नेपालमा पछिल्लो समय कानून अध्ययनमा युवाको लोभलाग्दो आकर्षण देखिन्छ। बढ्दो आकर्षणले गर्दा विभिन्न विश्वविद्यालयले कानूनको अध्यापन गराउन लागिपरेका छन्। च्याउ झैं उम्रिएका कानून कलेजबाट वर्षेनि हजारौंको सङ्ख्यामा ‘कालो कोट’ पहिरिएका नयाँ अनुहारहरू बजारमा निस्कन्छन्।
नेपाल कानून व्यवसायी परिषद्ले लिने परीक्षा उत्तीर्ण गरेर प्रमाणपत्र हातमा पर्दा ती युवाका आँखामा एउटा फरक चमक र सोचाइ हुन्छ— विधिको शासन स्थापना गर्ने, अन्यायमा परेकालाई न्याय दिलाउन दिलोज्यान दिने र समाजमा प्रतिष्ठित वकिल बन्ने। तर, जब उनीहरू कानून व्यवसायीको लाइसेन्स गोजीमा हालेर अदालतको मूल ढोका र बार एसोसिएसनको प्राङ्गणमा पाइला टेक्छन्, तब उनीहरूलाई एउटा कठोर यथार्थले स्वागत गर्छ। त्यो यथार्थ हो— नेपालको कानून व्यवसायमा रहेको चरम व्यावसायिक अनिश्चितता, सिन्डिकेट र नवप्रवेशीको बाँच्ने सङ्घर्ष।
युवा कानून व्यवसायीको अवस्था एउटा गम्भीर विमर्शको विषय बनेको छ। एकातिर कर्पोरेट क्षेत्रको विस्तार, प्रविधिको विकास र अन्तर्राष्ट्रियकरणले गर्दा कानूनी क्षेत्रमा अभूतपूर्व अवसरका ढोकाहरू खुलेका छन् भने, अर्कोतिर परम्परागत अदालती अभ्यासभित्रको सिन्डिकेट, चरम आर्थिक शोषण, बार एसोसिएसन, नेपाल कानून व्यवसायी परिषद् र राज्यको उदासीनताले युवाहरूलाई निराश हुन बाध्य पारिरहेको छ। यस आलेखमा नेपालका युवा कानून व्यवसायीहरूले भोगिरहेका चुनौती र उनीहरूका सामुन्ने रहेका उदीयमान अवसरहरूबारे लेख्ने प्रयास गरिएको छ।
आदर्श र यथार्थको टक्कर
कानूनको पढाइ आफैंमा महँगो र समयभरण गर्ने विधा हो। पाँचवर्षे बीए-एलएलबी वा तीनवर्षे एलएलबी सकेर बजारमा आउनेबित्तिकै युवा वकिलहरूले जुन संरचनागत र व्यावहारिक पर्खालहरूको सामना गर्नुपर्छ, त्यसबारे लेखिनुपर्ने विषय अनगिन्ती छन्। झन्डै दुईदशक सक्रिय पत्रकारिता गरेको म ७ वर्षअघि अनेकौं सुनौला सपना साँचेर कानून व्यवसायमा प्रवेश गरेको थिएँ। बाहिरबाट हेर्दा जस्तो देखिन्छ, कानून व्यवसायमा यथार्थ फरक रहेछ। अझ युवा कानून व्यवसायीलाई त स्थापित हुन ‘बाउन्न घुस्सा त्रिपन्न ठक्कर’ खानुपर्छ।
मलाई पूर्वमहान्यायाधिवक्ता, पहिलो गण्डकी प्रदेश प्रमुख, वरिष्ठ अधिवक्ता बाबुराम कुँवरज्यूको सङ्गतले कानून व्यवसायमा छिर्ने बाटो खोलिदिएको थियो। उहाँकै सरसल्लाहले मलाई कानून व्यवसायमा स्थापित हुन सजिलो भयो।
नेपालको कानून व्यवसाय अझै पनि परम्परागत सोचबाट पूर्ण मुक्त हुनसकेको छैन। मैले कुनै पनि स्थापित ‘ल फर्म’, अधिवक्ता वा वरिष्ठ अधिवक्ताको च्याम्बरमा सिक्न भनेर गइनँ। मैले एक्लै ‘ल फर्म’ शुरु गरेर आफ्नै अध्ययन, बुद्धि, विवेक, कडा मिहिनेतले कानून व्यवसायमा स्थापित हुन सङ्घर्ष गरिरहेको छु।
पत्रकारितामा लामो समय बिताइसकेको हुँदा आफैंले मिहिनेत गर्न सक्छु भन्ने आत्मविश्वास थियो। ‘समाचार नलेखेर पत्रकार भइँदैन’ भने जस्तै ‘मुद्दा नलेखी वा इजलासमा बहस नगरी गतिलो वकिल भइँदैन’ भन्ने मैले बुझेको थिएँ। पहिलो वर्षमै ५७ वटा मुद्दामा बहस-पैरवी गर्न पाएपछि म हौसिएको थिएँ। मेरो इमानदारी अनि कडा मिहिनेतले गर्दा कानून व्यवसायमा म सन्तुष्ट छु। तर नयाँ आउने कानून व्यवसायीका लागि मलाई सजिलो भए झैं सबैलाई छैन। म सन्तुष्ट भए जस्तै सबैलाई सन्तुष्ट हुने वातावरण छैन।
नयाँ आउने वकिलहरू कुनै स्थापित ल फर्म वा वरिष्ठ अधिवक्ताको च्याम्बरमा सिक्नका लागि जान्छन्। तर, धेरैजसो च्याम्बरमा सिकाउने बहानामा उनीहरूलाई महिनौंसम्म एक रुपैयाँ पनि पारिश्रमिक नदिई श्रमशोषण गरिएका उदाहरण प्रशस्त छन्। अदालतमा मुद्दा सार्ने, तारेख थाम्ने, मिसिल सारेर फोटोकपी गर्ने जस्ता प्रशासनिक कामहरू जुनियर वकिललाई लगाइन्छ; तर महिनाको अन्त्यमा उनीहरूलाई सामान्य यातायात खर्च (पोखरा, काठमाडौं जस्तो शहरमा कोठाभाडा र खाना खर्च त परको कुरा) समेत दिन कतिपय सिनियरहरू कन्जुस्याइँ गर्छन्।
यसो भन्दैमा सबै स्थापित ल फर्म वा वरिष्ठ अधिवक्ताको च्याम्बरमा यस्तै हुने गरेको भने होइन। केहीमा सिकाउने र सोही अनुसारको राम्रो पारिश्रमिक दिने पनि गरिएको छ। ‘हाम्रो पालामा हामीले पैसा बुझाएर सिकेका थियौं, अहिले तिमीहरूलाई सिकाउँदा उल्टै पैसा माग्ने ?’ भन्ने पुरातन मानसिकता हावी छ। यति मात्र हैन, दुई-तीन वर्ष वरिष्ठकै वरिपरि घुम्ने र उनीहरूकै झोला बोकेरै समय व्यतीत गर्ने नवोदित कानून व्यवसायी थुप्रै छन्। आर्थिक असुरक्षाका कारण कतिपय जेहेन्दार युवाहरू पेशा नै छाड्न बाध्य छन्।
अदालतमा मुद्दा पाउनु र स्थापित हुनु केवल कानूनी ज्ञानमा मात्र निर्भर गर्दैन, बरु नेटवर्किङ र कनेक्सनमा बढी निर्भर गर्छ। यो दुवै कुरा भर्खरै प्रवेश गरेका युवा कानून व्यवसायीमा हुँदैन । त्यसैले उनीहरूले हत्तपत्त मुद्दा पाइहाल्ने अवस्था पनि हुँदैन । ठूला कर्पोरेट घराना, बैंक र धनी क्लाइन्टहरू सधैं नाम चलेका पुराना वकिलहरूकहाँ मात्र जान्छन् । युवा वकिलहरू जतिसुकै प्रतिभाशाली, कानूनका जानकार, मिहिनेती र क्षमतावान् भए तापनि उनीहरूलाई समाज र क्लाइन्टले सजिलै पत्याउँदैनन्।
त्यसमाथि, कतिपय विकृतिका कारण पनि नयाँ र इमानदार युवाहरू आफूलाई यो पेशामा समाहित गर्न असहज महसुस गर्छन्। प्रहरी हिरासतमा लामो समय मिहिनेत गरेर काउन्सिलिङ गरेको क्लाइन्टको थुनछेक बहसमा जाँदा अर्कै र सिनियर भनिएका वकिल देखिनु नौलो होइन।
कास्की जिल्ला प्रहरी कार्यालय र कास्की जिल्ला अदालतको दूरी १० मिनेटको हो। तर, यति छोटो दूरीभित्र कुन त्यस्तो खतरनाक शक्ति छ, जसले बाटोमै वकिल बदलिदिन्छ ? सुरुआती दिनमा मेरो जीवनमा यस्ता घटना कति भए कति, गनेर अनि भनेर साध्यै छैन। यसबाट पनि थाहा हुन्छ, नवोदित कानून व्यवसायीले मुद्दाहरू काउन्सिलिङ गरेर पनि अन्तै जान्छ।
नेपाल बार एसोसिएसन वकिलहरूको छाता सङ्गठन हो, तर पछिल्ला वर्षहरूमा बार केवल राजनीतिक दलहरूको भ्रातृ सङ्गठन जस्तो र चुनाव जित्ने अखडा मात्र बनेको छ। युवा वकिलहरूको न्यूनतम पारिश्रमिक तोक्ने, उनीहरूलाई पेशामा टिकाइराख्न के गर्न सकिन्छ भनेर छलफल गर्ने अनि कार्यक्रमहरू ल्याउने, आकस्मिक वृत्ति कोषको व्यवस्था गर्ने र च्याम्बरहरूमा हुने श्रमशोषणको अनुगमन गर्ने काममा बार र परिषद् पूर्णरूपमा असफल छन्।
अवसरका नयाँ क्षितिज
चुनौतीका काला बादलहरूका बीच पनि वर्तमान समयमा युवा कानून व्यवसायीहरूका लागि इतिहासमै कहिल्यै नभएका नयाँ अवसरहरू सिर्जना भएका छन्। अब वकिल हुनु भनेको केवल जिल्ला, उच्च वा सर्वोच्च अदालतको इजलासमा उभिएर बहस गर्नु मात्र होइन। त्यो बाहेक अन्य क्षेत्रमा समेत अवसरहरू भेटिन्छन्।
हाल नेपालमा बैंकिङ प्रणालीको विकास, कर्पोरेट क्षेत्र, बीमा कम्पनीहरू, जलविद्युत् आयोजना र साना–ठूला उद्योगधन्दाहरूको संस्थागत विकास भइरहेको छ। यी प्रत्येक संस्थालाई दैनिक सञ्चालन, सम्झौता लेखन, श्रमविवाद समाधान र कर सम्बन्धी मामिलामा आन्तरिक कानूनी सल्लाहकारको आवश्यकता पर्छ।
युवा वकिलहरू, जो अङ्ग्रेजी भाषा, कर्पोरेट कानून र व्यावसायिक सम्झौतामा पोख्त छन्, उनीहरूका लागि यी क्षेत्रले आकर्षक तलब र उच्च प्रतिष्ठा सहितका रोजगारीका अवसरहरू अघि सारेका छन्। ती क्षेत्रमा उपलब्ध अवसरलाई युवा वकिलहरूले छोप्न सक्नुपर्छ।
डिजिटल युगसँगै नेपालमा साइबर अपराध बढेका छन्। ई-कमर्स, स्टार्टअपहरूको बाढी आएको छ। पुराना र स्थापित वकिलहरू धेरैजसो परम्परागत देवानी र फौजदारी मुद्दामा अभ्यस्त छन्, तर उनीहरू प्रविधिको जटिलता, डेटा सेक्युरिटी र आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडिएका कानूनी पाटामा अपडेट हुनसकेका छैनन्। यस्तो अवस्थामा प्रविधिसँग साक्षात्कार गरेका युवा कानून व्यवसायीहरूका लागि साइबर कानून, ट्रेडमार्क, कपीराइट र पेटेन्ट जस्ता बौद्धिक सम्पत्ति सम्बन्धी कानूनमा आफूलाई स्थापित गर्ने सुनौलो अवसर छ।
नेपालमा क्रियाशील अन्तर्राष्ट्रिय नियोग, संयुक्त राष्ट्रसङ्घका अङ्ग, विभिन्न गैरसरकारी सङ्घसंस्था र विभिन्न मानवअधिकारवादी संस्थाहरूले नीतिगत अनुसन्धान, कानूनको मस्यौदा लेखन र सामाजिक न्यायका क्षेत्रमा काम गर्न युवा कानून व्यवसायीहरूलाई प्राथमिकता दिने गरेका छन्। यस क्षेत्रमा बौद्धिक सन्तुष्टिका साथै अन्तर्राष्ट्रियस्तरको ‘एक्सपोजर’ प्राप्त गर्न सकिन्छ। यस्ता क्षेत्रमा भएका अवसरलाई युवा कानून व्यवसायीले सदुपयोग गर्न सक्नुपर्छ।
युवा वकिललाई कसरी टिकाउने ?
नेपालको न्याय प्रणालीलाई जीवन्त राख्ने हो भने युवा कानून व्यवसायीहरूलाई यो पेशामा टिकाइराख्नु राज्य र न्यायालय दुवैको हितमा छ। नेपाल कानून व्यवसायी परिषद्ले प्रत्येक ल फर्म वा वरिष्ठ अधिवक्ताको च्याम्बरमा काम गर्ने जुनियर वकिलहरूको न्यूनतम पारिश्रमिक अनिवार्य रूपमा तोक्नुपर्छ र त्यसको कडा अनुगमन हुनुपर्छ। काम सिकाउने बहानामा सित्तैंमा श्रम गराउने प्रवृत्तिलाई कानूनी रूपमै दण्डनीय बनाइनुपर्छ।
राज्यले गरिब र असहाय नागरिकलाई उपलब्ध गराउने कानूनी सहायता (वैतनिक वकिल वा कोर्ट फन्ड) को व्यवस्था गरेको छ। यस्ता क्षेत्रमा युवा वकिलहरूलाई जिम्मेवारी दिनुपर्छ। यसले गर्दा एकातिर पीडितले ऊर्जावान् वकिल पाउँछन् भने अर्कोतिर युवा वकिलहरूले राज्यबाट निश्चित पारिश्रमिक पाउँदा उनीहरूको सुरुआती जीवन धान्न सहज हुन्छ। त्यस्तै अदालतको व्यावहारिक अनुभव पनि हासिल हुन्छ।
यसैगरी जिल्ला कानूनी सहायता केन्द्रमा युवा कानून व्यवसायीको सहभागिता बढाउनुपर्छ। जसका लागि वर्षौंदेखि स्थायी जागिरे जस्तो गरी काम गरिरहेका कानूनी सहायता केन्द्रमा परीक्षाका माध्यमबाट कानून व्यवसायी छनोट गरिनुपर्छ। यसो गर्दा युवा कानून व्यवसायीलाई टिकाउन सजिलो हुन्छ।
बार एसोसिएसनले सधैं राजनीतिको पछि कुद्नुभन्दा युवाहरूको क्षमता अभिवृद्धिका लागि डिजिटल ड्राफ्टिङ, अन्तर्राष्ट्रिय मध्यस्थता र कर कानून सम्बन्धी तालिमहरू सञ्चालन गर्नुपर्छ। युवाहरू आफैंले पनि परम्परागत अदालती बहसको भिडबाट अलग भएर कुनै एउटा विधामा आफूलाई विशिष्टीकृत बनाउनुपर्छ।
युवा कानून व्यवसायीमा पनि धैर्य र लगनशीलता हुनुपर्छ। पछिल्लो पुस्तामा धैर्य र मिहिनेतभन्दा छिटो प्रतिफल खोज्ने प्रवृत्ति रहेको छ, यतातिर बढी ध्यान दिनुपर्छ। अग्रजले एउटै क्षेत्रमा वर्षौं बिताएको क्षेत्रमा केही वर्षमै स्थापित हुन्छु भन्ने भ्रमलाई त्याग्न जरुरी छ। कानून व्यवसायमा स्थापित हुन कालो कोट लगाएर मात्रै हुँदैन; सोही अनुसार अध्ययन, अनुसन्धान र कडा मिहिनेत गर्नुपर्छ।
नवोदित कानून व्यवसायीमा धैर्य र मिहिनेतको अभाव भने देखिन्छ। मुद्दा लेखनमा छरितो भाषाशैली, बुँदागत र सङ्क्षिप्त, मागदाबी अनि त्यसलाई सम्बोधन गर्ने उचित कानूनी व्यवस्थालाई ध्यान दिनुपर्छ। इजलासमा उपस्थित भई बहस-पैरवी गर्दा पूर्ण तयारीका साथ अध्ययन गरेर जानुपर्छ, न कि इजलासमा पुगेर फाइल कोट्याउने। बहसमा इजलासको मर्म ख्याल गर्दै छोटो र छरितो रूपमा प्रस्तुत हुने अनि सिद्धान्त र नजिरको उचित प्रस्तुतिले युवा कानून व्यवसायीलाई पेशामा स्थापित हुन सजिलो बनाउँछ। यसो गर्न सकेमा नयाँ तथा युवा कानून व्यवसायीलाई टिकाइराख्न र पेशामा निरन्तरता दिन सहज हुने देखिन्छ।
नेपालमा युवा कानून व्यवसायीको अवस्था ‘चुनौतीको जगमा ठडिएको अवसरको टापु’ जस्तै हो। परम्परागत अभ्यासको चौघेरा, आर्थिक सङ्कट र व्यावसायिक असुरक्षाका कारण सुरुआती वर्ष कटाउनु कुनै ‘फलामको चिउरा चपाउनु’ भन्दा कम छैन। तर जसले धैर्य, मिहिनेत र लगनशीलताका साथ नयाँ प्रविधि, बदलिंदो समय र विश्व परिवेश अनुसार आफूलाई परिमार्जन गर्न सक्छ, उसका लागि यो पेशा असीमित सम्भावनाको खानी हो।
तसर्थ, कालो कोटभित्र लुकेको युवाको सङ्घर्षलाई राज्य, बार र वरिष्ठ कानून व्यवसायीहरूले चिनेर अवसरको ढोका खोलिदिनुपर्छ। युवा कानून व्यवसायीलाई संरक्षण र न्यायोचित अवसर दिने हो भने उनीहरू पेशामा स्थापित हुनसक्ने र यो क्षेत्रमा सधैं आकर्षण रहिरहने देखिन्छ।
(लेखक नेपाल खुला विश्वविद्यालयका अध्यापक हुन्।)
प्रतिक्रिया 4