२३ असार, खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वडाध्यक्ष दुर्गाबहादुर राईका परिचय फरक–फरक छन् । कार्यालय हुँदा जनप्रतिनिधि, वडाध्यक्ष । घरमा फर्किँदा किसान ।
२०७४ र २०७९ को स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष निर्वाचित भएका राई व्यवसायिक मौरी पालन र आधुनिक घार निर्माणमा तल्लिन छन् । २०७५ सालदेखि व्यवसायिकरुपमा मौरी पालनमा लागेका राई हाल यही पेशाबाट गाउँमै स्वरोजगार बन्न सफल छन् ।
वडाध्यक्ष राईले घरको बरण्डा, शौचालयको छत, बारीका डिलमा मौरीको घार राखेका छन् । उनले आधुनिक घारमा मौरी पालनसँगै घार निर्माण गरेर बिक्री गर्नेगरेका छन् ।
मह र घार बिक्रीबाटै परिवारको दु:खसुख टरिरहेको राईले बताए । वडा कार्यालयमा पुगेर जनताको सेवा गरेपछि बाँकी रहेको समयलाई उनले मौरीको हेरचाह र घार निर्माणमा खर्च गर्ने गरेका छन् ।
यस आर्थिक वर्ष घार बिक्रीबाट आठ लाखको कारोबार भएको राईले बताए । हप्ता दिनअघि मात्रै बराहपोखरी गाउँपालिकाको कृषि शाखालाई ५३ थान र जन्तेढुंगा गाउँपालिका–२ बोपुङलाई ६० थान घार विक्री गरिएको छ । घारको प्रतिवटा मुल्या ५५ सयदेखि ६ हजार पर्छ । गत मंसिरमा ५५ केजी मह निकालियो । प्रतिकेजी १५ सयका दरले साँढे ८२ हजार हात लागेको राई बताउँछन् ।
वडाध्यक्ष राईलाई सानैदेखि मौरीपालनमा सोख थियो । जंगल, भीरपाखामा भेटिने सेरेना जातको मौरीलाई मुढे घारमा सारे । प्रतिफल लिन सुरु गरे । २०७५ सालमा आधुनिक घार निर्माणसम्बन्धी १५ दिनको तालिम लिएपछि राईको मौरी पालनले व्यवसायिक रुप लिएको हो । तालिमपछि मुढे घारको मौरीलाई आधुनिक घारमा सारे र घारको संख्या बढाए ।

डाँडागाउँ मौरी पालन तथा मह प्रशोधन उद्योग स्थापना गरेका राई आफ्ना लागि आफैं घार निर्माण गर्छन् र ‘अर्डर’ अनुसार निर्माण गरेर बिक्री गर्छन् । घार निर्माणमा गाउँमै पाइने टुनी र उत्तिसको काठ प्रयोग गर्नेगरेका छन् । घार निर्माणमा तीन स्थानीयले रोजगार समेत पाएका छन् । घारलाई बढाएर मौरी पालनलाई अझ वृद्धि गर्ने राईको योजना छ ।
वरपर बाक्लो जंगल रहेको मौवाबोटे मौरी पालनका लागि उपयुक्त मानिन्छ । प्राय: मौवाबोटेका प्रत्येक घरमा मौरी पालन गरिएको छ । त्यसमध्ये वडाध्यक्ष राई, जीतबहादुर राई र जगत राईले व्यवसायिकरुपमा मौरी पालन गरिरहेका छन् ।
जीतबहादुरले २०७१ सालदेखि व्यवसायिक रुपमा मौरी पालन सुरु गरेका हुन् । मौरी पालनबाट राईको वार्षिक डेढ लाखदेखि अढाइ लाखसम्म आम्दानी हुने गरेको छ । घरै नजिकबाट सडक बनेपछि ग्राहक मह खोज्दै घरैमा आइपुग्नेगरेको राईले बताए ।
विगतमा परम्परागत घरहरुमा खोपा घार बनाइन्थ्यो । त्यही खोपाहरुमा मौरी पालन गरिन्थ्यो तर २०७२ को भूकम्पपछि बनेका घरहरुमा खोपा घार बनाइएका छैनन् । त्यही कारण मौरी पालन केही घटेको वडाध्यक्ष राईले बताए ।

प्रतिक्रिया 4