२१ असार, काठमाडौं । शनिबार राती परेको पानीले काठमाडौं महानगरपालिका वडा नं. ३ सामाखुसी खोला चिरायु अस्पताल र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नजिक पर्खाल भत्काएपछि ८ वटा घर जोखिममा परे ।
यी घरलाई जोखिममुक्त बनाउन आज महानगर प्रहरी बलबाट नगर प्रहरी नायव उपरीक्षक लीलाराज गाछा र ध्रुवकुमार भुजेल नेतृत्वमा ६० जना जनशक्ति परिचालन गरियो । टोलीले जोखिमयुक्त स्थानलाई जोखिममुक्त बनाएको छ ।
कल्भर्टबाट आएको वेग गतिको पानीले खोलाको पर्खाल भत्काएको देखिन्छ । प्रतिकार्यमा रहेका गाछाले भने, ‘भत्किएको ठाउँलाई तत्काल पुनःस्थापना नगरे ८ वटा घर जोखिममा देखिए । ती घरको सम्भावित जोखिम टार्न हामीले बालुवा भरिएका करिब २ सय बोरा चाङ लगाएर जोखिम घटाएका छौँ ।’ यस कार्यमा नगर प्रहरी बलसँगै ढल मंगाल सफाइ गर्ने जनशक्ति परिचालन गरिएको थियो ।
महानगरपालिकाले विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बल सम्मिलित क्यूआरटी (क्वीक रेस्पोन्स टीम) गठन गरेको छ । प्रतिकार्य योजनाका विषयमा जानकारी दिँदै विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले भने, ‘वडा स्तरीय समितिलाई सक्रिय बनाइएको छ ।
विपद् व्यवस्थापन विभाग, महानगर प्रहरी बल, स्वास्थ्य विभाग, सार्वजनिक निर्माण विभाग, सूचना प्रविधि विभाग, शिक्षा, वातावरण व्यवस्थापन विभाग जस्ता तत्काल फिल्डमा खटिनु पर्ने विभागहरुलाई तयारी राखिएको छ । यस्तै खोज उद्धारका सामानहरु तैनाथ गरिएको छ ।’
‘यस वर्ष गणतन्त्र पार्क, जय नेपाल हल, जमल लगायत क्षेत्रमा सडक डुबान भएकोले खोल्ने काम भएको छ’ नगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशी भन्छन्, ‘डुबानका २ वटा कारण देखिएका छन् ।’
उनका अनुसार एउटा कारण ढल निकासको क्षमता कमजोर हुनु हो । अर्को भनेको बर्खाको पानीले प्लास्टिक, बालुवा, माटो बगाएर ल्याएपछि फेरि जाम हुनु हो । ‘हामीले सम्भावित डुबान क्षेत्रमा भएका मंगाल चिन्न संकेत चिन्ह राखेका छौँ । महानगर प्रहरी बलका चार वटै क्षेत्रबाट आफ्नो क्षेत्रमा डुबान हुँदा चिन्ह हेरेर तत्काल खोल्ने काम हुँदै आएको छ । कुनै ठाउँमा डुबान भए आधा घण्टाभित्र पानीको पूरै निकास हुने गरेको छ । यसो हुनुको कारण ढल प्रणालीको क्षमता कमजोर हुनु नै हो,’ जोशीको भनाइ छ ।
प्रतिक्रिया 4