एक्सले आफ्नो आईओएस मोबाइल एपमा भिडियो रेकर्डिङ र एडिटिङका लागि नयाँ युजर इन्टरफेस सार्वजनिक गरेको छ। यो अपडेट गरिएको एडिटरमा मल्टि-ल्याङ्ग्वेज क्याप्सन र ‘ग्रीन स्क्रिन’ रेकर्डिङ जस्ता धेरै महत्त्वपूर्ण र उपयोगी सुविधाहरू थपिएका छन्।
यस नयाँ भिडियो क्याप्चर प्रणालीमा थपिएका फिचरहरूलाई एउटा सहज ओभरलेमा एकीकृत गरिएको छ । जसले गर्दा प्रयोगकर्ताहरूलाई एपमा भिडियोहरू पोस्ट गर्नका लागि थप रचनात्मक विकल्पहरू मिल्नेछन्।
एक्सका प्रडक्ट हेड निकिता बियरका अनुसार, भिडियो प्लेयर र एडिटरलाई अपडेट गर्दै यसमा नयाँ विकल्पहरू थप्ने कार्यलाई कम्पनीले विशेष प्राथमिकतामा राखेको छ। बियरले क्रिएटरहरूलाई ओरिजनल कन्टेन्ट बनाउनका लागि आवश्यक टुलहरू उपलब्ध गराउनु र उनीहरूलाई पुरस्कृत गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको बताएका छन् । र, आगामी हप्ताहरूमा भिडियो एडिटरमा अझ धेरै नयाँ अपडेटहरू आउन लागेको जानकारी दिएका छन्।
एक्सले विगत दुई वर्षदेखि आफ्नो प्लेटफर्ममा भिडियोलाई मुख्य केन्द्रविन्दु बनाउने प्रयास गरिरहेको छ। यसअघि कम्पनीले एपको तल्लो फङ्सन बारमा छुट्टै ‘भिडियो ट्याब’ को परीक्षण गर्नुका साथै धेरै ओरिजनल भिडियो कन्टेन्टहरूका लागि विभिन्न सम्झौताहरू समेत गरेको थियो।
सन् २०२४ मा एक्सकी तत्कालीन सीईओ लिन्डा याकारिनोले एक्स अब एउटा ‘भिडियो फर्स्ट प्लेटफर्म’ भएको दाबी गरेकी थिइन् । र, एपमा भिडियो हेर्ने दर्शकहरूको संख्यामा उल्लेखनीय वृद्धि हुनुले प्रयोगकर्ताहरूको व्यवहारमा ठूलो परिवर्तन आएको सङ्केत गरेको बताएकी थिइन्।
याकारिनोको सो दाबीका बावजुद, एक्सले आफूलाई पूर्ण रूपमा भिडियोमा केन्द्रित टुलको रूपमा स्थापित गर्न खासै ठूलो काम गर्न सकेको थिएन। केवल मौखिक प्रचारकै भरमा टिकटकको प्रतिस्पर्धी बन्न सकिन्छ भन्ने आशा राखेको देखिन्थ्यो।
तर त्यो रणनीतिले काम गरेन र एक्सको भिडियो प्रयोगकर्ताको संख्या अझै पनि टिकटक, इन्स्टाग्राम र युट्युबको तुलनामा निकै पछाडि छ। यद्यपि, अहिले ल्याइएको यो सरल र व्यवस्थित भिडियो पोस्टिङ विकल्पले गर्दा धेरै एक्स प्रयोगकर्ताहरू भिडियो सामग्री पोस्ट गर्न आकर्षित हुन सक्छन् । जसले प्लेटफर्मलाई भिडियोको क्षेत्रमा थप बलियो बन्न सहयोग पुर्याउनेछ।
प्रतिक्रिया 4