२१ असार, डोल्पा । डोल्पाको जगदुल्लाह गाउँपालिकामा आइतबार भएका दुई फरक घटनामा दुई जनाले ज्यान गुमाएका छन् भने अन्य १८ जना घाइते भएका छन् ।
जिल्लाको जगदुल्ला गाउँपालिकामा बाढी र जिप दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका हुन् ।
जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा गएराति निरन्तर वर्षापछि धुलाखोला तथा आसपासका खोल्सामा आएको हिलोमाटोसहितको बाढी गाउँ पस्दा करिब ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
राति सुतिरहेको बेला अविरल वर्षसँगैको बाढीमा गाउँमा पस्दा गैरीगाउँकी स्थानीय ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विक घाइते भएका हुन् ।

उनीहरूको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेमध्ये रेउलीको अवस्था गम्भीर भएका कारण नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरी थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।
उनको अहिले प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ ।
स्थानीय चौकीमा उपचाररत घाइतेहरूको थप उपचारका लागि जिल्ला अस्पतालबाट चिकित्सक सहितको टोली समेत झ्याकोट स्वास्थ्य चौकीमा पठाइएको छ ।

यस्तै आइतबार दिउँसो जगदुल्ला गाउँपालिकाको माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको जिप मौरेलेख क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब २०/२५ मिटर तल खस्दा त्रिपुरासुन्दरी नगरपालिका-०७ का ३८ वर्षीय विष्णु थापा (बूढा) को घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा चालकसहित ११ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई उपचारका लागि जुम्ला पठाइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल परिचालन गरी उद्धार तथा राहत कार्य जारी राखिएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् ।
यता सवारी दुर्घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
एकै दिन प्राकृतिक विपत्ति र सवारी दुर्घटनाले डोल्पामा दुई जनाको ज्यान जानुका साथै १८ जना घाइते भएपछि गाउँपालिका नै शोकमा डुबेको छ ।
प्रतिक्रिया 4