२३ असार, काठमाडौं । साविक विजेता यानिक सिनर विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको क्वार्टरफाइनलमा विश्व नम्बर एक सिनरले जर्मनीका जान-लेनार्ड स्ट्रफलाई ७-५, ७-६ (७-४), ६-३ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरे ।
२४ वर्षीय सिनरले प्रतियोगितामा अहिलेसम्मकै आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै एक घण्टा ५६ मिनेटमा जित निकाले । यससँगै उनले विम्बल्डनमा लगातार १२ खेल जित्ने कीर्तिमान पनि कायम राखेका छन् । यो सिलसिला गत वर्षको उपाधि यात्रादेखि जारी छ ।
यस जितसँगै सिनरले २५ वर्षको उमेर नपुग्दै ग्रान्ड स्लामको १०औं सेमिफाइनल खेल्ने उपलब्धि पनि हासिल गरेका छन् । सन् २००० यता २५ वर्षअघि नै १० ग्रान्ड स्लाम सेमिफाइनल पुग्ने उनी पाँचौं खेलाडी बनेका छन् । यसअघि यो उपलब्धि रोजर फेडेरर, राफायल नाडाल, नोभाक जोकोभिच र कार्लोस अल्काराजले मात्र हासिल गरेका थिए ।
सिनरले अब सेमिफाइनलमा क्यानडाका फेलिक्स अगर-अलियासिम र सर्बियाका नोभाक जोकोभिचबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।
सन् २०२६ मा सिनरको यो ४२औं जित हो । पछिल्ला ३६ खेलमध्ये उनले ३५ खेलमा जित हात पार्दै उत्कृष्ट लय कायम राखेका छन् ।
प्रतिक्रिया 4