२३ असार, काठमाडौं । नेपालमै पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक टिकेटिङ पार्टनरमा आईएमइ खल्ती लिमिटेडलाई जोडिएको छ ।
नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय र खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले विश्व भलिबल दिवसको अवसर पारेर मंगलबार सम्झौता पत्रमा हस्ताक्षरगरे ।
सम्झौता हस्ताक्षर कार्यक्रममा एनभीएलका सीओओ विकास खेतान तथा खल्तीका सीओओ पुष्पराज न्यौपानेको पनि उपस्थिति रहेको थियो ।
केडिया ग्रुपको आयोजनामा हुने एनभीएलका रोमाञ्चक खेल हेर्न खल्ती एप मार्फत टिकट खरिद गर्न सकिने छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलको प्रवेशद्धारमा राखिने काउन्टरबाट पनि भौतिक रुपमा टिकट खरिद गर्न सकिने छ । टिकट दर चाँडै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
जुलाई ७ विश्व भलिबल दिवसकै दिन यो सम्झौता हुनु खुशीको क्षणका रुपमा रहेको आयोजकले जनाएको छ ।
भदौमा हुने तय भएको एनभीएलको पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोलीको नाम यसअघि नै सार्वजनिक भइसकेको छ ।
सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्सले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4