२२ असार, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले बजार अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालित दुईवटा खाद्य उद्योगलाई कारबाही गरेको छ ।
अनुगमनका क्रममा पोखराका एसआरसी प्याकेजिङ र जेनिशा केमिकल कारबाहीमा परेका हुन् । पोखरा–८ कास्कीमा रहेको एसआरसी प्याकेजिङले १० किलोभन्दा कम तौलको प्याकेजिङ साइजमा बेकरी सर्टेनिङ बिक्री गरिरहेको भेटिएको थियो ।
कारबाही स्वरूप उक्त उद्योगको ८६ हजार ४ सय रुपैयाँ बराबरको १ सय ८० किलो बेकरी सर्टेनिङ नष्ट गरिएको छ । साथै, मापदण्ड विपरीतका १६ कार्टुन सामान सम्बन्धित वितरकलाई फिर्ता गरी त्यसको भरपाई जिल्ला प्रशासन कार्यालयमा बुझाउन निर्देशन दिइएको छ ।
जेनिशा केमिकललाई ५० हजार जरिबाना
पोखरा–१७ मा रहेको जेनिशा केमिकलले खाद्य अनुज्ञापत्र (लाइसेन्स) विना नै खाद्य पदार्थ प्याकेजिङ गरिरहेको र १० किलोभन्दा कम तौलमा बेकरी सर्टेनिङ बिक्री गरिरहेको पाइएको छ ।
ऐन विपरीत कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले उक्त उद्योगलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ । साथै, उद्योगमा भेटिएको ६२ हजार ४ सय रुपैयाँ बराबरको १ सय ३० किलो बेकरी सर्टेनिङ नष्ट गरिएको छ ।
सरकारले १४ वैशाखमा सूचना जारी गरी बेकरी सर्टेनिङलाई १० किलोभन्दा कम तौलमा प्याकेजिङ र बिक्री वितरण गर्न रोक लगाएको थियो ।
प्रतिक्रिया 4