२४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले पानी नपाए काठमाडौँतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् ।
बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दा काकाकुल हुनुपरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । सांसद पाण्डेले मेलम्चीको मुहान क्षेत्र र ड्याम रहेको सुन्दरीजल तथा गोकर्णेश्वरका बासिन्दाले पानी उपभोग गर्न नपाएको गुनासो गरे ।
खानेपानी वितरण प्रणालीमा कर्मचारी र प्राविधिकहरूको मिलेमतो रहेको आरोप लगाउँदै यसले गर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको जानकारी गराए ।
र्मचारीहरूले आफ्नो मनलाग्दो ढंगले केही टोलमा पानी छोड्ने र केहीमा नछोड्ने गरेको भन्दै उनले संयन्त्रको लापरबाहीप्रति आपत्ति जनाए ।
‘ड्याम गोकर्णेश्वरमा छ, तर त्यहाँका १ देखि ९ वडाका बासिन्दा पानी नपाएर तड्पिरहेका छन् । मुहान क्षेत्रका बासिन्दाले पानी खान नपाउने तर त्यहीँबाट अन्यत्र पानी पठाउने कार्य अब सह्य हुँदैन । यदि स्थानीयको समस्या तत्काल सम्बोधन नभए हामी ड्याम नै बन्द गरेर पानी रोक्न बाध्य हुनेछौं,’ उनले भने, ‘म अन्य नेताजस्तो आश्वासन मात्र दिने पक्षमा छैन, यदि गोकर्णका जनताले पानी पाउँदैनन् भने म आफैं अगाडि लागेर पानी रोक्नेछु ।’
आरुबारी क्षेत्रमा निर्माणाधीन २ करोड लिटर क्षमताको पानी ट्याङ्कीको ठेक्का रद्ध भएर नयाँ प्रक्रियामा जान लागेको सन्दर्भ जोड्दै सांसद पाण्डेले दोस्रो चरणको पाइपलाइन विस्तारमा भइरहेको ढिलाइले स्थानीय थप मर्कामा परेको बताए ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र आयोजनाका इन्जिनियर तथा कर्मचारीहरूलाई कार्यशैली सुधार्न आग्रह पनि गरे ।
प्रतिक्रिया 4