+
+
Shares

अभिषेक गिरीको दादागिरी : कारागार भित्र–बाहिरै त्रास, धम्क्याएरै काठमाडौंको घर कब्जा

गिरी तिनै व्यक्ति हुन् जो अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद बसी ५ चैत २०७९ मा कारागारबाट छुटेका थिए । उनी मोरङ कारागारमा हुँदा चौकीदार थिए । छुटेपछि कैदीबन्दीको सुविधा आफूले लिए ।

नारायण अधिकारी हरि अधिकारी नारायण अधिकारी, हरि अधिकारी
२०८३ असार २४ गते २०:१६

२४ असार, काठमाडौं । कुनै समय गुण्डा नाइकेका रूपमा चर्चा पाएका अभिषेक गिरीले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद बसेर ५ चैत २०७९ छुट्दा भनेका थिए, ‘हिजो अन्जानमा गल्ती भयो । अब सामाजिक काममा लाग्छु ।’

गल्ती महसुस गरेका उनले समाजसेवा गर्ने भन्दै गिरी फाउन्डेसन खोले । गाउँ–टोल तथा दु:खीलाई सहयोग गर्ने उनको शैलीले केहीलाई आश्चर्यचकित बनायो । गिरीको समाजसेवा ‘रत्नाकार डाकु पनि वाल्मिकी ऋषि बन्न सक्छ’ भन्ने उदाहरण जस्तै देखिन थाल्यो । कारागार बसेर निस्केपछि सुध्रिएको उनको आनीबानीले यस्तै देखाउँथ्यो ।

तर, विस्तारै समाजसेवाको आवरणमा गिरीले पुरानै धन्दा चलाइरहेको खुल्यो । पुरानो छविलाई ढाक्न समाजसेवा गरे जस्तो गर्ने तर भित्री व्यवहार भने आपराधिक नै रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

कतिसम्म भने, कारागारबाट निस्केका गिरीको दादागिरी कारागार भित्रदेखि बाहिरसम्मै फैलिएको छ । कारागारबाट निस्केपछि पनि मोरङ कारागार भित्रको शासन भने गिरीले नै चलाउँथे । त्यति मात्र होइन, कोशीको राजधानीमा गिरीले चलाएको दादागिरीको साइनो काठमाडौंसम्म फैलिएको छ ।

गिरीको दादागिरी काठमाडौंसम्म फैलिएपछि अनुसन्धानको सबैभन्दा ठूलो विशिष्टकृत इकाइ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई काठमाडौं ल्याएर अनुसन्धान अघि बढाएको छ । सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराका अनुसार अहिले गिरीमाथि ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

धम्क्याएरै घर कब्जा

गिरीले धम्क्याएरै काठमाडौंमा घर कब्जा गरेको सीआईबीले बताएको छ । श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीका सञ्चालक तथा निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई गिरीले विभिन्न व्यक्तिसँग चिनजान तथा पहुँचका आधारमा ठेक्का पारिदिने भन्दै ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप छ ।

यति मात्रै होइन, श्रेष्ठलाई परेको ठेक्का आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिमार्फत सम्पन्न गरिदिने भन्दै त्यस वापत रकम लिएको तर काम भने नगरी ठगी गरेको देखिएको एक अनुसन्धान अधिकृत बताउँछन् ।

सुभाष श्रेष्ठका सवारी साधनदेखि घरसम्म कब्जा लिएको आरोप गिरीमाथि छ । ‘निर्माणमा प्रयोग हुने सवारी साधानहरूसमेत उनले कब्जामा लिएका छन् । केही सवारी कवाडीलाई पनि बेचेको भेटिएको छ,’ ती अनुसन्धान अधिकृतले भने, ‘यी सबै काम उनले पुरानो आपराधिक पृष्ठभूमिको आडमा धम्की दिएर गरेको देखिन्छ । कारागारबाट छुटेपछि पनि उनको रजगज पहिलेकै जस्तो देखिएको छ ।’

ठेक्का र सवारी साधन मात्रै होइन, काठमाडौंकै घरजग्गादेखि चेकसम्म कब्जामा लिएर राजीनामा पास गराएको अनुसन्धानका क्रममा खुलेको छ ।

केही सवारी सधानहरू कब्जामा लिएको, काठमाडौंको घरजग्गा राजीनामा पास गरी लिएको तथा चेक काट्न लगाएको आरोप रहेको प्रहरीले बताएको छ । ‘काठमाडौं बूढानीलकण्ठमा रहेको करिब साढे ४ करोड पर्ने घरसमेत धम्क्याएरै राजीनामा पास गर्न लगाएको देखिन्छ,’ ती अधिकृत भन्छन्, ‘पीडितका अनुसार धम्की दिएरै खाली चेक पनि लिएको भेटिएको छ ।’

गिरीको दादागिरीबाट आजित भएपछि आफूले उजुरी दिएको श्रेष्ठले बताएका छन् । उनै श्रेष्ठको जाहेरीको आधारमा २२ असारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर गिरीमाथि अनुसन्धान अघि बढाइएको हो ।

गिरीले दबाब दिएपछि श्रेष्ठले काठमाडौं बूढानीलकण्ठ न‍गरपालिका–७ को कि.नं. १०३९ मा बनेको घर कान्छी श्रीमती सोनु आर्चायको नाममा पास गरिदिएका थिए । गिरीले श्रेष्ठको घर ६ महिनाअघि श्रीमतीको नाममा पास गराएको बताइएको छ ।

एक वर्षअघि गिरीले श्रेष्ठसँग दुई वटा खाली चेक लिएका थिए । एउटा खाली चेकमा चन्द्रकुमार शाहको नाममा ५ करोड ४५ लाख ६० हजार ५०५ रुपैयाँ राखेर चेक बाउन्स गराएको पीडितको दाबी छ । चेक बाउन्सको जाहेरी जिल्ला प्रहरी कार्यालय मोरङमा पनि दर्ता भएको छ । गिरीले अर्को खाली चेक भने अझै आफैंसँग राखेका छन् ।

श्रेष्ठले हेटौंडाको घरजग्गा बिक्री गर्न खोज्दा पनि गिरीले नै हस्तक्षेप गरेका छन् । विनोदकुमार गुप्तालाई १ करोड ५० लाख रुपैयाँमा बिक्री बैना गर्दा बैना वापतको ५० लाख रुपैयाँको चेक पनि अभिषेक गिरीले आफ्नो नाममा लिएको श्रेष्ठको जाहेरीमा उल्लेख छ ।

श्रेष्ठसँग कसरी जोडिए गिरी ?

निर्माण व्यावसायी श्रेष्ठ र गिरीबीच विवादको सुरुवातको कारण भने हुलाकी सडक ठेक्कबाट सुरु हुन्छ । हुलाकी सडकको हाटखोला–कटहरी खण्डको करिब ६ किलोमिटर खण्ड वर्षौंदेखि अलपत्र छ । सडक निर्माण नहुँदा बर्खामा हिलो र हिउँदमा धुलोको समस्या छ ।

२०७४ सालमा ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले समयमा नै काम नगरेका कारण हुलाकी सडक आयोजनाले श्रेष्ठ कन्स्ट्रक्सनसँगको सम्झौता रद्द गरी नयाँ प्रक्रिया सुरु गरेको छ । तर सडक ठेक्का लिएपछि पेटी ठेकेदारको रूपमा अभिषेक गिरीलाई उनै श्रेष्ठले भित्र्याएका थिए ।

आफैंले भित्र्याएका गिरीबाटै अहिले आफू पीडित भएको श्रेष्ठले बताएका छन् । कोरोना महामारीका कारण आर्थिक समस्यामा फसेको श्रेष्ठ कन्स्ट्रक्सनले हुलाकी सडकको हाटखोला–रामचोक खण्डको करिब ६ किलोमिटरको काम समयमा नै गर्न सकेको थिएन ।

यही मौकामा गिरी आफ्नो कम्पनीमार्फत काम गर्ने भन्दै श्रेष्ठसँग जोडिएका थिए । २२ वैशाख २०८१ मा श्रेष्ठ कन्स्ट्रक्सन र अभिषेक गिरीको श्री आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिबीच काम गर्ने सम्झौता भयो  ।

आफ्नो सामाजिक छवि पनि सुधार्ने भन्दै ठेक्का पाएपछि अभिषेक गिरीले सिंघिया खोला पुल नजिकै सडक पूजा गरेर ठेक्काको काम सुरु गरेका थिए । तर काम भने गरेनन् । बरु श्रेष्ठका निर्माण सामग्री आफ्नो कब्जामा लिए । श्रेष्ठको निर्माण कम्पनी भने कालोसूचीमा पर्‍यो ।

‘ठेक्काको काम समयमा गर्नुको सट्टा सम्झौता करार भएको उल्लेखित सर्तबमोजिम सो ठेक्काको काम गर्नु भएन,’ श्रेष्ठले जाहेरीमा उल्लेख गरेका छन्, ‘ठेक्काको कामको कुनै प्रगति नभए पनि म निवेदकको कम्पनीसँग पटकपटक विभिन्न बहानाबाजी गरी पैसा लिएर पनि जबरजस्ती म निवेदकलाई खाली चेक काट्न लगाउने र चेक लिने गरे ।’

सम्झौताअनुसार गिरीले काम नगरेको र आफ्नो कम्पनीले पाउने रकम पहिला भुक्तानी गर्नु अनि मात्रै काम अघि बढ्छ भन्ने जवाफ दिएको र काम नगरेपछि ठेक्का नै रद्द भएको बताइएको छ ।

‘आफूले ठेक्का पाएको विराटनगर–घिनाघाट सडक प्रोजेक्ट ठेक्का पनि म गर्छु भनी जिम्मा लिएर ठेक्काको काममा लगाइएको एउटा एक्स्काभेटर र टिपर मलाई जानकारी नदिई काटेर कवाडीलाई बेचेका रहेछन्,’ श्रेष्ठको दाबी छ । आफ्नो टिपर र पानी बोक्ने ट्यांकर एक वर्षदेखि गिरीको समूहले कब्जा गरेको दाबी उनको छ ।

बाहिरैबाट चलाउँथे कारागारमा शासन

अहिले सीआईबीले अनुसन्धानका लागि मोरङबाट काठमाडौं ल्याएका गिरीलाई यसअघि जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको थियो । उनी पक्राउ परेको विषय पनि निकै रोचक छ ।

कारागार बाहिरका मान्छेको कारागारभित्र कुनै पहुँच हुँदैन । कुनै कैदीबन्दीलाई भेट्न जानु पर्‍यो भने पनि भेटघाटको कारण खुलाउँदै प्रशासनको अनुमति लिएर सुरक्षा जाँच पार गर्नुपर्ने हुन्छ । अझ कारागारभित्रको प्रशासनको बाहिर कुनै साइनो नै हुँदैन ।

यति सुरक्षित रहने कारागारको शासन भने गिरीले बाहिरै बसेर चलाउँथे । कैदीबन्दीको रासन भत्तामा समेत कब्जा जमाएर असुल्ने गरेको भन्दै गिरीविरुद्ध कैदीबन्दीले नै आवाज उठाएका थिए ।

कैदीबन्दीले बनाएको मुढा र गलैँचाको पैसा गिरीले बुझ्ने गरेको आरोप छ । १२ असारमा कैदीबन्दीलाई बाँडेको १३ लाख ४० हजार रुपैयाँ असुल गरेको आरोप पनि गिरीमाथि छ । कारागारभित्रको खाद्यान्न र तरकारी आपूर्तिमा समेत उनको सिन्डिकेट चल्ने गरेको कैदीबन्दीको गुनासो थियो ।

त्यसपछि १३ असारमा मोरङ प्रहरीले उनको घरमा छापा मार्दै पक्राउ गरेको थियो । त्यतिबेला गिरीका सहयोगी विनोदकुमार सिंह, विजय कामत र सञ्जयकुमार मण्डल पनि समातिए । मोरङ अदालतले पहिलो पटक ७ दिनको म्याद थप गर्‍यो ।

कतिसम्म भने, प्रहरीले घर खानतलासी गर्दा घरमा पैसा गन्ने मेसिनसमेत बरामद भएको थियो । यी सबै घटनाक्रमले अभिषेक गिरी बाहिरैबाट कारागार भित्रको शासन चलाउने त्यसको नाइके बन्ने गरेको देखिन्छ । उनी आफू नै लामो समय मोरङ कारागार बसेर निस्केका भएकाले पनि त्यहाँ भित्रको सबै सेटिङको धन्दा चलाएको जानकार प्रहरी अधिकारीहरू बताउँछन् ।

पक्राउ परेपछि गिरी उच्च अदालत विराटनगर गए । १८ असारमा उच्च अदालत विराटनगरले गिरी विरुद्धको अनुसन्धान ५ दिनभित्र सक्न निर्देशनात्मक आदेश दियो ।

अनुसन्धान पूरा नभए हाजिरी जमानीमा छाडेर अनुसन्धान गर्न अदालतले भनेको थियो । सोहीअनुसार गिरीलाई छाडिएको मोरङका एसपी कवित कटवाल बताउँछन् ।

गिरी तिनै व्यक्ति हुन् जो अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद बसी ५ चैत २०७९ मा कारागारबाट छुटेका थिए । उनी मोरङ कारागारमा हुँदा चौकीदार थिए । कारागारबाट छुटेपछि उनले कैदीबन्दीको सुविधा आफूले लिए ।

गत २१ फागुनको निर्वाचनमा उनी कांग्रेस महामन्त्री गुरुराज घिमिरेको चुनावी कमान्डरको रूपमा मोरङ–४ मा खटिएका थिए । राजनीतिक जीवनमा प्रवेश गरेको दाबी गर्दै आएका गिरी कांग्रेसको विराटनगर महानगर समिति सभापतिको दाबेदार पनि थिए ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?