ‘भीएआर’को कुरा गर्दा, यो न्यायपूर्ण छ कि विवाद थप्ने उपकरणका रूपमा काम गर्यो ?
मलाई लाग्छ, भीएआरका सकारात्मक र नकारात्मक दुवै पक्ष छन्। सकारात्मक पक्ष के हो भने कुनै पनि टोलीले ९० मिनेटपछि ‘हाम्रो सही गोल थियो, तर गोल दिइएन’ भन्ने गुनासो गर्नुपर्ने अवस्था धेरै हदसम्म हटेको छ। त्यस अर्थमा भीएआरले खेललाई अझ न्यायपूर्ण बनाएको छ।
तर दर्शकका लागि भने केही असहज पक्ष पनि छन्। फुटबल निरन्तर बगिरहने खेल हो। ९० मिनेटसम्म अविराम रूपमा खेल हेर्न रमाइलो लाग्छ। भीएआरका कारण निर्णयका लागि दुई–तीन मिनेट खेल रोकिँदा खेलको लय टुट्छ र दर्शकलाई केही अल्छीलाग्दो महसुस हुन सक्छ।
भनेपछि भीएआरले खेललाई सजिलो बनाएको छ ?
निर्णयका हिसाबले सजिलो बनाएको छ। तर दर्शकका लागि भने केही हदसम्म रमाइलोपन घटाएको छ। हामी निरन्तर गतिमा खेल हेर्न चाहन्छौं। पहिले विवादित निर्णयहरू पनि फुटबलको एउटा आकर्षण हुन्थ्यो।
उदाहरणका लागि, अर्जेन्टिनाका समर्थकले गोललाई सही भन्थे भने ब्राजिलका समर्थकले अफसाइड भएको दाबी गर्थे। त्यही विषयमा साथीहरूमाझ बहस र छलफल चल्थ्यो। अहिले भीएआरले धेरैजसो यस्ता विवादलाई अन्त्य गरिदिएको छ।
आधुनिक फुटबलमा सबैभन्दा ठूलो परिवर्तन कहाँ भएको छ- रणनीति, फिटनेस वा प्रविधिमा ?
मलाई लाग्छ, सबैभन्दा ठूलो परिवर्तन रणनीतिमा भएको छ। अहिले प्रविधिको माध्यमबाट हरेक टोलीले विपक्षीबारे विस्तृत जानकारी पाउँछ। फुटबल धेरै हदसम्म तथ्यांक र विश्लेषणमा आधारित खेल बनेको छ।
पास, खेलाडीको चलायमानता र समग्र खेल प्रणाली सबै योजनाबद्ध हुन्छ। पेले र म्याराडोनाको समयमा व्यक्तिगत सीप र खेलाडीको मौलिक शैली बढी देखिन्थ्यो। म्याराडोना वा वाल्डेरामाजस्ता विशिष्ट चरित्रका खेलाडी अहिले कम देखिन्छन्।
अहिले जितका लागि रणनीति अत्यन्तै महत्त्वपूर्ण भएको छ। क्लब फुटबल ठूलो व्यवसाय बनिसकेकाले सबै कुरा अत्यन्त व्यवस्थित र शतप्रतिशत प्रभावकारी बनाउन खोजिन्छ। प्रशिक्षकहरूले प्रविधि र रणनीतिलाई अधिकतम प्रयोग गर्छन्। कहिलेकाहीँ त फुटबल कम्प्युटरमा डिजाइन गरिएको खेलजस्तै लाग्छ, जुन पहिले थिएन।
यो विश्वकपमा पुराना स्टार खेलाडी र उदाउँदै गरेका युवा खेलाडीहरूको प्रदर्शन तुलना गर्दा के पाउनुभयो ?
मेरो खेलजीवनको समय ब्राजिलियन रोनाल्डो र रोमारियोको पुस्तासँग जोडिएको थियो। त्यसपछि मेस्सी र रोनाल्डोले करिब दुई दशकसम्म विश्व फुटबलमा प्रभुत्व जमाए। मलाई लाग्छ, यो विश्वकप उहाँहरू दुवैको अन्तिम विश्वकप हुन सक्छ।
हामीले आफ्नो जीवनमा यति उच्चस्तरका खेलाडी र उनीहरूले विश्व फुटबलमा पारेको प्रभाव प्रत्यक्ष देख्न पायौं। विशेषगरी युवा पुस्तालाई फुटबलप्रति आकर्षित गर्न मेस्सी र रोनाल्डोको योगदान असाधारण छ। त्यसैले उनीहरूको युग प्रत्यक्ष देख्न पाउनु हामी सबैका लागि सौभाग्यको कुरा हो।
यस विश्वकपमा पनि मेस्सी उत्कृष्ट लयमा देखिएका छन्। रोनाल्डोले पछिल्लो खेलमा दुई गोल गरेका छन्। आगामी खेलमा उनले कस्तो प्रदर्शन गर्लान् भन्ने प्रतीक्षा अझै धेरै समर्थकले गरिरहेका छन्। तर मेस्सीले भने पाँच गोल गर्दै आफ्नो स्तर फेरि प्रमाणित गरिसकेका छन्।
अबको पुस्तामा एम्बाप्पे, स्पेनका लामिन यामाल र नर्वेका एर्लिङ हालान्डजस्ता खेलाडी छन्। मलाई लाग्छ, अबको एक दशक विश्व फुटबलमा यही पुस्ताले नेतृत्व गर्नेछ।
यस विश्वकपमा अहिलेसम्म सबैभन्दा प्रभावशाली र बलियो टोली कसलाई देख्नुभयो ?

यो विश्वकप निकै खुला प्रतिस्पर्धात्मक बनेको छ। त्यसैले पाँच–छ टोली मात्र होइन, सात–आठ टोलीलाई नै उपाधिका दाबेदारका रूपमा हेर्न सकिन्छ।
अर्को रोचक कुरा, २०–३० वर्षअघि फुटबलमा ब्राजिलको नाम आउँदा उसलाई स्वतः सबैभन्दा ठूलो दाबेदार मानिन्थ्यो। तर यसपटकको विश्वकपमा भने म ब्राजिललाई शीर्ष आठ दाबेदारभित्र पनि राख्दिनँ।
बरु ब्राजिल अहिले ‘डार्क हर्स’ अर्थात् अप्रत्याशित रूपमा उपाधि जित्न सक्ने टोलीको भूमिकामा देखिएको छ। यसो भन्दैमा ब्राजिल कमजोर टोली हो भन्ने होइन। ऊ अझै पनि अत्यन्त बलियो टोली हो र उपाधि जित्न पनि सक्छ। तर अहिलेको समग्र प्रदर्शन हेर्दा शीर्ष पाँच–छ सबैभन्दा बलिया दाबेदारमध्ये ब्राजिललाई राख्न गाह्रो हुन्छ।
फ्रान्स, अर्जेन्टिना, स्पेन, इङ्ग्ल्यान्ड र पोर्चुगल सबै बलिया टोली हुन्। तर पोर्चुगलको सफलता धेरै हदसम्म क्रिस्टियानो रोनाल्डोको प्रदर्शनमा निर्भर रहने देखिन्छ। समग्र प्रदर्शनका आधारमा भने स्पेन, फ्रान्स, इङ्ग्ल्यान्ड र अर्जेन्टिना अहिलेका प्रमुख दाबेदार हुन् जस्तो लाग्छ।
रोनाल्डोको प्रदर्शनलाई कसरी हेर्नुभएको छ ? उहाँ आफैँको प्रदर्शनमा कमी आएको हो कि टोलीको साथ पर्याप्त नभएको हो ?
रोनाल्डो विश्व फुटबलका महान् खेलाडीमध्ये एक हुनुहुन्छ। उहाँले विश्व फुटबलमा ठूलो प्रभाव छोड्नुभएको छ। तर उमेर बढ्दै जाँदा हरेक खेलाडीका केही बलिया पक्षमा परिवर्तन आउँछ।
रोनाल्डोको सबैभन्दा ठूलो शक्ति नै गति थियो। त्यही गतिका कारण उहाँले डिफेन्डरलाई पछि पारेर गोल गर्नुहुन्थ्यो। उमेरसँगै त्यो गति स्वाभाविक रूपमा केही घटेको छ। यो प्रकृतिको नियम हो।
मेस्सीको खेलशैली भने फरक छ। उहाँ पछाडिबाट खेल निर्माण गर्दै ड्रिब्लिङमार्फत अवसर सिर्जना गर्नुहुन्छ। रोनाल्डो भने तीव्र गतिमा अघि बढेर आक्रमण गर्ने खेलाडी हुनुहुन्थ्यो। त्यसैले उमेरको प्रभाव रोनाल्डोको खेलमा केही बढी देखिएको छ।
तर अहिले पोर्चुगलसँग विश्वकै उत्कृष्ट खेलाडीमध्ये धेरै खेलाडी छन्। टोलीले रोनाल्डोलाई कति राम्रो साथ दिन्छ र उहाँको वरिपरि खेल निर्माण गर्छ, त्यसमै व्यक्तिगत र टोली दुवैको सफलता निर्भर रहनेछ।
पहिलो खेलमा त्यो समन्वय पूर्ण रूपमा देखिएन। दोस्रो खेलमा भने केही सकारात्मक संकेत देख्न सकियो।
अर्जेन्टिनाको कुरा गर्ने हो भने, मेक्सिकोविरुद्धको खेलसहित पछिल्ला खेलहरूमा टोली अघिल्लो विश्वकपभन्दा अझ अनुभवी र सन्तुलित देखिएको छ। टोलीले मेस्सीलाई केन्द्रमा राखेर खेलिरहेको छ र त्यसको सकारात्मक प्रभाव पनि देखिएको छ।
फाइनलमा कुन-कुन टोली पुग्लान् भन्ने लाग्छ ? धेरै दर्शक त अझै पनि मेस्सी र रोनाल्डोको फाइनल हेर्न चाहन्छन्।
त्यो सम्भावना असम्भव भने होइन। तर अहिलेसम्मको प्रदर्शनका आधारमा फ्रान्स, इङ्ग्ल्यान्ड, स्पेन र अर्जेन्टिना चार मुख्य दाबेदार देखिन्छन्।
तर फुटबलमा अन्तिम नतिजा पहिले नै भन्न सकिँदैन। केप भर्डेजस्तो टोली पहिलो पटक विश्वकप खेल्दै राउन्ड अफ ३२ सम्म पुगेको छ। साउदी अरेबिया र दक्षिण अफ्रिकाले पनि राम्रो प्रदर्शन गरिरहेका छन्। यस्ता आश्चर्यजनक नतिजा फुटबलको विशेषता नै हुन्।
अहिलेसम्मको प्रदर्शन हेर्दा मेरो मूल्यांकनमा रोनाल्डोको पोर्चुगल शीर्ष चार दाबेदारभित्र परिसकेको छैन। तर आजको खेल र त्यसपछि आउने खेलहरूले त्यो चित्र बदल्न सक्छ।
एसियाली टोलीहरूको प्रदर्शनलाई कसरी हेर्नुभएको छ ?
मेरो विचारमा एसियाबाट सबैभन्दा बलियो टोली जापान हो।
जापानका एन्डो, काओरु मिटोमा र ताकुमी मिनामिनोजस्ता केही प्रमुख खेलाडी चोटका कारण विश्वकप खेल्न पाएनन्। यदि उनीहरू पनि टोलीमा भएको भए जापान फाइनलसम्म पुग्न सक्थ्यो भन्ने लाग्छ।
अहिले पनि जापानसँग निकै सन्तुलित टोली छ। म जापानलाई पनि उपाधिका दाबेदारमध्ये एक मान्छु। यदि उसले ब्राजिललाई हराउन सक्यो भने फाइनलसम्म पुग्ने सम्भावना बलियो देख्छु।
अन्य एसियाली टोलीमध्ये अस्ट्रेलियाले राम्रो प्रदर्शन गर्दै राउन्ड अफ ३२ मा स्थान बनाएको छ। इरानको भविष्य भने आजको खेलले तय गर्नेछ। तर राउन्ड अफ ३२ पछि पनि धेरै टाढासम्म जाने सम्भावना मलाई जापानको तुलनामा कम देखिन्छ।
एसियाली फुटबललाई पछ्याउने हामी सबैको ठूलो आशा जापानसँग नै छ।
यदि अहिले तपाईंलाई विश्वकप खेल्ने अवसर मिलेको भए, कुन देशविरुद्ध खेल्न सबैभन्दा रमाइलो लाग्थ्यो ?
(हाँस्दै) सबैभन्दा कमजोर टोलीविरुद्ध!
तर गम्भीर रूपमा भन्नुपर्दा, क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीविरुद्ध खेल्ने अवसर पाउन चाहन्थेँ। उहाँहरू दुवै फुटबल इतिहासकै महान् खेलाडीमध्ये पर्नुहुन्छ।
त्यसैले पोर्चुगल वा अर्जेन्टिनाविरुद्ध खेल्ने अवसर आफैंमा ऐतिहासिक अनुभव हुन्थ्यो।
अब अलिकति बाल्यकालतिर जाऔँ। तपाईंको बाल्यकाल कस्तो थियो ? परिवार र हुर्काइबढाइबारे बताइदिनुहोस्।
मेरो जन्म सिक्किममा भएको हो। सानैदेखि फुटबलप्रति धेरै आकर्षण थियो। म टिन्किताम भन्ने गाउँमा हुर्किएँ। मेरा आमाबुबा कृषि पृष्ठभूमिका हुनुहुन्थ्यो। बुबा गाउँको पञ्चायतमा हुनुहुन्थ्यो र गाउँमा अन्तर–गाउँ फुटबल प्रतियोगिता आयोजना गर्ने गर्नुहुन्थ्यो।
मेरो सबैभन्दा ठूलो दाइ पेमा छिरिङ राप्तेन निकै राम्रो खेलाडी हुनुहुन्थ्यो। मलाई अहिले जस्तो अवसर उहाँले पाउनुभएको भए, मभन्दा पनि ठूलो खेलाडी बन्न सक्नुहुन्थ्यो भन्ने लाग्छ।
हाम्रो पुस्ताले पनि केही राम्रो सहयोग पाएको थियो। अहिलेको पुस्ताले त झन् धेरै अवसर पाइरहेको छ। तर अघिल्लो पुस्ताको तुलनामा हामी पनि भाग्यमानी थियौं।
तपाईं सन् १९७६ मा जन्मिनुभएको हो ?
हो। पछि भारत सरकारको फुटबल छात्रवृत्ति योजनामा छनोट भएँ। त्यो छात्रवृत्ति पाएपछि आमाबुबाले पनि मलाई फुटबल खेल्न प्रोत्साहन गर्नुभयो।
त्यतिबेला धेरै अभिभावकको सोच पढेर सरकारी जागिर खानेतिर केन्द्रित हुन्थ्यो। नेपालमा पनि त्यही अवस्था थियो। तर फुटबल छात्रवृत्तिले मलाई खेललाई निरन्तरता दिन आवश्यक स्वतन्त्रता दियो।
यो छात्रवृत्ति कहिले, कति वर्षको उमेरमा पाउनुभएको थियो ?

मैले सन् १९८६–८७ तिर, ११ वर्षको उमेरमा फुटबल छात्रवृत्ति पाएँ। त्यसबेला भारत सरकारले ‘एनएसटीसी’ योजना सुरु गरेको थियो, जसअन्तर्गत ११ वर्षमुनिका प्रतिभावान् बालबालिकालाई फुटबल, हक्की, ब्याडमिन्टन, टेबलटेनिसलगायत विभिन्न खेलमा छात्रवृत्ति दिएर प्रोत्साहन गरिन्थ्यो। हामी फुटबलतर्फ छनोट भएको पहिलो ब्याचमा थियौँ।
त्यसपछि मेरो फुटबल यात्रा नयाँ ढंगले अघि बढ्यो। विद्यालयस्तरको ‘सुब्रतो कप’ अखिल भारतीय प्रतियोगितामा खेल्ने अवसर पाएँ। त्यहाँ उत्कृष्ट खेलाडी घोषित भएपछि भारतको अन्डर–१६ टोलीमा छनोट भएँ।
म आफूलाई भाग्यमानी ठान्छु, किनभने भारतका लागि मैले सबै उमेर समूहबाट खेल्ने अवसर पाएँ— अन्डर–१६, अन्डर–१९, अन्डर–२१, अन्डर–२३ हुँदै सिनियर टोलीसम्म। यस्तो उपलब्धि हासिल गर्ने खेलाडी भारतमा अझै पनि निकै कम छन्।
१७ वर्षको हुँदा ‘इस्ट बङ्गाल’ क्लबबाट प्रस्ताव आयो। त्यसपछि १९९३ मा कक्षा १० सकेर सिक्किम छाडेँ र १९९४ देखि पूर्ण रूपमा व्यावसायिक फुटबलमा लागेँ। १९९५ मा भारतको सिनियर राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएँ।
तपाईं सन् १९९७ मा नेपालविरुद्ध पनि खेल्नुभएको थियो, होइन ?
हो। १९९७ मा काठमाडौंमा भएको साफ कपमा भारतको टोलीबाट खेलेँ। त्यस प्रतियोगिताको फाइनलमा हामीले माल्दिभ्सलाई हराएर उपाधि जितेका थियौँ। नेपाल त्यसबेला आयोजक थियो।
तपाईंको बाल्यकालको सबैभन्दा ठूलो प्रेरणा दाइ नै हुनुहुन्थ्यो ?
छात्रवृत्ति पाएपछि म फुटबलतर्फ अझ बढी केन्द्रित भएँ। फुटबलकै कारण विद्यालयमा पनि छात्रवृत्ति पाएकाले खेल्ने वातावरण बन्यो।
त्यतिबेला न टेलिभिजन थियो, न अहिलेजस्तो खेलको व्यापक समाचार आउँथ्यो। त्यसैले हाम्रो प्रेरणा स्थानीय खेलाडीहरू नै हुन्थे। सिक्किममा हुने ‘गभर्नर्स गोल्डकप’ निकै ठूलो प्रतियोगिता थियो। त्यहाँ भारतका ठूला क्लब मात्र होइन, नेपालको राष्ट्रिय टोली पनि नियमित आउँथ्यो।
त्यतिबेला नेपालको टोली निकै बलियो थियो। मणि शाह दाइलाई ‘म्याराडोना’ भनेर चिनिन्थ्यो। लम्बु दाइ, राजेश दाइ, राजु शाक्यजस्ता खेलाडीहरूको खेल हेरेर हामी धेरै प्रभावित हुन्थ्यौँ। सिक्किममा नेपाल टोलीको निकै ठूलो लोकप्रियता थियो।
तपाईंको फुटबल करियरका सबैभन्दा ठूला उपलब्धि के-के हुन् ?
भारतको राष्ट्रिय टोलीको सबैभन्दा लामो समय कप्तानी गर्ने खेलाडी म नै थिएँ। सन् १९९९ देखि २०११ सम्म टोलीको कप्तानी गरेँ।
भारतका लागि १०० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी पनि म नै भएँ। त्यसैगरी युरोपेली लिग खेल्ने पहिलो भारतीय खेलाडी बन्ने अवसर पनि पाएँ।
व्यक्तिगत रूपमा ‘अर्जुन अवार्ड’, ‘पद्मश्री’ तथा एसियन फुटबल हल अफ फेममा समावेश हुनु मेरा लागि विशेष उपलब्धि हुन्।
टोलीगत रूपमा सबैभन्दा ठूलो उपलब्धि कुनलाई मान्नुहुन्छ ?
हामीले एएफसी च्यालेन्ज कप जित्यौँ। त्यसकै आधारमा २४ वर्षपछि भारतलाई एसिया कपमा पुर्यायौँ। तुर्कमेनिस्तानलाई ४–१ ले हराएर त्यो उपलब्धि हासिल गरेका थियौँ।
त्यसबाहेक नेहरू कप, साफ कपलगायत धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्ने अवसर पनि मिल्यो।
जीवनमा तपाईंलाई हारले धेरै सिकायो कि जितले ?
दुवैले धेरै सिकाउँछन्।
हारले आफ्ना कमजोरी चिनाउँछ। किन हारियो भनेर विश्लेषण गर्न सिकाउँछ। त्यसपछि अझ धेरै मेहनत गर्न, अझ बढी अभ्यास गर्न र आफूलाई सुधार्न प्रेरित गर्छ। हारले मानिसलाई नम्र पनि बनाउँछ।
जितले पनि नम्र रहन सिकाउँछ। एउटा खेल जित्दैमा सबै सकिँदैन। अर्को खेल फेरि खेल्नुपर्छ, फेरि हार्न पनि सकिन्छ। त्यसैले जितको खुसी मनाउनुपर्छ, तर केही समयका लागि मात्र। त्यसपछि फेरि अर्को लक्ष्यका लागि उस्तै मेहनत गर्नुपर्छ। यही निरन्तरताले सफलतालाई टिकाइराख्छ।
फुटबलबाट सन्न्यासपछि ग्रासरुट फुटबलमा तपाईंले कसरी काम गर्नुभयो ?
सन् २०१० मा सन्न्यास लिने निर्णय मैले पहिले नै गरिसकेको थिएँ। त्यसपछि ग्रासरुट फुटबलमै समय र लगानी गर्ने योजना बनाएँ।
त्यसैअनुसार ‘भाइचुङ भुटिया फुटबल स्कुल्स’ स्थापना गरेँ। पोर्चुगलमा कार्लोस क्युरोजको फुटबल स्कुलसँग सहकार्य गरेर यो अभियान सुरु गरिएको थियो।
आज यो भारतकै सबैभन्दा ठूलो ग्रासरुट फुटबल कार्यक्रम बनेको छ। यहाँ करिब १,५०० बालबालिकाले नियमित प्रशिक्षण लिइरहेका छन्। भारतभर ७० भन्दा बढी केन्द्र छन्, २०० भन्दा बढी प्रशिक्षक कार्यरत छन् र हाम्रो एकेडेमीबाट ३० भन्दा बढी खेलाडी आईएसएल र आई–लिगसम्म पुगेका छन्। राष्ट्रिय टोलीका विभिन्न उमेर समूहमा पनि धेरै खेलाडी पुगेका छन्।
‘युनाइटेड सिक्किम एफसी’ के हो ?
यो मेरो आफ्नै क्लब हो। सन् २००६ मा स्थापना गरेको थिएँ। २०१० तिर यसलाई व्यावसायिक बनायौँ र दुई वर्षभित्र भारतको शीर्ष लिगसम्म पुर्यायौँ।
दुई सिजन शीर्ष लिग खेलेपछि आर्थिक चुनौतीका कारण क्लबलाई पुनः अर्धव्यावसायिक रूपमा सञ्चालन गर्नुपर्यो। तर क्लब आज पनि सक्रिय छ।
राजनीतिमा प्रवेश कसरी भयो ?
साँचो भन्नुपर्दा, राजनीतिमा प्रवेश गर्ने कुनै योजना थिएन। यो धेरै हदसम्म अचानक भएको निर्णय थियो।
फुटबलबाट सन्न्यास लिएपछि म फुटबल विकासकै काममा व्यस्त थिएँ। मेरो जन्म सिक्किममा भए पनि मेरो कर्मभूमि भने पश्चिम बङ्गाल बन्यो। मैले करिब २० वर्ष त्यहीँ फुटबल खेलेँ। आज म जे छु, त्यसमा इस्ट बङ्गाल, मोहन बगान र समग्र बङ्गाल फुटबलको ठूलो योगदान छ।
त्यतिबेला पश्चिम बङ्गालमा नयाँ सरकार बनेको थियो। साथीभाइको आग्रह र दबाबपछि अन्तिम समयमा राजनीतिमा प्रवेश गर्ने निर्णय गरेको हुँ।

टीएमसीसँग करिब दुई वर्ष रहेपछि मलाई बिस्तारै महसुस भयो कि पश्चिम बङ्गालको राजनीति मेरो लागि होइन। त्यसबेलासम्म म पूर्ण रूपमा सिक्किम फर्किसकेको थिएँ। ‘युनाइटेड सिक्किम’ सुरु गरिसकेको थिएँ। त्यसैले दुई वर्षपछि टीएमसीबाट राजीनामा दिएँ।
त्यसपछि हामी केही युवा साथीहरू मिलेर ‘हाम्रो सिक्किम पार्टी’ स्थापना गर्यौँ। हाम्रो सोच थियो— राजनीतिमा आइसकेपछि आफ्नै जन्मभूमिका लागि केही योगदान गरौँ। सिक्किमले नै हामीलाई चिनाएको हो, त्यसैले सिक्किमलाई केही फिर्ता दिनुपर्छ भन्ने भावना थियो।
‘हाम्रो सिक्किम पार्टी’को मुख्य उद्देश्य के थियो ?
हाम्रो मुख्य उद्देश्य सिक्किमलाई दिगो र आत्मनिर्भर राज्य बनाउनु थियो।
आज पनि भारतका अन्य राज्यसँग तुलना गर्दा सिक्किम धेरै हिसाबले सफल र सम्भावनायुक्त राज्य हो। जनसंख्या करिब ६–७ लाख मात्रै छ। पर्यटनबाट राम्रो आम्दानी हुन्छ। औषधि उद्योगका धेरै उत्पादन केन्द्र छन्। पूर्वोत्तर क्षेत्र भएकाले केन्द्र सरकारबाट थप सुविधा पनि प्राप्त हुन्छ। जलविद्युत्बाट पनि राम्रो राजस्व आउँछ।
यी सबै सम्भावना सही ढंगले व्यवस्थापन गर्न सकियो भने सिक्किम केन्द्र सरकारको अनुदानमा मात्र निर्भर रहने राज्य होइन, आफैं आत्मनिर्भर बन्न सक्ने राज्य हो भन्ने हाम्रो विश्वास थियो।
मैले फुटबलका कारण करिब ५५ वटा देश घुम्ने अवसर पाएँ। भारतका लगभग सबै राज्य पनि घुमेँ। इङ्ग्ल्यान्डमा तीन वर्ष र मलेसियामा दुई वर्ष बसेँ। त्यहाँबाट प्राप्त अनुभवलाई सिक्किमको विकासमा प्रयोग गर्न सकिन्छ भन्ने विश्वास थियो। त्यसैले राम्रो शासन दिने उद्देश्यले राजनीतिमा लागेका थियौँ।
राजनीतिमा काम गर्न कत्तिको कठिन लाग्यो ?
खेलकुदमा तपाईंको सफलता धेरै हदसम्म आफ्नै मेहनतमा निर्भर हुन्छ। कडा मेहनत गर्नुभयो भने सफल हुने सम्भावना बढ्छ।
तर राजनीतिमा त्यस्तो हुँदैन। तपाईं जतिसुकै इमानदार, सक्षम वा मेहनती भए पनि अन्तिम निर्णय जनताले गर्छन्। त्यसैले राजनीतिमा आफ्नो भविष्य आफैंले मात्र बनाउन सकिँदैन। अनुभवी राजनीतिज्ञसँग प्रतिस्पर्धा गर्दै जनताको विश्वास जित्नु निकै चुनौतीपूर्ण हुन्छ।
त्यसो भए राजनीतिबाट सिकेको सबैभन्दा ठूलो पाठ के हो ?
जनताको मन जित्नु सबैभन्दा कठिन काम रहेछ।
अहिले राजनीति छोडेपछि कस्तो अनुभव भइरहेको छ ?
म दुई–तीन वर्षदेखि सक्रिय राजनीति बाहिर छु। यी वर्षहरूमा जुन मानसिक शान्ति र स्वतन्त्रता महसुस गरेको छु, त्यसले मलाई धेरै खुसी बनाएको छ।
जीवनले कहाँ पुर्याउँछ भन्ने कसैले भन्न सक्दैन। मैले भारतका लागि खेल्छु, व्यवसायी बन्छु वा यस्ता काम गर्छु भनेर पनि कहिल्यै सोचेको थिइनँ।
अहिले फुटबलबाहेक अरू के–कस्ता व्यवसायमा संलग्न हुनुहुन्छ ?
फुटबलसँग त जोडिएकै छु। त्यसबाहेक अहिले मुख्य रूपमा आतिथ्य क्षेत्रमा काम गरिरहेको छु।
सिलगुढीमा ‘गोट’ नामको ठूलो रेस्टुरेन्ट सञ्चालन गरिरहेको छु। सिक्किममा दुई–तीन वटा प्रिमियम होमस्टे पनि सुरु गरेका छौँ। ताज समूहसँग सहकार्य गरेर आतिथ्य क्षेत्रमा लगानी गरिरहेका छौँ।
बागडोग्रा–नक्सलबारी क्षेत्रमा १५ एकड जमिनमा फुटबल एकेडेमी स्थापना गरेका छौँ। त्यसलाई विस्तारै खेलकुद विद्यालयका रूपमा विकास गर्ने योजना छ। आगामी एक–दुई वर्षभित्र पूर्वी भारतकै नमुना स्पोर्ट्स स्कुल सञ्चालन गर्ने तयारी भइरहेको छ।
तपाईं खेल्दाको भारतीय फुटबल र अहिलेको भारतीय फुटबलमा के फरक देख्नुहुन्छ ?
खेलको स्तरका हिसाबले धेरै ठूलो फरक छैन। १९–२० प्रतिशतको फरक होला, तर समग्र स्तर लगभग उस्तै छ।
बरु हामीले अपेक्षा गरेभन्दा भारतीय फुटबल अघि बढ्न सकेको छैन। सुपर लिग सुरु भयो, ठूला कर्पोरेट कम्पनीहरूले क्लबमा लगानी गरे, फुटबलको लोकप्रियता पनि बढ्यो। त्यसैले भारतीय फुटबल धेरै माथि पुग्छ भन्ने अपेक्षा थियो।
तर वास्तविकता उल्टो भयो। मैले खेल छोड्दा भारत फिफा वरीयताको शीर्ष १०० भित्र थियो। अहिले भने ठूलो लगानी, लोकप्रियता र व्यावसायिक संरचना हुँदाहुँदै पनि टोली १४० औँ स्थानतिर झरेको छ।
यसको मुख्य कारण दीर्घकालीन योजना र ग्रासरुट फुटबलमा पर्याप्त ध्यान नदिनु हो। भारतीय फुटबलको सबैभन्दा ठूलो चुनौती यही बनेको छ।
भारतीय फुटबलमा यति धेरै लगानी हुँदाहुँदै पनि अपेक्षित सफलता किन आएन ?
मलाई लाग्छ, यसको मुख्य कारण सही व्यक्तिलाई सही जिम्मेवारी नदिनु हो। गाडी बनाउन सक्ने इन्जिनियरलाई काम नदिएर अर्कै व्यक्तिलाई जिम्मा दिइयो भने सफलता आउँदैन। फुटबल मात्र होइन, कुनै पनि क्षेत्रमा योग्य व्यक्तिलाई उचित स्थान दिनुपर्छ।
भारतीय फुटबलमा धेरै ठाउँमा त्यस्तो हुन सकेको छैन। फुटबल महासङ्घदेखि राज्य संघसम्म ३०–४० वर्षदेखि एउटै व्यक्तिहरू नेतृत्वमा छन्। न उनीहरूसँग फुटबलप्रतिको पर्याप्त लगाव छ, न आफ्नो राज्यको फुटबल विकासका लागि उल्लेखनीय काम गरेका छन्। तर उनीहरू पद भने छोड्न चाहँदैनन्। यही कारण धेरै समस्या सिर्जना भएका छन्।
हालै हामीले सर्वोच्च अदालतमा मुद्दा दायर गर्यौँ। मैले सुरु गरेको खेलाडी संघ पनि त्यसमा सहभागी छ। त्यसको परिणामस्वरूप भारतीय फुटबल महासङ्घको विधान संशोधन गरेर २५ प्रतिशत मतदान अधिकार पूर्वखेलाडीलाई दिने व्यवस्था गराउन सफल भएका छौँ। आशा छ, यो वर्षको अन्त्यसम्म नयाँ विधान लागू भएपछि भारतीय फुटबलमा सकारात्मक परिवर्तन देख्न पाइनेछ।
त्यसो भए भारतमा प्रतिभाको कमी होइन ?
प्रतिभाको कुनै कमी छैन। भारतमा अत्यन्त धेरै प्रतिभावान् खेलाडी छन्। तर प्रतिभा मात्र भएर पुग्दैन। त्यसलाई उचित प्रशिक्षण, अवसर र राम्रो संरचना चाहिन्छ। त्यो उपलब्ध गराउन सकियो भने भारतले धेरै राम्रो गर्न सक्छ।
फुटबल प्रशासनमा राजनीति कत्तिको प्रभावशाली छ ?
प्रभाव त छ। भारतमा फुटबल महासङ्घको नेतृत्व राज्य संघहरूको मतदानबाट चयन हुन्छ।
तर खेलाडी गाउँ–बस्तीबाट निस्कन्छ। सिक्किम, मणिपुर वा अन्य राज्यका गाउँमै प्रतिभा जन्मिन्छ। समस्या के छ भने धेरै राज्य संघले प्रतियोगिता सञ्चालन गर्दैनन्, ग्रासरुट कार्यक्रम चलाउँदैनन्, प्रशिक्षण गराउँदैनन् र बालबालिकालाई अवसर पनि दिँदैनन्।
यदि नेतृत्वमा बसेकाहरूले कुनै कामै नगरी केवल पद ओगटेर बस्ने हो भने त्यहाँको फुटबल कसरी अघि बढ्छ ? धेरैले जिम्मेवारीभन्दा सुविधालाई प्राथमिकता दिएका छन्। विश्वकप हेर्न जाने, राष्ट्रिय टोलीसँग भ्रमण गर्ने, पदमा बसिरहने— यतिमै सीमित हुनु हुँदैन। यही अवस्थाविरुद्ध हामी संघर्ष गरिरहेका छौँ र परिवर्तन आउने आशा राखेका छौँ।
भारतमा क्रिकेटजस्तो लोकप्रियता फुटबलले किन पाउन सकेन ?
क्रिकेटको सफलताको मुख्य कारण आर्थिक पक्ष हो। क्रिकेटमा धेरै पैसा छ। तर क्रिकेट सफल भएको कारणलाई फुटबलमा जस्ताको तस्तै लागू गर्न सकिँदैन।
क्रिकेट खेल्ने प्रमुख देशको संख्या सीमित छ। विश्वकपमा पनि प्रायः अस्ट्रेलिया, भारत, इङ्ग्ल्यान्ड र न्युजिल्यान्डजस्ता टोली नै सेमिफाइनल पुग्छन्।
अस्ट्रेलियाले धेरै पटक विश्वकप जित्दा पनि त्यहाँ क्रिकेटको लोकप्रियता भारत वा नेपालजस्तो छैन। दक्षिण एसियामा भने क्रिकेटप्रतिको आकर्षण अत्यधिक छ।
भारतीय क्रिकेट बोर्ड आर्थिक रूपमा संसारकै सबैभन्दा बलियो बोर्डमध्ये एक हो। तर कुनै पनि खेल लोकप्रिय हुन सफलताले ठूलो भूमिका खेल्छ। भारतमा क्रिकेटले निरन्तर सफलता पायो, फुटबलले पाएन। त्यसैले समर्थक पनि जित्ने टोलीतिर आकर्षित भए।
फुटबलमा भने एसियाबाट विश्वकप पुग्न निकै कठिन छ। पहिले चार टोलीले मात्र अवसर पाउँथे। जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, साउदी अरेबियाजस्ता बलिया टोलीबीच प्रतिस्पर्धा गर्नुपर्छ। चीनजस्तो ठूलो लगानी भएको देशसमेत विश्वकप पुग्न सकेको छैन।
भारतभन्दा नेपाल विश्वकप पुग्ने सम्भावना बढी छ भन्नुभयो, किन ?
मलाई वास्तवमै नेपालको सम्भावना बढी देखिन्छ।
एउटा तथ्यांक हेर्दा विश्वका सबैभन्दा धेरै जनसंख्या भएका देशमध्ये धेरैले विश्वकप खेलेका छैनन्। चीन, भारत, इन्डोनेसिया, पाकिस्तानजस्ता देश त्यसमा पर्छन्।
नेपालमा फुटबल संस्कृतिको आधार भारतभन्दा बलियो छ। कुनै पनि देशमा फुटबल संस्कृति बलियो भयो भने राम्रो खेलाडी उत्पादन गर्न सजिलो हुन्छ। उज्बेकिस्तान वा कुरासाओजस्ता साना देश त्यसकै उदाहरण हुन्।
भारतमा फुटबल संस्कृति केही क्षेत्रमा मात्र सीमित छ। नेपालमा भने त्यो अझ व्यापक छ। यही कारण नेपालले सही योजना बनाउन सके अपेक्षाकृत छिटो प्रगति गर्न सक्छ।
दक्षिण एसियाली देशहरूले विश्व फुटबलमा माथि उठ्न के गर्नुपर्छ ?
परिवर्तन सम्भव छ।
भारत, नेपाल, बङ्गलादेश, पाकिस्तानलगायत देशले विदेशमा रहेका आफ्ना मूलका खेलाडीलाई राष्ट्रिय टोलीमा ल्याउने विषयमा पनि सोच्नुपर्छ। भारतले पनि अहिले त्यसतर्फ प्रयास गरिरहेको छ।
नेपालले पनि विदेशमा राम्रो स्तरमा खेलिरहेका नेपाली मूलका खेलाडीलाई राष्ट्रिय टोलीबाट खेलाउने व्यवस्था गर्नुपर्छ। यसले छोटो अवधिमा सफलता दिलाउन सक्छ। त्यो सफलताले दीर्घकालीन विकासका लागि पनि वातावरण तयार गर्छ।
साफले पनि आफ्नो संरचना परिवर्तन गर्नुपर्छ ?
अवश्य।
साफका देशहरूले मिलेर काम गर्नुपर्छ। उदाहरणका लागि, भारतीय सुपर लिगमा नेपाल, भुटान, बङ्गलादेश र माल्दिभ्सका एक–एक क्लबलाई सहभागी गराउन सकिन्छ।
यदि सिनियर स्तरमा सम्भव नभए कम्तीमा जुनियर स्तरमा लामो अवधिको क्षेत्रीय लिग सञ्चालन गर्नुपर्छ। त्यसले प्रतिस्पर्धा, अनुभव र आपसी सम्बन्ध दुवै बढाउँछ।
अहिले एन्फा संकटमा छ। नेपालले के गर्नुपर्ला ?
भारत पनि यस्तै अवस्थाबाट गुज्रिएको थियो। हाम्रो फुटबल महासङ्घलाई पनि फिफाले निलम्बन गरेको थियो। त्यसपछि निर्वाचन गराएर समस्या समाधान गरियो।
तर हामीले त्यहीँ रोकिएनौँ। सर्वोच्च अदालतसम्म गएर महासङ्घको विधान नै परिवर्तन गराउन पहल गर्यौँ। ४०–५० वर्ष पुरानो विधान अहिलेको फुटबलअनुसार उपयुक्त हुँदैन। समयसँगै विधान पनि परिवर्तन हुनुपर्छ।
नेपालमा पनि एन्फा, सरकार, पूर्वखेलाडी, क्लब र अन्य सबै सरोकारवालाले अहङ्कार त्यागेर एउटै टेबलमा बस्नुपर्छ। सबैको सहभागितामा नयाँ र समयसापेक्ष विधान बनाउनुपर्छ।
भारतमा जस्तै पूर्वखेलाडीलाई पनि निर्णय प्रक्रियामा स्थान दिनुपर्छ। हामीले भारतमा २५ प्रतिशत मतदान अधिकार पूर्वखेलाडीलाई दिएका छौँ। यस्ता सुधार नेपालले पनि गर्न सक्छ।
एन्फाको नेतृत्व प्रणालीमा पनि परिवर्तन आवश्यक छ ?
मलाई लाग्छ, कार्यकालको सीमा हुनैपर्छ।
भारतको नयाँ विधानमा अध्यक्षले बढीमा दुई कार्यकाल मात्र बस्न पाउने व्यवस्था गरेका छौँ। त्यसपछि अर्को व्यक्तिलाई अवसर दिनैपर्छ।
यसले पदप्रतिको मोह कम हुन्छ र नयाँ सोच तथा नयाँ नेतृत्व आउँछ। राम्रो काम गर्ने व्यक्तिले एक कार्यकाल विश्राम लिएर फेरि फर्किन पनि सक्छ।
नेपालले फुटबल विकासका लागि सबैभन्दा पहिले के गर्नुपर्छ ?
नेपाललाई अहिले ठूला र महँगा रंगशाला चाहिएको छैन। सबैभन्दा आवश्यक कुरा धेरै संख्यामा साना खेलमैदान बनाउनु हो।
स्पेनले टिकी–टाका शैली विकास गर्नुअघि देशभरि सयौँ साना फुटसल र मिनी मैदान बनाएको थियो। त्यसपछि बालबालिका स्वतः खेल्न थाले र केही वर्षमै स्पेनको फुटबलको स्तर नै बदलियो।
नेपालले पनि गाउँ–गाउँ र सहर–सहर पाँच, सात वा नौ जनाले खेल्न मिल्ने साना मैदान बनाइदिनुपर्छ। बालबालिकालाई सहज पहुँच हुनुपर्छ। दक्षिण अमेरिकाले यही मोडलबाट विश्वस्तरीय खेलाडी उत्पादन गरेको हो।
त्यहाँ अत्याधुनिक पूर्वाधार छैन। तर जहाँ खाली ठाउँ हुन्छ, त्यहाँ साना मैदान हुन्छन्। एउटा बल पुग्छ, सयौँ बालबालिका दिनभरि खेल्छन्। त्यहीँबाट रोनाल्डो, रोनाल्डिन्हो, सुआरेजजस्ता खेलाडी निस्कन्छन्।
नेपालमा पनि राम्रो खेलमैदान, आवश्यक सामग्री र नियमित स्थानीय प्रतियोगिता सञ्चालन गर्न सकियो भने गाउँमै धेरै प्रतिभा विकसित हुन्छ।
नेपालमा अझ कुन क्षेत्रमा बढी ध्यान दिनुपर्ला ?
खेलाडीसँगै प्रशिक्षक पनि तयार गर्नुपर्छ।
प्रशिक्षकलाई कसरी बालबालिकासँग काम गर्ने, कसरी प्रोत्साहन गर्ने, मनोवैज्ञानिक रूपमा कसरी व्यवहार गर्ने भन्ने प्रशिक्षण दिन आवश्यक छ।
कहिलेकाहीँ प्रशिक्षकको गलत व्यवहारकै कारण राम्रो प्रतिभा भएका बालबालिकाले खेल छोडिदिन्छन्। त्यसैले प्रशिक्षक प्रशिक्षण अत्यन्त महत्त्वपूर्ण छ।
बाहिरबाट अनुभवी प्रशिक्षक ल्याएर नेपाली प्रशिक्षकलाई प्रशिक्षण दिनुपर्छ। त्यसपछि उनीहरूले त्यो ज्ञान बालबालिकासम्म पुर्याउँछन्।
यो सुझाव नेपालका लागि मात्र होइन, दक्षिण एसियाकै लागि उपयोगी देखिन्छ।
हो, सबै देशका लागि।
सानो देशमा काम गर्न अझ सजिलो हुन्छ। ठूलो रंगशाला चाहिँदैन। साना मैदान, खेल सामग्री, नियमित स्थानीय प्रतियोगिता र खेल्ने वातावरण भए पुग्छ।
पेले, म्याराडोना, लुइस सुआरेजजस्ता महान् खेलाडीको आत्मकथा पढ्नुभयो भने १२–१३ वर्षको उमेरसम्म उनीहरू कुनै ठूलो एकेडेमीमा थिएनन्। गल्ली र गाउँको फुटबल खेलेर नै उनीहरू विकसित भएका हुन्। त्यसपछि मात्र ठूला क्लबले पहिचान गरेर एकेडेमीमा लगे।
सानो उमेरमा स्वतन्त्र रूपमा धेरै फुटबल खेल्न दिनु नै सबैभन्दा ठूलो प्रशिक्षण हो। फुटबल बौद्धिकता त्यहीँबाट विकास हुन्छ। त्यो कुरा कुनै प्रशिक्षकले सिकाउन सक्दैन।
यदि पैसाले मात्र महान् खेलाडी उत्पादन हुन्थे भने आज युरोपका धनी क्लबले हरेक वर्ष नयाँ मेस्सी वा रोनाल्डिन्हो निकालिसक्थे। तर त्यसो हुँदैन। प्राकृतिक प्रतिभा, खेल्ने संस्कृति र स्वतन्त्र वातावरण नै उत्कृष्ट खेलाडी उत्पादन गर्ने आधार हुन्।

नेपाल र भारतको फुटबल प्रशासनमा देखिने साझा समस्या के हो ?
नेपाल र भारतको समस्या धेरै हदसम्म उस्तै छ। हरेक संस्था र संघमा आफ्नै अहंकार, लोभ र स्वार्थ देखिन्छ।
फुटबल भनेको समाज, खेलाडी र देशका लागि हो। यसलाई निजी कम्पनीजस्तो बनाएर ‘मैले नै चलाउनुपर्छ, म नै अध्यक्ष हुनुपर्छ’ भन्ने सोच राख्नु हुँदैन। त्यसैले दुई कार्यकालको सीमा हुनुपर्छ र नेतृत्वमा पालैपालो आउने प्रणाली विकास गर्नुपर्छ।
पदमा बसिरहन किन यति लोभ लाग्छ ? यो शक्ति हो कि पैसा ?
पैसाभन्दा पनि अवसर र सुविधाको आकर्षण बढी हुन्छ। उदाहरणका लागि, फिफा विश्वकप हेर्ने अवसर आउँछ। दुई कार्यकालमा दुईवटा विश्वकप हेर्नुभयो भने अब अर्कोलाई पनि मौका दिनुपर्छ।
त्यसैले नेतृत्वमा आलोपालो प्रणाली आवश्यक छ। मुख्य उद्देश्य ‘फुटबललाई कसरी अघि बढाउने’ भन्ने हुनुपर्छ।
फिफा निलम्बनले नेपाललाई कति पछाडि धकेल्न सक्छ ?
जति लामो समयसम्म संस्था अहंकारमा अडिइरहन्छ, त्यति नै फुटबल पछाडि धकेलिन्छ। निलम्बनका कारण राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदैन। क्लबस्तरका प्रतियोगितामा पनि असर पर्छ। स्थानीय लिगसमेत प्रभावित हुन सक्छ।
त्यसैले सरकार, एन्फा, खेलाडी, प्रशिक्षक र क्लबहरू सबै एकै ठाउँमा बसेर समाधान खोज्नुपर्छ। पुरानो विधान पूर्ण रूपमा फाल्नुपर्छ भन्ने होइन। तर समयअनुसार आवश्यक संशोधन गर्नुपर्छ।
देशको संविधान होस् वा संस्थाको विधान— समयसँगै थपघट र परिमार्जन गर्न सकिन्छ। मुख्य नियत नेपाली फुटबललाई कसरी अघि बढाउने भन्ने हुनुपर्छ।
निराश नेपाली फुटबल समर्थक र खेलाडीलाई तपाईंको सन्देश के छ ?
नेपालसँग मेरो फुटबल जीवनदेखि नै गहिरो सम्बन्ध छ। साफ प्रतियोगिताका कारण धेरै नेपाली खेलाडीसँग खेल्ने र साथी बन्ने अवसर पाएँ। भारत र नेपाललाई हामी सधैं नजिकैको रूपमा हेर्छौँ।
धेरै नेपाली खेलाडी सिक्किममा आएर खेलेका छन्। मेरो युनाइटेड सिक्किम क्लबमा पनि नेपाली खेलाडीहरू थिए।
नेपालको फुटबल राम्रो होस् भन्ने मेरो सधैं शुभेच्छा छ। नेपालमा फुटबलप्रतिको रुचि र संस्कृति बलियो छ। त्यसलाई सही दिशामा लैजान सकियो भने नेपाली फुटबल धेरै अघि बढ्न सक्छ।
सबै सरोकारवाला मिलेर फुटबललाई अघि बढाउनुपर्छ। भविष्यमा साफ क्षेत्रबाट पनि नियमित रूपमा कुनै टोली विश्वकपमा पुग्ने वातावरण बन्नुपर्छ— चाहे त्यो नेपाल होस्, भारत होस् वा बङ्गलादेश।
नेपाल भारतसँग राम्रो खेले पनि अन्तिममा हार्ने अवस्था धेरै देखिन्छ। यो मनोवैज्ञानिक समस्या पनि हो ?
कहिलेकाहीँ मनोवैज्ञानिक प्रभाव पक्कै हुन्छ। तर अहिलेको फुटबलमा नेपाल र भारतबीच धेरै ठूलो अन्तर छ जस्तो मलाई लाग्दैन।
रणनीति र योजना राम्रो भयो भने नेपालले नतिजा निकाल्न सक्छ। तर नेपाली फुटबलमा निरन्तरता आवश्यक छ। कहिले राम्रो खेल्ने, कहिले स्तर निकै खस्किने भयो भने अघि बढ्न गाह्रो हुन्छ।
ठूला देशसँग खेल्दा साना टोलीले के गर्नुपर्छ ?
पहिले आफ्नै देशमा खेलाडी उत्पादन गर्नुपर्छ। त्यसपछि ती खेलाडीलाई राम्रो टोलीमा ढाल्नुपर्छ। राम्रो प्रशिक्षक, रणनीति र पर्याप्त अन्तर्राष्ट्रिय अनुभव आवश्यक हुन्छ।
नेपाली खेलाडी अहिले भारतमा पनि खेलिरहेका छन्। त्यसैले मानसिक रूपमा ठूलो समस्या छ जस्तो लाग्दैन। तर खेलाडीमा ‘हामी भारतलाई पनि हराउन सक्छौँ’ भन्ने विश्वास चाहिन्छ।
खेल सुरु हुनुअघि नै विपक्षी टोलीका स्टार खेलाडी देखेर डराउने सोच राखियो भने जित सम्भव हुँदैन। यो विश्वकपले पनि देखाएको छ— साना टोलीले पनि बलिया टोलीलाई चुनौती दिन सक्छन्।
अहिलेका नेपाली खेलाडीमध्ये कसलाई चिन्नुहुन्छ ?
व्यक्तिगत रूपमा धेरै नेपाली खेलाडीलाई चिन्दिनँ, किनभने नेपालका धेरै खेल हेर्न पाएको छैन। भारतकै फुटबल पनि आफ्ना कामका कारण धेरै हेर्न पाइँदैन।
तर हिमालय स्पोर्ट्समा अञ्जन भाइ, मनिष भाइहरूसँग भेट भएको छ।
मेस्सी कि रोनाल्डो ?
ब्राजिलियन रोनाल्डो।
मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवै महान् खेलाडी हुन्। तर हाम्रो पुस्ताले ब्राजिलियन रोनाल्डोलाई हेरेको छ। मेस्सीको सीप र क्रिस्टियानो रोनाल्डोको गति दुवै ब्राजिलियन रोनाल्डोमा थियो भन्ने लाग्छ।
अहिलेको विश्वकपमा मनपर्ने खेलाडी ?
मेस्सी।
सबैभन्दा कठिन डिफेन्डर ?
नेपालका राजेश दाइ। उहाँ ६ फिट अग्लो, कपाल बाँधेको, हेर्दै प्रभावशाली डिफेन्डर हुनुहुन्थ्यो। म भारतका लागि भर्खर डेब्यु गर्दै थिएँ, उहाँहरू सिनियर हुनुहुन्थ्यो। उहाँको खेल हेरेर नै हामी हुर्किएका थियौँ।
सबैभन्दा यादगार गोल ?
डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा इङ्ग्ल्यान्डविरुद्ध गरेको गोल।
सानो हुँदा त्यो गोल हेर्दा मैदानमा गएर हामी पनि त्यस्तै गोल गर्नुपर्छ भन्ने प्रेरणा मिल्थ्यो। त्यो गोलले मलाई धेरै प्रभावित गरेको छ।
मनपर्ने रंगशाला ?
कोलकाताको साल्ट लेक स्टेडियम।
मनपर्ने प्रशिक्षक ?
बब हाउटन।
सबैभन्दा भावुक खेल ?
एएफसी च्यालेन्ज कपको फाइनल। त्यो खेल जितेर भारत २४ वर्षपछि एसिया कपमा छनोट भएको थियो।
फेरि खेल्न पाए कुन प्रतियोगिता खेल्न चाहनुहुन्थ्यो ?
एसिया कप।
२४ वर्षपछि भारतलाई एसिया कपमा पुर्याउँदा म कप्तान थिएँ। तर खेल्ने बेला चोटका कारण पूर्ण रूपमा फिट थिइनँ। दक्षिण कोरियाविरुद्ध अन्तिम खेलमा मात्र करिब ३० मिनेट खेल्न पाएँ। त्यसैले फेरि मौका पाए एसिया कप खेल्न चाहन्थेँ।
नेपाली फुटबललाई एक शब्दमा कसरी भन्नुहुन्छ ?
विशाल सम्भावना।
भारतीय फुटबललाई एक वाक्यमा ?
विशाल तर प्रयोग हुन नसकेको सम्भावना।
यो विश्वकप कसले जित्ला ?
भन्न निकै कठिन छ। तर मलाई लाग्छ, यसपालि फ्रान्स वा इङ्ग्ल्यान्डमध्ये एकले जित्न सक्छ।
प्रतिक्रिया 4