+
+
Shares

संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जनाले छाडे कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते ८:१५

२१ असार, धनकुटा । संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जना नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरेका छन् । उनीहरुले साधारण सदस्यसमेत नरहने गरी पार्टीसँगको राजनीतिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका हुन् ।

दोस्रो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सदस्य रहेकी तथा कांग्रेस महासमिति सदस्य ताम्ली र कांग्रेस कोशी प्रदेश सदस्य मिना राईले कांग्रेस केन्द्रीय समितिलाई पत्र लेख्दै पार्टीमा बसेर काम गर्ने वातावरण नरहेको र पछिल्ला समयका वैचारिक मतभेदका कारण पार्टी छाड्नुपरेको उल्लेख गरेका छन् ।

उनीहरुसँगै क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई तथा क्रियाशील सदस्यहरू भोलामान ताम्ली, कृष्ण लिम्बु, जितबहादुर याख्या, भुपाल तुम्बा, देव ताम्ली, सोनी लिम्बु, टंक ताम्ली, चन्द्रकला तुम्बा, इन्द्र तुम्बा, विष्णुभक्त लिंखा, प्रविणा तुम्बा, सुजन लिम्बु, धनबहादुर तुम्बा, उदयबहादुर तेयुङ र सुरेन तुम्बाले पनि कांग्रेस परित्याग गरेको पत्रमा उल्लेख छ ।

राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय उनीहरुको सामूहिक निर्णयले स्थानीय राजनीतिक वृत्तमा विभिन्न चर्चा सुरु भएको छ । पार्टी परित्यागबारे प्रतिक्रिया दिँदै संविधानसभा सदस्य ताम्लीले वर्तमान अवस्थामा आफू पार्टीभित्र अटाउन नसकेको बताइन् । समयको परिवर्तनसँगै पार्टीभित्र आफ्नो भूमिका सीमित भएको अनुभूति भएको र आफूलाई साथ दिने नेता तथा कार्यकर्ताहरुबाट समेत पार्टी छाड्न दबाब परेको उनको भनाइ छ ।

ताम्लीले पार्टीभित्र रहेको “दास र लास“ को राजनीतिक संस्कृतिमा आफू बस्न नसक्ने उल्लेख गर्दै कांग्रेस नेता गगन थापाले सार्वजनिक रुपमा उठाउँदै आएको राजनीतिक संस्कृतिसम्बन्धी बहससँग पनि आफ्नो निर्णयलाई जोडिन् । पार्टी परित्याग गरेका नेताहरुले तत्काल कुन राजनीतिक दलमा आबद्ध हुने भन्नेबारे सार्वजनिक गरेका छैनन् । यद्यपि उनीहरु हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्न लागेको चर्चा चल्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?