+
+
Shares

विराटनगरमा नक्कली सीडी‌ओ कार्यालय खडा गरी नागरिकता बनाउने गिरोह सक्रिय

राष्ट्रिय परिचयपत्र बनाउन आएकी महिलाबाट खुल्यो रहस्य

नक्कली नागरिकतामा प्रयोग भएको होलोग्राम, अधिकृतको हस्ताक्षर र लेमिनेसन समेत दुरुस्त देखिनु गम्भीर विषय हो- प्रमुख जिल्ला अधिकारी युवराज कटेल

हरि अधिकारी हरि अधिकारी
२०८३ असार २४ गते १७:५८

२४ असार, विराटनगर । विराटनगरमा मजदुरी गरेर जीवन निर्वाह गरिरहेकी एकल महिला मनिषा कामतलाई नागरिकता कसरी बनाउने भन्ने प्रक्रिया थाहा थिएन ।

नागरिकता बनाउने सहज माध्यमको खोजीमा रहेका बेला उनको भेट विराटनगर–११ का करिब ६५ वर्षीय अशोककुमार श्रेष्ठसँग भयो । आफूलाई प्रशासनको प्रभावशाली व्यक्तिको रूपमा चिनाएका श्रेष्ठले मनिषा र उनका मामाको नागरिकता बनाइदिने प्रलोभन देखाए । त्यसबापत उनले मनिषाबाट एक लाख ३० हजार रुपैयाँ लिए ।

अरुको घरमा काम गरेर कमाएको रकमसहित कागजात र फोटो उनले महेन्द्रचोक पुगेर श्रेष्ठलाई बुझाइन् । फोटोसहितको विवरण बुझाएको तेस्रो दिनमा श्रेष्ठले उनलाई महेन्द्र चोकमै बोलाएर नागरिकता थमाए ।

३० वर्षीया दुई सन्तानकी आमा मनिषा नागरिक बन्न पाएकोमा निकै उत्साहित थिइन् । सोही नागरिकता लिएर उनी बुधबार राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगिन् । तर, त्यहाँ पुगेपछि आफ्नो नागरिकता नै नक्कली भएको थाहा पाइन् ।

मनिषा कामतलाई थमाइएको नक्कली नागरिकता

प्रशासनका कर्मचारीले उनको नागरिकता ‘नक्कली’ भएको बताउँदा सुरुमा उनले विश्वास नै गरिनन् । ‘तपाईँहरूले नै जारी गरेको नागरिकता कसरी नक्कली हुन्छ ?’ भन्दै उल्टै प्रश्न गरिन् ।

सोही समयमा कार्यालयको अवस्था निरीक्षण गरिरहेका मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले मनिषाको कुरा सुनेपछि बोलाएर सोधपुछ गरे ।

प्रजिअ कटेलले नागरिकता नक्कली भएको पुष्टि गरेपछि मनिषा छाँगाबाट खसेझैँ भइन् । ‘मैले त उहाँलाई (अशोककुमार श्रेष्ठलाई) भगवान् जस्तै मानेर नागरिकताका लागि कति ढोगेँ, अहिले थाहा भयो सबै नक्कली रहेछ,’ उनले भनिन् ।

त्यसपछि प्रजिअ कटेलले नक्कली नागरिकता बनाउने गिरोहको खोजी सुरु गरे । लगतै अशोककुमार श्रेष्ठ पक्राउ परे । पक्राउ पर्दा उनको साथबाट थप १० थान नागरिकता फेला पर्‍यो । त्यसबाहेक २ वटा नागरिकता लिएर गएकाहरू प्रशासनको सम्पर्कमा आएका छन् ।

श्रेष्ठको साथबाट फेला परेको नागरिकतामा नेपाल सरकारको होलोग्राम र जारी गर्ने अधिकृतको हस्ताक्षर दुरुस्त थियो । प्रशासनको छाप पनि प्रयोग भएको छ । सक्कली र नक्कली छुट्याउन नसकिने गरी लेमिनेसन गरिएको थियो ।

ती नागरिकता जारी गर्ने अधिकृतको नाममा हाल कार्यरतदेखि सरुवा भइसकेका अधिकृतले हस्ताक्षर छ ।

फेला परेका नक्कली नागरिकता २०६८ सालदेखि २०८२ सालसम्मको मिति राखेर जारी भएको देखिन्छ । जन्मदर्ता फारम, नागरिकता फारम, राष्ट्रिय परिचयपत्रका फारम र वडा कार्यालयलाई नागरिकता सिफारिसका लागि लेखिएका निवेदन जस्ता थुप्रै सरकारी कागजात उनको साथबाट फेला परेको छ । जिल्ला प्रशासन स्रोतका अनुसार उनी कार्यालय आइरहने व्यक्ति हुन् ।

गिरोहले बनाएका नक्कली नागरिकतासहितका कागजात

सामान्य देखिने श्रेष्ठले सुरुमा ती नागरिकताहरू राष्ट्रिय परिचयपत्र बनाइदिने प्रयोजनका लागि आफूले राखेको दाबी गरे । उनले नक्कली भएको स्वीकार गर्नै मानेनन् ।

श्रेष्ठ पक्राउ परेलगत्तै यो धन्दामा संलग्न अर्का व्यक्ति विराटनगर–५ का धनदेव राजवंशीलाई पनि पक्राउ परेका छन् । राजवंशीले महेन्द्र चोकमा ‘न्यू डोली फोटो सर्भिसेज’ नामक फोटो स्टुडियो सञ्चालन गर्दै आएका छन् ।

श्रेष्ठ र राजवंशीले सोही स्टुडियोलाई नक्कली नागरिकता छाप्ने अखडा बनाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

सुरुमा आफू निर्दोष रहेको दाबी गर्ने ३८ वर्षीय राजवंशीले केहीसमयपछि श्रेष्ठले ल्याएका १०–११ वटा नागरिकता आफूले प्रिन्ट मात्र गरिदिएको स्वीकार गरे । उनी ६–७ वर्षदेखि फोटो स्टुडियो चलाउँछन् । प्रहरीले उनको स्टुडियोमा छापा मारी महत्त्वपूर्ण कागजात र उपकरण नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका अशोककुमार श्रेष्ठ र धनदेव राजवंशी

प्रजिअ कटेलका अनुसार यो समूहले संगठित रूपमै नक्कली नागरिकता बनाउने गिरोह चलाइरहेको देखिन्छ । ‘नक्कली नागरिकतामा प्रयोग भएको होलोग्राम, अधिकृतको हस्ताक्षर र लेमिनेसन समेत दुरुस्त देखिनु गम्भीर विषय हो,’ उनले भने, ‘सोझा जनतालाई नागरिकताको नाममा ठगी गरेको देखिन्छ । यस्तालाई कडा कारबाही हुन्छ ।’

बुधबार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रशासन कार्यालयले नक्कली नागरिकता र बरामद कागजातसहित थप अनुसन्धान र कारबाहीका लागि प्रहरीको जिम्मा लगाएको छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?