२२ असार, काठमाडौं । दोस्रोपटक क्वार्टरफाइनलमा पुग्ने लक्ष्यका साथ सहआयोजक अमेरिकाले सियाटल स्टेडियममा अनुभवी बेल्जियमको सामना गर्दैछ । अमेरिका र बेल्जियमबिचको उक्त खेल मंगलबार बिहान पौने ६ बजेबाट सुरु हुनेछ ।
यो खेलले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको त्यो ऐतिहासिक अन्तिम १६ को खेलको संस्मरण गराउने छ । त्यतिबेला यी दुई टोलीबिचको भिडन्तमा बेल्जियम २–१ ले विजयी भएको थियो । घरेलु मैदान र समर्थकको साथ पाएको अमेरिकी टोली विगतको उक्त असफलताको बदला लिँदै २४ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्ने दाउमा छ । बेल्जियम आफ्नो स्वर्णिम पुस्ताको अन्तिम प्रयासलाई कायम राख्न चौथो पटक क्वार्टरफाइनल यात्रा तय गर्न चाहन्छ ।
मौरिसियो पोचेटिनोको प्रशिक्षणमा रहेको अमेरिकी टोली यस विश्वकपमा राम्रो प्रदर्शन गर्दै आइरहेको छ । समूह ‘डी’ को विजेता बन्दै नकआउट चरण पुगेको अमेरिकाले अन्तिम ३२ को खेलमा बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित ग¥यो । उक्त खेलको दोस्रो हाफमा १० खेलाडीमा सीमित भए पनि अमेरिकाले उत्कृष्ट रक्षात्मक र आक्रामक सन्तुलन देखाएको थियो ।

समूह ‘जी’ को विजेता बन्दै अन्तिम ३२ मा पुगेको बेल्जियमले पछिल्लो खेलमा शानदार पुनरागमन जित निकाल्दै अन्तिम १६ मा पुगेको हो । बेल्जियमले विश्वकप इतिहासकै सबैभन्दा चमत्कारिक र यादगार पुनरागमन ग¥यो । सेनेगलविरुद्ध खेल सकिन ७ मिनेट बाँकी छँदा २–० ले पछि परेको अवस्थालाई उल्टाउँदै बेल्जियमले अतिरिक्त समयमा ३–२ को अविश्वसनीय जित निकालेको थियो ।
बोस्नियाविरुद्ध रातो कार्ड पाएका स्टार स्ट्राइकर फोलारिन बालोगुनले यो खेल गुमाउने निश्चित प्रायः थियो । तर, फिफाले उनको रातो कार्डको प्रतिबन्धलाई आश्चर्यजनक रूपमा खारेज गरिदिएपछि उनी सुरुवाती ११ मै उपलब्ध हुनेछन् । उनले यस विश्वकपमा ३ गोल गरिसकेका छन् र उनी बेल्जियमका लागि घातक बन्न सक्छन् । आक्रामक पङ्क्तिका मुख्य सुत्रधार क्रिस्टियन प्युलिसिक यस खेलका सबैभन्दा महत्वपूर्ण खेलाडी हुन् ।
सन् २०१४ को विश्वकप खेलका साक्षीहरू थिबाउट कोर्टुवा, केभिन डे ब्रुइने र रोमेलु लुकाकु अझै पनि यस बेल्जियम टोलीका प्रमुख हतियार हुन् । पछिल्लो खेलमा बेन्चबाट आएर गोल गरेका लुकाकु यस खेलमा सुरुवातमै मैदान उत्रिने सम्भावना बलियो छ । साथै मिडफिल्डर लिआन्द्रो ट्रोसार्डले ओपन प्लेबाट १६ वटा अवसर सिर्जना गर्दै नयाँ बेल्जियन कीर्तिमान बनाइसकेका छन् । उनी अमेरिकाका लागि घातक बन्न सक्छन् ।
खेलअघि बेल्जियमका मुख्य प्रशिक्षक रुडी गार्सियाले अमेरिकाविरुद्ध उत्कृष्ट फुटबल देखाउने बताए । उनले भने, ‘हामीले खेल अवधिभर आफ्नो प्रदर्शनको निरन्तरतामा सुधार गर्नैपर्छ र सक्छौँ पनि । कतिपय अवस्थामा हामी निकै राम्रो खेल्छौँ र उत्कृष्ट फुटबल देखाउँछौँ । त कतिपय अवस्थामा भने हामीले संघर्ष गर्नुपर्ने हुन्छ ।’

सन् १९३० को विश्वकपपछि अमेरिकाले बेल्जियमलाई हराउन सकेको छैन । त्यतिबेला अमेरिकाले बेल्जियमलाई ३–० ले पराजित गरेको थियो । त्यसयताका ६ भेटमा बेल्जियम विजयी भएको छ । हालै गत मार्चमा भएको मैत्रीपूर्ण खेलमा पनि बेल्जियमले अमेरिकालाई ५–२ को फराकिलो अन्तरले हराएको थियो ।
अमेरिकाका मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोले यसअघिका नतिजालाई बिर्सिएर खेल्ने बताए । ‘मलाई लाग्छ यो खेल गत मार्चमा भएको मैत्रीपूर्ण खेलभन्दा फरक परिस्थितिमा हुनेछ र म एउटा फरक प्रदर्शन तथा सायद फरक नतिजाको आशा गर्दछु । समर्थकहरू हाम्रो पक्षमा हुनेछन्,’ उनले भने, ‘यो एक महत्वपूर्ण प्रतियोगिता हो । त्यसैले म आशा गर्छु कि सबै कुरा फरक हुनेछ ।’
प्रतिक्रिया 4