+
फिफा विश्वकप २०२६ :

अर्जेन्टिना र इजिप्ट खेल्दै, सबैको नजर मेसीमै (प्रिभ्यू)

२०८३ असार  २३ गते ११:४६ २०८३ असार २३ गते ११:४६

यो खेल अमेरिकाको एटलान्टामा नेपाली समय अनुसार मंगलबार राती ९:४५ बजे सुरु हुनेछ । अर्जेन्टिना र इजिप्ट विश्वकपमा पहसलो पटक आमने सामने हुन लागेका हुन् ।

२३ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अफ्रिकन जायन्ट इजिप्टसँग खेल्दैछ ।

यो खेल अमेरिकाको एटलान्टामा नेपाली समय अनुसार मंगलबार राती ९:४५ बजे सुरु हुनेछ । अर्जेन्टिना र इजिप्ट विश्वकपमा पहसलो पटक आमने सामने हुन लागेका हुन् ।

दुवै टोलीले अन्तिम ३२ मा संघर्षपूर्ण जित निकालेका थिए । राउण्ड अफ ३२ मा अफ्रिकाको नवप्रवेशी केप भर्डेलाई ३-२ ले पराजित गर्दै अघि बढेको दक्षिण अमेरिकि जायन्ट अर्जेन्टिनाले अन्तिम १६ मा अर्को अफ्रिकी टिमसँग खेल्न लागेको हो ।

इजिप्टले भने एसियन कोटाबाट खेल्ने अस्ट्रेलियालाई पेनाल्टीसुटआउटमा पराजित गर्दै विश्वकपमा पहिलो पटक नकआउट खेल जिथेको थियो ।

विश्व फुटबलकै सुपर स्टार लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना अहिले लयमा देखिएको छ र ३ पटकको विश्व विजेता अर्जेन्टिना ६४ वर्षपछि विश्वकपमा उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने लक्ष्यमा छ ।

फिफा वरियतामा नम्बर १ पोजिसनमा रहेको दक्षिण अमेरिकी महारथी अर्जेन्टिना १९औं पटक विश्वकप खेलिरहेको छ । यसअघि १८ संस्करण खेल्दा अर्जेन्टिनाले ३ पटक उपाधि जितेको थियो भने ३ पटक उपविजेता बनेको थियो ।

सन् १९३४ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदा सिधै अन्तिम १६ मा खेलेको इजिप्टले ९२ वर्षमा पहिलो पटक समूह चरण पार गर्दै यस विश्वकपमा नकआउट चरण खेलेको हो र नकआउटमा पहिलो जित समेत हात पारिसकेको छ । हाल इजिप्ट फिफा वरियतामा २९औं स्थानमा छ ।

अहिले विश्वकपमा अर्जेन्टिनाले कुनै पनि खेल्दा वा जित्दा जहिले पनि लियोनल मेसीकै चर्चा हुन्छ । विपक्षी टिम मेसीलाई कसरी रोक्ने भन्ने तयारी गरिरहेका हुन्छन् भने अर्जेन्टिनाको टिम मेसीबाट कसरी बढी फाइदा लिने भन्नेमा हुन्छ । हरेक खेलमा केही न केही कीर्तिमान बनाइरहेका मेसीले ३९ वर्षको उमेर पनि विश्वकपमा जादुयी प्रदर्शन गरिरहेका छन् ।

अहिलेसम्मको यात्रा

साविक विजेता तथा तीन पटकको च्याम्पियन अर्जेन्टिनाले जारी विश्वकपमा खेलेको सबै चार खेल जितेको छ । समूह चरणमा अल्जेरियाला२ ३-० ले, अस्ट्रियालाई २-० ले र जोर्डनलाई ३-१ ले पराजित गरेको थियो ।

समूह चरणमा तीनै खेलमा सहज जित हात पारेको अर्जेन्टिनाले राउण्ड अफ ३२ मा डेब्युटान्ट केप भर्डेलाई अतिरिक्त समयमा ३-२ ले पराजित गरेको हो । ,

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले खेलेका चारवटै खेलमा गोल गर्दै संयुक्त रुपमा सर्वाधिक ७ गोल गरिसकेका छन् ।

अर्कोतर्फ ७ पटकको अफ्रिकन च्याम्पियन इजिप्टको पनि अहिलेसम्म अपराजित छ ।

समूह चरणमा बेल्जियमसँग १-१ को बराबरी खेलेका इजिप्टले न्युजिल्यान्डलाई ३-१ ले पराजित गरेको थियो भने इरानसँग १-१ को बराबरी खेलेको थियो ।

समूह जी को उपविजेताको रुपमा नकआउट चरणमा पुगेको इजिप्टले अस्ट्रेलियालाई पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गरेको थियो ।

इजिप्टका इमाम असौरले समूह चरणमा दुई गोल गरेका थिए ।

हेड टु हेड

अर्जेन्टिना र इजिप्ट विश्वकपमा अहिलेसम्म भिडेका छैनन् र यो पहिलो भेट हुनेछ । यस्तै समग्रमा भने यी दुई टोली तेस्रो पटक खेल्न लागेका हुन् ।

यसअघि भएको दुई खेल खर्जेन्टिनाले जितेको थियो ।

सन् १९२८ मा भएको ओलम्पिक फुटबलमा अर्जेन्टिनाले इजिप्टलाई ६-० ले पराजित गरेको थियो । पछिल्लो पटक सन् २००८ मा इजिप्टकै कायरोमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना २-० ले विजयी भएको थियो ।

टिम न्युज

अर्जेन्टिनाको टिममा कुनै ठूलो समस्या नभएपनि खेलाडीहरुले लगातार खेल्दा थकानको समस्या देखिएको छ । कप्तान मेसी र रोड्रिगो डे पउलले अन्तिम ३२ मा पूरा १२० मिनेट मैदानमा बिताएका थिए ।

लगातार खेल्दा खेलाडीहरुलाई रिकरभरी र समय व्यस्थापनको लागि केही चुनौती देखिएको छ ।

फुल ब्याक्स नाहुएल मोलिना र फकुन्डो मेडिनालाई पछिल्लो खेलमा केही समस्या देखिएपनि उनीहरु अर्को खेलका लागि तयार हुने अपेक्षा छ ।

यस्तै इजिप्टको टिममा पनि कुनै समस्या छैन । मोहम्मद लासिन पहेँलो कार्डको ल्मबनपछि टिममा उपलब्ध छन् । लेफ्ट ब्याक मोहमद अब्देलमोलेम र सेन्टर ब्याक अहमेद फातोह अन्तिम १६ मा खेल्ने सम्भावना कम रहेको टिम डिरेक्टर इब्राहिम हसनले जानकारी दिएका छन् ।

मोहमद सालाह पनि ह्याम्सट्रिङको समस्यासँग जुधिरहेका छन् ।

प्लेअर्स टु वाच

लियोनल मेसी यस विश्वकपमा सबैभन्दा चर्तित र हेर्न लायक खेलाडी हुन् । उनले वश्वकको हरेक खेलमा नयाँ नयाँ कीर्तिमान बनाउँदै आएका छन् ।

सर्वाधिक ३० खेल खेल्ने सर्वाधिक २० गोल गर्ने लगातार ८ खेलमा गोल गर्ने, सर्वाधिक ६ विश्वकप खेल्ने जस्ता विभिन्न कीर्तिमान बनाइसकेका छन् ।

यस्तै सर्वाधिक असिस्ट गर्नेमा पनि संयुक्त रुपमा शीर्ष स्थानमा छन् । यदी इजिप्ट विरुद्ध असिस्ट गरेमा उनी सर्वाधिक ९ असिस्ट गर्ने खेलाडी बन्नेछन् ।

यस विश्वकपमा मेसीले लगातार गोल गर्दै कीर्तिमान बनाएपनि फरवार्ड लाइनमा अन्य खेलाडीबाट गोल निस्कन सकेको छैन । विशेषरी लाउटारो मार्टिनेज र युलिजयन अल्भारेजले गोलका लागि संघर्ष गरिरहेका छन् । उनीहरुका लागि पनि नकआउटको खेलमा आफूलाई प्रमाएत गर्ने अवसर छ ।

मोहमद सालाह । इजिप्टका कप्तान र सबैभन्दा ठूला स्टार हुन् । क्लब फुटबलमा धेरै उपलब्धि हात पारिसकेका छन् । विश्वकपम उनले बफ्नो टिमलाई पहिलो पटक नकआउट चरणमा पुर्‍याएका छन् ।

मेसीको टिम अर्जेन्टिना विरुद्ध खेल्दा इजिप्टका मुख्य खेलाडी हुनेछन् । यस्तै दुई गोल गरेका इमाम असौर पनि इजिप्टको हेर्न लायक खेलाडीको रुपमा छन् ।

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय