२१ असार, काठमाडौं । जलवायु परिवर्तनले पार्ने असरबाट समाजको कमजोर र शक्तिहीन वर्ग तथा व्यक्ति बढी प्रभावित हुने गरेको विज्ञहरूले बताएका छन् । जलवायु परिवर्तनले बालबालिकामाथि पारेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो धारणा राखेका हुन् ।
जलवायु परिवर्तनको असर सबैलाई एउटै किसिमले नपर्ने जलवायु विज्ञ खुस्बु पौडेलले बताइन् । यस्ता असरबाट महिला, बालबालिका, असाहय व्यक्ति, उपेक्षित र सीमान्तकृत समुदायका व्यक्ति बढी प्रभावित हुने उनको भनाइ छ ।
जलवायु परिवर्तनका कारण देखापरेका अति वर्षा र यसले निम्त्याउने बाढी, पहिरो अनि खडेरीले कृषि उत्पादनमा क्षति पुर्याउँदा बालबालिकाहरू खाद्य संकटमा समेत पर्ने गरेको उनले सुनाइन् ।
जलवायु परिवर्तनकै कारण महिला, बालबालिका, सुत्केरी तथा गर्भवतीको स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकार गुम्दै गएको पौडेलले बताइन् ।
जलवायु परिवर्तनकै कारण महिला र बालबालिकाले लगाउनु पर्ने नियमित खोप छुट्ने, परिवार नियोजनका साधनको अभावका कारण अनिच्छित गर्भधारण हुने अवस्था आउने गरेको विभिन्न अध्ययनले देखाएको उनले जानकारी दिइन् ।
किशोरीहरू पानीको समस्याका कारण महिनावारी भएको समयमा विद्यालय नजाने गरेको, टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यताका कारण बालबालिकाको पढाइ प्रभावित हुने गरेको पनि पाइएको उनले बताइन् ।
बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, सरसफाइ तथा बालअधिकारमा समेत प्रत्यक्ष रूपमा देखिन थालेको पौडेलले जानकारी दिइन् ।
पछिल्लो १५० वर्षमा पृथ्वीको औषत तापक्रम १.५ डिग्री सेल्सियसले वृद्धि भएको जलवायु विज्ञ मञ्जित ढकालले जानकारी दिए । जलवायु परिवर्तन पछि देखापर्ने विभिन्न प्रकोपले कृषि, पर्यटन, जलविद्युत र रेमिट्यान्समा समेत असर पर्ने उनको भनाइ छ ।
यो क्रम रोकिएन भने अहिलेका बालबालिकाले भविष्यमा जलवायु परिवर्तनको ठूलो मार खेप्नुपर्ने ढकालले प्रस्ट्याए । उनका अनुसार पृथ्वीको तापक्रम बढ्दै जाँदा मुलुकका करिब २५ प्रतिशत हिमनदीको क्षेत्रफल साँघुरिएको छ।
जवलायु परिवर्तन हुनुको मुख्य कारण बढी कार्बन उत्सर्जन गर्ने ठूला औद्योगिक राष्ट्र भए पनि हामीले आफू पनि यसबाट बच्ने तयारीमा लाग्नुपर्ने ढकालले बताए ।

अरूलाई मात्रै दोष दिएर बस्नुभन्दा जलवायु परिवर्तनको जोखिमलाई ध्यान दिएर त्यसको असर कम गर्न योजना बनाउनुपर्ने उनको भनाइ छ ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाकी नर्सिङ अधिकृत उमा रेग्मीले वातावरण प्रदूषणका कारण स्वास्थ्यमा धेरै असर परेको बताइन् । वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी समस्या मात्र नभई मुटु तथा रक्तनलीका रोग, फोक्सोको क्यान्सर, स्ट्रोक, गर्भावस्थामा जटिलता तथा बालबालिकाको शारीरिक विकासमा समेत गम्भीर असर परेको उनको भनाइ छ ।
उनका अनुसार वायु प्रदूषणका कारण दम, दीर्घकालीन अवरोधात्मक फोक्सो रोग (सीओपीडी), निमोनिया, उच्च रक्तचाप, हृदयाघात, स्ट्रोकलगायतका रोगको जोखिम बढिरहेको छ । गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू वायु प्रदूषणबाट सबैभन्दा बढी प्रभावित छन् ।
वायु प्रदूषणलाई वातावरणीय समस्या मात्र नभई गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा लिनुपर्ने रेग्मीले बताइन् ।
वायु प्रदूषणका कारण समयअघि नै शिशु जन्मिने, जन्मिँदा कम तौल हुने, मुटुसम्बन्धी समस्या बढ्ने तथा बालबालिकाको शरीर र मस्तिष्कको विकासका लागि आवश्यक अक्सिजनको पर्याप्त आपूर्ति प्रभावित हुनेजस्ता स्वास्थ्य समस्या देखिन थालेको उनले जानकारी दिइन् ।
वायु प्रदूषणलाई वातावरणीय समस्या मात्र नभई प्रमुख जनस्वास्थ्य समस्याका रूपमा लिनुपर्ने आवश्यकता रहेको उनले बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोगका दीपेन्द्रबहादुर सिंहले आफ्नो अधिकारको संरक्षण आफैं गर्न नसक्ने समुदाय जलवायु परिवर्तनको सबैभन्दा बढी चपेटामा परेको बताए ।
उनका अनुसार विशेषगरी बालबालिका, महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति सीमान्तकृत समुदाय जलवायु परिवर्तनबाट बढी प्रभावित भएका छन् । प्रकृतिमा आधारित जीविकोपार्जनमा निर्भर रहेका यस्ता समुदायको जीवनयापन नै संकटमा पर्दै गएको उनले सुनाए।
‘तराईमा अत्यधिक गर्मी भए पनि एसी भएको कोठामा बस्न सक्ने व्यक्तिलाई जलवायु परिवर्तनले खासै असर नगरेजस्तो लाग्न सक्छ’ उनले भने, ‘तर एसी राख्न सक्ने क्षमता नभएका समुदायका लागि जलवायु परिवर्तनले धेरै असर पारेको छ।’
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालले जलवायु परिवर्तनका कारण पेटमा भएको बच्चादेखि बुढो मान्छेसम्म प्रभावित हुने बताए । तापक्रम वृद्धि हुँदा विश्वभर हुने स्वास्थ्य जोखिम बढिरहेको उनको भनाइ छ ।
विशेषगरी न्यून तथा मध्यम आय भएका मुलुकहरूमा यसको प्रभाव अझ बढी देखिएको उनले जानकारी दिए ।

धिमालका अनुसार अत्यधिक गर्मीले संक्रामक रोगको जोखिम बढाएको छ । यसका साथै मातृ तथा शिशु स्वास्थ्य, श्रमिक तथा पेशागत स्वास्थ्य, मुटु तथा श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्यामा समेत गम्भीर असर पार्ने गरेको छ । जलवायु परिवर्तनका कारण बढ्दो गर्मीको प्रभाव न्यूनीकरण र स्वास्थ्य प्रणालीको तयारीलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उनले बताए ।
विश्वका करिब ६.३ अर्ब अर्थात् ७८ प्रतिशत जनसंख्याले वर्षमा कम्तीमा ३१ दिन अत्यधिक गर्मीको सामना गरेको धिमालले जानकारी दिए ।
धिमालका अनुसार बढ्दो तापक्रमले गर्भवती महिला, नवजात शिशु, बालबालिका तथा किशोरकिशोरीको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । अत्यधिक गर्मीका कारण समयअघि नै शिशु जन्मिने र मृत शिशु जन्मिने जोखिम बढ्दै गएको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
दैनिक अधिकतम तापक्रम प्रत्येक १ डिग्री सेल्सियसले बढ्दा समयअघि सुत्केरी हुने जोखिम ४.२ प्रतिशत र मृत शिशु जन्मिने जोखिम ३.३ प्रतिशतले बढ्ने अध्ययनले देखाएको उनले उल्लेख गरे ।
उनले भारतको अहमदाबादमा सन् २०१० मा आएको तापलहरका क्रममा दैनिक अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि नवजात शिशुको मृत्यु ४४ प्रतिशतले बढेको अध्ययनले देखाएको बताए । त्यस्तै, ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रमले बालबालिकाको निद्राको अवधि र गुणस्तरमा नकारात्मक असर पार्ने तथा तापलहरका बेला तापक्रम बढ्दै जाँदा किशोरकिशोरीमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या र आत्महानीको जोखिमसमेत बढ्ने विभिन्न अध्ययनहरूले देखाएको उनको भनाइ छ ।
धिमालका अनुसार सन् २०२३ मा नेपालका नागरिक दैनिक औसत ४.३ घण्टा मध्यम वा उच्च ‘हिट स्ट्रेस’ को जोखिममा परेका थिए, जुन सन् १९९० को दशकको तुलनामा ६८ प्रतिशतले बढी हो ।
अत्यधिक गर्मीका कारण नेपालले वार्षिक करिब २.८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको छ । त्यसको करिब ९१.५ प्रतिशत अर्थात् झण्डै २.६ अर्ब अमेरिकी डलर बराबरको क्षति कृषि क्षेत्रमा मात्र हुने गरेको धिमालले जानकारी दिए ।
उनका अनुसार ज्येष्ठ नागरिक, साना बालबालिका, दीर्घरोगी तथा कृषि र निर्माण क्षेत्रमा मध्यमदेखि भारी शारीरिक श्रम गर्ने श्रमिकहरू सबैभन्दा बढी जोखिममा छन् ।
कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिव डा. प्रकाश सिंह थापाले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरूको भविष्य सुरक्षित गर्न अहिले नै प्रभावकारी तयारी आवश्यक रहेको बताए । विज्ञहरूले तापक्रम निरन्तर बढ्ने क्रममा रहेको बताइरहेका बेला अहिलेको भन्दा झनै बढी जोखिम भोग्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो ।
उनले जलवायु परिवर्तनका कारण अहिले नै ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै तापक्रम थप बढे बालबालिका, महिला तथा सीमान्तकृत समुदायमा अझ ठूलो संकट आउने बताए ।
बालबालिकाले विद्यालयमा धेरै समय बिताउने भएकाले शिक्षकहरूलाई जलवायु परिवर्तन र यसका स्वास्थ्य प्रभावबारे पर्याप्त जानकारी दिन तथा विद्यालयस्तरमै अनुकूलनका कार्यक्रम सञ्चालन गर्न सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया 4