+
फिफा विश्वकप २०२६ :

प्रिक्वाटरफाइनलको अन्तिम खेलमा स्विट्जरल्यान्ड र कोलम्बिया भिड्दै (प्रिभ्यू)

२०८३ असार  २३ गते १३:०९ २०८३ असार २३ गते १३:०९

२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ को अन्तिम खेलमा स्विट्जरल्यान्ड र कोलम्बिया मंगलबार बिहान पौने २ बजे क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा प्रतिस्पर्धा हुँदैछ ।

यो खेलपछि विश्वकपमा नयाँ थपिएको राउण्ड अफ ३२ को सबै खेल खेल सकिनेछ र अन्तिम ८ मा पुग्ने टोलीहरुको पनि टुङ्गो लाग्नेछ ।

साथै जारी विश्वकपमा क्यानडामा खेलिने पनि यो अन्तिम खेल हुनेछ । क्वाटरफाइनलमा पुग्ने लक्ष्यसहित स्विटरजरल्यान्ड र कोलम्बिया प्रतिस्पर्धामा उत्रँदैछन् ।

स्विट्जरल्यान्ड र कोलम्बिया दुवैले अन्तिम ३२ को खेलमा अफ्रिकन टोलीलाई पराजित गरेका थिए । स्विस टोलीले अल्जेरिया र कोलम्बियाले घानालाई हराएर अन्तिम १६ मा भेट पक्का गरेका हुन् ।

१३ औं पटक विश्वकपमा सहभागि भइरहेको स्विट्जरल्यान्डले सन् १९३४ र १९३८ मा लगातार दुई पटक क्वाटरफाइनल खेलेको थियो अहिलेसम्म तीन पटक वाटरफाइनल खेलेको छ ।

सन् १९५४ मा पछिल्लो पटक विश्वकपको क्वाटरफाइनल खेलेको स्विट्जरल्यान्डले त्यसयता क्वाटरफाइनलमा पुग्न सकेको छैन । ७२ वर्षपछि स्विटजरल्यान्ड विश्वकपको क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा छ । पछिल्लो पाँच विश्वमपा स्विटजरल्यान्ड चार पटक अन्तिम १६ मा पुगेर बाहिरिएको थियो भने सन् २०१० मा समूह चरणबाटै बाहिरिएको थियो ।

सातौं पटक विश्वकप खेलिरहेको दक्षिण अमेरिकी टिम कोलम्बिया भने दोस्रो पटक क्वाटरफाइनल पुग्ने लक्ष्यमा छ । सन् २०१४ मा ब्राजिलमै भएको विश्वकपमा क्वाटरफाइनल पगेको कोलम्बियाले ब्राजिलसँग पराजित हुँदै बाहिरिएको थियो ।

सन् २०१६ भा अन्तिम पटक विश्वकप खेल्दा अन्तिम १६ बाटै बाहिरिएको कोलम्बिया २०२२ मा भने छनोट नै भएन ।

दुई अपराजित टिम, दुई फरक महादेशको फरक प्लेइङ स्टाइलबीचको यो खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

अहिलेसम्मको यात्रा

स्विट्जरल्यान्ड समूह बी को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । स्विट्जरल्यान्डले समूह चरणको पहिलो खेलमा कतारसँग १-१ को बराबरी खेलेको थियो । त्यसपछि बोस्निया एण्ड हर्जगोभिनालाई दोस्रो खेलमा ४-१ ले पराजित गरेको स्विस टोली  तेस्रो खेलमा भ्यानकुभरमै सहबयोजक क्यानडालाई २-१ ले पराजित गर्दै अपराजित रहेको थियो ।

राउण्ड अफ ३२ मा स्विट्जरल्यान्डले अल्जेरियालाई २-० ले पराजित गरेको थियो ।

यस्तै कोलम्बिया पनि समूह के को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । कोलम्बियाले पहिलो खेलमा उज्वेकिस्तानलाई ३-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा डिआर कंगोलाई १-० ले हराएको थियो ।

तेस्रो खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेलेको कोलम्बया समूह विजेता बनेको थियो । राउण्ड अफ ३२ मा कोलम्बियाले अफ्रिकन टोली घानालाई १-० ले पराजित गरेको थियो ।

हेड टु हेड

स्विट्जरल्यान्ड र कोलम्बिया फिफा विश्वकपमा भिड्न लागेको यो दोस्रो पटक हो । यसअघि सन् १९९४ मा अमेरिकामै भएको विश्वकपमा पहिलो पटक भेट हुँदा कोलम्बियाले स्विट्जरल्यान्डलाई २-० ले पराजित गरेको थियो ।

समहग्रमा भने यी दुई टोलीबीच अहिलेसम्म चार खेल हुँदा कोलम्बियाले २ र स्विट्जरल्यान्डले १ खेल जितेका छन् भने १ खेल बराबरीमा सकिएको छ । पछिल्लो पटक सन् २००७ मा अमेरिकामै भएको मैत्रीपूर्ण खेल कोलम्बियाले ३-१ ले जितेको थियो ।

टिम न्युज

दुवै टोलीमा कुनै खेलाडी सस्पेन्समा छैनन् । स्विट्जरल्यान्डका माइकल अबिसर लुका जाक्वेज मंसपेशीको चोटसँग संघर्ष गरिरहेका छन् । यदी उनीहरु फिट नभएमा रेमो फ्रुएलर र कप्तान ग्रानिट जाका मिडफिल्डमा एन्कर रोलमा हुनेछन् ।

कोलम्बियाका जोन कोर्डोबा चोटका कारण विश्वकपबाट बाहिरिसकेका छन् । लुइस स्वारेज सेन्टर फरवार्डको रोलमा खेल्नेछन् । यस्तै स्टार जेम्स रोड्रिगेज पनि केही विरामी छन् । रोड्रिगेज फिट नभएमा ज्वान क्विन्टेरोले खेल्नेछन् ।

प्लेअर्स टु वाच

स्विट्जरल्यान्डका कप्तान जाका टिमकको महत्वपूर्ण खेलाडी हुन् । टिमले कस्तो खेल खेल्न चाहन्छ भन्ने कुरा धेरै जसो जाकामै निरभ्र रहन्छ । उनी बल पोसेसन जित्दै आफ्नो टिममेटको लागि अट्याकिङ थर्डमा बल उपलब्ध गराउन माहिर छन् र डिफेन्डिङमा पनि राम्रो छन् । उनीबाट टिमले पछिल्लो खेलमा अल्जेरियासँग जस्तै खेलको अपेक्षा टिमले राखेको छ ।

यस्तै यस विश्वकपमा ब्रेकआउट स्टारको रुपमा रहेका २० वर्षिय जोहान मान्जाम्बीमा पनि सबैको नजर हुनेछ । उनले पछिल्लो तीन खेलमा ३ गोल गर्नुका साथै २ असिस्ट समेत गरेका छन् ।

नेस्टर लोरेन्जोको टिम कोलम्बियाका लागि लुइस डियाज मुख्य खेलाडी हुन् । कोलम्बियामा अहिले नेसनल आइकद्दको रुपमा रहेको उनी टिमको मुख्य हतियार हुन । जर्मन क्लब बायर्न म्युनिखमा उत्कृष्ट सिजन बिताएर उनी विश्वकपमा आएका छन् ।

डियाजसँगै फरवार्ड लुइस स्वारेज पनि हेर्न लायक खेलाडीको रुपमा छन् । उनले घाना विरुद्ध पछिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

फिफा विश वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय