+
फिफा विश्वकप २०२६ :

अर्जेन्टिना र इजिप्ट खेल्दै, सबैको नजर मेसीमै (प्रिभ्यू)

२०८३ असार  २३ गते ११:४६ २०८३ असार २३ गते ११:४६

यो खेल अमेरिकाको एटलान्टामा नेपाली समय अनुसार मंगलबार राती ९:४५ बजे सुरु हुनेछ । अर्जेन्टिना र इजिप्ट विश्वकपमा पहसलो पटक आमने सामने हुन लागेका हुन् ।

२३ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अफ्रिकन जायन्ट इजिप्टसँग खेल्दैछ । यो खेल अमेरिकाको एटलान्टामा नेपाली समय अनुसार मंगलबार राती ९:४५ बजे सुरु हुनेछ । अर्जेन्टिना र इजिप्ट विश्वकपमा पहिलो पटक आमने सामने हुन लागेका हुन् ।

दुवै टोलीले अन्तिम ३२ मा संघर्षपूर्ण जित निकालेका थिए । राउण्ड अफ ३२ मा अफ्रिकाको नवप्रवेशी केप भर्डेलाई ३-२ ले पराजित गर्दै अघि बढेको दक्षिण अमेरिकि जायन्ट अर्जेन्टिनाले अन्तिम १६ मा अर्को अफ्रिकी टिमसँग खेल्न लागेको हो ।

इजिप्टले भने एसियन कोटाबाट खेल्ने अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकपमा पहिलो पटक नकआउट खेल जितेको थियो ।

विश्व फुटबलकै सुपर स्टार लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना अहिले लयमा देखिएको छ ।

फिफा वरीयतामा नम्बर १ पोजिसनमा रहेको दक्षिण अमेरिकी महारथी अर्जेन्टिना १९औं पटक विश्वकप खेलिरहेको छ । यसअघि १८ संस्करण खेल्दा अर्जेन्टिनाले ३ पटक उपाधि जितेको थियो भने ३ पटक उपविजेता बनेको थियो ।

सन् १९३४ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदा सिधै अन्तिम १६ मा खेलेको इजिप्टले ९२ वर्षमा पहिलो पटक समूह चरण पार गर्दै यस विश्वकपमा नकआउट चरण खेलेको हो। नकआउटमा पहिलो जित समेत हात पारिसकेको छ । हाल इजिप्ट फिफा वरीयतामा २९औं स्थानमा छ ।

अहिले विश्वकपमा अर्जेन्टिनाले कुनै पनि खेल्दा वा जित्दा जहिले पनि लियोनल मेसीकै चर्चा हुन्छ । विपक्षी टिम मेसीलाई कसरी रोक्ने भन्ने तयारी गरिरहेका हुन्छन् भने अर्जेन्टिनाको टिम मेसीबाट कसरी बढी फाइदा लिने भन्नेमा हुन्छ । हरेक खेलमा केही न केही कीर्तिमान बनाइरहेका मेसीले ३९ वर्षको उमेर पनि विश्वकपमा जादुयी प्रदर्शन गरिरहेका छन् ।

अहिलेसम्मको यात्रा

साविक विजेता तथा तीन पटकको च्याम्पियन अर्जेन्टिनाले जारी विश्वकपमा खेलेको सबै चार खेल जितेको छ । समूह चरणमा अल्जेरियाला२ ३-० ले, अस्ट्रियालाई २-० ले र जोर्डनलाई ३-१ ले पराजित गरेको थियो ।

समूह चरणमा तीनै खेलमा सहज जित हात पारेको अर्जेन्टिनाले राउण्ड अफ ३२ मा डेब्युटान्ट केप भर्डेलाई अतिरिक्त समयमा ३-२ ले पराजित गरेको हो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले खेलेका चारवटै खेलमा गोल गर्दै संयुक्त रुपमा सर्वाधिक ७ गोल गरिसकेका छन् ।

अर्कोतर्फ ७ पटकको अफ्रिकन च्याम्पियन इजिप्टको पनि अहिलेसम्म अपराजित छ ।

समूह चरणमा बेल्जियमसँग १-१ को बराबरी खेलेका इजिप्टले न्युजिल्यान्डलाई ३-१ ले पराजित गरेको थियो भने इरानसँग १-१ को बराबरी खेलेको थियो ।

समूह जी को उपविजेताको रुपमा नकआउट चरणमा पुगेको इजिप्टले अस्ट्रेलियालाई पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गरेको थियो ।

इजिप्टका इमाम असौरले समूह चरणमा दुई गोल गरेका थिए ।

हेड टु हेड

अर्जेन्टिना र इजिप्ट विश्वकपमा अहिलेसम्म भिडेका छैनन् र यो पहिलो भेट हुनेछ । यस्तै समग्रमा भने यी दुई टोली तेस्रो पटक खेल्न लागेका हुन् ।

यसअघि भएको दुई खेल अर्जेन्टिनाले जितेको थियो ।

सन् १९२८ मा भएको ओलम्पिक फुटबलमा अर्जेन्टिनाले इजिप्टलाई ६-० ले पराजित गरेको थियो । पछिल्लो पटक सन् २००८ मा इजिप्टकै कायरोमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना २-० ले विजयी भएको थियो ।

टिम न्युज

अर्जेन्टिनाको टिममा कुनै ठूलो समस्या नभएपनि खेलाडीहरुले लगातार खेल्दा थकानको समस्या देखिएको छ । कप्तान मेसी र रोड्रिगो डे पउलले अन्तिम ३२ मा पूरा १२० मिनेट मैदानमा बिताएका थिए ।

लगातार खेल्दा खेलाडीहरुलाई रिकरभरी र समय व्यस्थापनको लागि केही चुनौती देखिएको छ ।

फुल ब्याक्स नाहुएल मोलिना र फकुन्डो मेडिनालाई पछिल्लो खेलमा केही समस्या देखिए पनि उनीहरु अर्को खेलका लागि तयार हुने अपेक्षा छ ।

यस्तै इजिप्टको टिममा पनि कुनै समस्या छैन । लेफ्ट ब्याक मोहमद अब्देलमोलेम र सेन्टर ब्याक अहमेद फातोह अन्तिम १६ मा खेल्ने सम्भावना कम रहेको टिम डिरेक्टर इब्राहिम हसनले जानकारी दिएका छन् ।

मोहमद सालाह पनि ह्याम्सट्रिङको समस्यासँग जुधिरहेका छन् ।

प्लेअर्स टु वाच

लियोनल मेसी यस विश्वकपमा सबैभन्दा चर्चित र हेर्न लायक खेलाडी हुन् । उनले विश्वकपको हरेक खेलमा नयाँ नयाँ कीर्तिमान बनाउँदै आएका छन् ।

सर्वाधिक ३० खेल खेल्ने सर्वाधिक २० गोल गर्ने लगातार ८ खेलमा गोल गर्ने, सर्वाधिक ६ विश्वकप खेल्ने जस्ता विभिन्न कीर्तिमान बनाइसकेका छन् ।

यस्तै सर्वाधिक असिस्ट गर्नेमा पनि संयुक्त रुपमा शीर्ष स्थानमा छन् । यदी इजिप्टविरुद्ध असिस्ट गरेमा उनी सर्वाधिक ९ असिस्ट गर्ने खेलाडी बन्नेछन् ।

यस विश्वकपमा मेसीले लगातार गोल गर्दै कीर्तिमान बनाए पनि फरवार्ड लाइनमा अन्य खेलाडीबाट गोल निस्कन सकेको छैन । विशेषरी लाउटारो मार्टिनेज र युलिजयन अल्भारेजले गोलका लागि संघर्ष गरिरहेका छन् । उनीहरुका लागि पनि नकआउटको खेलमा आफूलाई प्रमाणित गर्ने अवसर छ ।

मोहमद सालाह । इजिप्टका कप्तान र सबैभन्दा ठूला स्टार हुन् । क्लब फुटबलमा धेरै उपलब्धि हात पारिसकेका छन् । विश्वकपमा उनले आफ्नो टिमलाई पहिलो पटक नकआउट चरणमा पुर्‍याएका छन् ।

उनी मेसीको टिम अर्जेन्टिनाविरुद्ध खेल्दा इजिप्टका मुख्य खेलाडी हुनेछन् । यस्तै दुई गोल गरेका इमाम असौर पनि इजिप्टको हेर्न लायक खेलाडीको रुपमा छन् ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय