२३ असार, काठमाडौं । सरकार फेरिए, विकास र सुशासनका नयाँ प्रतिबद्धता पनि आए। तर ‘असारे विकास’को प्रवृत्ति भने फेरिएको छैन।
यस वर्ष पनि सिरहामा विकास गर्ने पुरानै शैली पुनरावृत्ति भएको छ । आर्थिक वर्ष २०८२/०८३ सकिन केही दिन मात्र बाँकी रहँदा जिल्लाका विभिन्न स्थानीय तहमा रातारात सडक तथा नाला ढलान, मन्दिर तथा पोखरी सौन्दर्यीकरण जस्ता विकास निर्माणका काम भइरहेका छन्।
यस्ता काम कुन निकायबाट भएको हो, कुनै सूचना वा जानकारी निर्माणस्थलमा राखेको पाइँदैन। अधिकांश योजनास्थलमा अनिवार्य रूपमा राखिनुपर्ने सूचनापाटी छैन। जसका कारण योजना कसको हो, कति बजेटको हो, कसले निर्माण गरिरहेको छ र काम सम्पन्न गर्ने अवधि कति हो भन्ने सामान्य जानकारीसमेत स्थानीयले पाउन सकेका छैनन्। जसका कारण विकास निर्माणको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।
मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको करिब २० लाख रुपैयाँ लागतमा गोलबजार नगरपालिका–११ बल्कवास्थित रेडक्रस क्षेत्रमा निर्माणाधीन १०६ मिटर सडक आरसीसी शनिबार ढलान राति करिब १२ बजे गरियो ।
स्थानीयका अनुसार रातिको समयमा हतार–हतार गरिएको ढलानमा आवश्यक रड जालीसमेत प्रयोग गरिएको छैन।
स्थानीय शेख खानले आफ्नै घर अगाडि ढलान भइरहेको भए पनि उपभोक्ता समिति, बजेट वा योजनाबारे कुनै जानकारी नभएको बताए। वडाध्यक्षको आग्रहमा निर्माणका लागि पानी उपलब्ध गराएको भए पनि योजनासम्बन्धी विवरण आफूलाई थाहा नभएको उनको भनाइ छ।

अर्का स्थानीय नसिम शेखका अनुसार सडकको घुमाउरो भाग केही फराकिलो बनाउन सुझाव दिएपछि त्यसअनुसार काम गरिएको भए पनि मध्यरातमा ढलान गर्नुको कारणबारे अनविज्ञता प्रकट गरे। ‘दिनभर काम गर्न सकिने अवस्थामा राति किन ढलान गरियो भन्ने बुझ्न सकेका छैनौं’, उनले भने।
यता, वडा नम्बर ११ का अध्यक्ष सोहेव अनवरले घुमाउरो भागमा रड र जालीबिनाको ढलान गरिएको स्वीकार गरे । उनले फराकिलो बनाउनुपर्ने भएकाले उक्त स्थानमा मात्रै रड प्रयोग नगरिएको र अन्य भागमा भने मापदण्डअनुसार काम भइरहेको दाबी गरे।
गोलबजार नगरपालिका–४ मा पनि आर्थिक वर्ष सकिनुअघि बजेट खर्च गर्न हतार गरिएको भन्दै स्थानीयले आलोचना गरेका छन्। मधेश प्रदेश सरकार योजनाअन्तर्गत क्याम्पस रोडदेखि लम्बोदर दाहालको घरसम्म १२० मिटर नाला ढलानसमेत रातिको समयमा गरिएको स्थानीयको भनाइ छ।
सोही वडाको गौतम होटलदेखि भित्री सडकमा वडास्तरीय योजनाअन्तर्गत आवश्यक कार्यादेश र प्राविधिक स्वीकृतिबिनै निर्माण भइरहेको आरोप पनि लागेको छ।
वडाध्यक्ष सकलदेव यादवले वडाभरि सडक मर्मत–सम्भार तथा स्तरोन्नतिका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको र कोटेसनमार्फत काम भइरहेको बताए। तर कोटेसन कसलाई दिइएको भन्ने विषयमा नगरपालिकाबाट जानकारी लिन आग्रह गरे।
नगरपालिकाका सब इन्जिनियर श्रीराम साहले भने उक्त सडकमा भइरहेको निर्माणबारे जानकारी पाए पनि आफूले कुनै कार्यादेश वा प्राविधिक स्वीकृति नदिएको बताए। ‘कुन आधारमा काम भइरहेको हो भन्नेबारे मलाई जानकारी छैन,’ उनले भने। यस विषयमा पुनः प्रतिक्रिया माग्दा वडाध्यक्ष यादव बोल्न चाहेनन्।

उता, सिरहा नगरपालिका-७ मा पनि आर्थिक वर्षको अन्तिम समयमा सडक आरसीसी ढलान तथा नाला निर्माणको काम तीव्र पारिएको छ। आयुष्मान निर्माण सेवाले १ करोड ३३ लाख १७ हजार ४२८ रुपैयाँ ६७ पैसामा ठेक्का पाएको उक्त योजना २०८३ असार मसान्तसम्म सम्पन्न गर्ने सम्झौता भए पनि अन्तिम समयमा निर्माण थालिएको छ।
लहान नगरपालिका–१ मा निर्माणाधीन पीसीसी सडक तथा नाला योजनामा पनि स्टिमेटअनुसार काम नभएको आरोप स्थानीयले लगाएका छन्। स्थानीय प्रेम साहले गुणस्तर कायम नगरिएको, प्राविधिक मापदण्ड पालना नभएको तथा बजेट दुरुपयोग हुन सक्ने भन्दै निष्पक्ष प्राविधिक अनुगमनको माग गरेका छन्।
निर्माणस्थलमा सूचनापाटी नराख्दा शंका झन् बढाएको छ। लागत, स्रोत, निर्माण कम्पनी वा उपभोक्ता समिति, सम्झौता मिति र सम्पन्न हुने अवधि उल्लेख गरिएको बोर्ड नदेखिएकाले जनताले योजनाको आधारभूत जानकारीसमेत पाउन नसकेको गुनासो छ।
गोलबजार नगरपालिका–८ का स्थानीय युवा शिव यादव भन्छन्, ‘सूचनापाटी नै नराखिएपछि कुन योजना हो, कति बजेट हो, कसले काम गरिरहेको छ भन्ने कसरी थाहा हुन्छ ? यसले सुशासनमा नै प्रश्न उठाएको छ।’
भौतिक पूर्वाधार विकास कार्यालय, सिरहाका इन्जिनियर शेखरमणि सिंहले भने रातिको समयमा निर्माण कार्य गर्नु कुनै बाध्यता नभएको स्पष्ट पारे।

‘सबै योजनामा राति काम नगर्न हामीले निर्देशन दिएका छौं। यदि जनप्रतिनिधि वा उपभोक्ता समितिले त्यसरी काम गरेको पाइयो भने प्राविधिक नापजाँच र गुणस्तर परीक्षणपछि मात्रै भुक्तानी प्रक्रिया अघि बढ्छ। मापदण्ड पूरा नगरेका योजनाको भुक्तानी रोकिने छ,’ उनले भने।
हतारमा गरिने निर्माण कार्यको गुणस्तर प्रभावकारी नहुने अवकाश प्राप्त डिभिजनल इन्जिनियर देवनाथ महतोले बताए। उनले भने, ‘हतारमा गरिने कामको क्वालिटी कन्ट्रोल गर्न समस्या हुन्छ। कुनै पनि निर्माण कार्यले निश्चित समयावधिको माग गर्छ। तर हतारमा गरिने कामले भौतिक प्रगति देखिएला तर त्यसको गुणस्तर भने प्रभावकारी हुँदैन।’
उनले कर्मचारीहरूको मानसिकता नै गलत भएकोले यो अन्तिम समयमा काम हुने गरेको बताए। उनले भने, ‘गर्नुपर्ने काम समयमै गर्दा भइहाल्यो नि । तर कर्मचारीहरू विभिन्न बहाना बनाएर आलटाल गरिरन्छन्। अहिले अन्तिममा आएर हतार हतार काम गरिरहेका छन्। यसले राम्रो सन्देश दिइरहेको छैन।’
हतारको बेला नियमित अनुगमन, प्राविधिक परीक्षण, सूचना सार्वजनिकीकरण गर्न पनि सक्ने अवस्था नहुने उनले बताए । यसप्रति जिम्मेवार निकायको जवाफदेहिता कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ ।
सिरहाका विभिन्न स्थानीय तहमा देखिएका यी घटनाले सरकार परिवर्तन भए पनि विकास निर्माण गर्ने कार्यशैली नबदलिएको सन्देश दिएका छन्। हतारमा काम, रातारात ढलान, सूचनापाटीविहीन योजना र प्रक्रियामाथि उठेका प्रश्नहरूले ‘असारे विकास’को पुरानै प्रवृत्ति कायम रहेको देखिन्छ ।

प्रतिक्रिया 4