+
+
Shares
सचिन आचार्यसँग वार्ता- :

नेपाल चिनाउन जापानमा फेस्टिवल गर्न लागेका हौं

फेस्टिवलमा नेपाली तथा जापानी व्यवसायीबीच व्यापार, पर्यटन र लगानीका सम्भावनाबारे छलफल तथा नेटवर्क विस्तार गर्ने अवसरसमेत रहने छ ।

मनिषा चम्लागाईं मनिषा चम्लागाईं
२०८३ असार २७ गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानको टोकियोस्थित ओदाइबामा यही जुलाई १८ देखि २० गतेसम्म १५औँ नेपाल फेस्टिवल आयोजना हुने भएको छ।
  • एनआरएनए जापान, नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानले संयुक्त रूपमा फेस्टिवलको आयोजना गर्दै छन्।
  • एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले नेपालको कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीन दिनसम्म फेस्टिवल सञ्चालन गरिने बताए।

टोकियो । जापानको टोकियोस्थित ओदाइबामा नेपाल फेस्टिवल आयोजना हुने भएको छ । जापानमा नेपाल चिनाउने उद्देश्यले फेस्टिवलको आयोजना गर्न लागिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जनाएको छ ।

फेस्टिवल यही जुलाई १८, १९ र २० मा हुनेछ । फेस्टिवल नेपाली राजदूतावास जापान, एनआरएनए जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा हुन लागेको हो ।

१५औँ नेपाल फेस्टिवल यसअघिका संस्करणभन्दा फरक र ऐतिहासिक बनाउने आयोजकले जनाएको छ । फेस्टिवलमा गैरआवासीय नेपाली संस्था, शैक्षिक संस्था, रेमिट्यान्स कम्पनी, व्यावसायिक प्रतिष्ठान तथा सामाजिक संस्थाका २४ वटा स्टल रहने छन् ।

नेपाल फेस्टिवल प्रवासी नेपालीको सांस्कृतिक जमघट मात्र नभएर विश्वसामु नेपाल चिनाउने महत्वपूर्ण अन्तर्राष्ट्रिय अभियान बन्दै गएको एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले बताए । विगतमा दुई दिनमा सीमित रहेको नेपाल फेस्टिवल यस वर्ष तीन दिन सञ्चालन हुने अध्यक्ष लामिछानेले जानकारी दिए ।

फेस्टिवलको अनुमानित खर्च करिब २ करोड जापानी येन रहेको छ । उक्त फेस्टिवलमा केन्द्रित रहेर एनआरएनए जापानका प्रवक्ता सचिन आचार्यसँग अनलाइनखबरले गरेको कुराकानी :

१५औँ नेपाल फेस्टिवल गर्नुको उद्देश्य के हो ?

जापानमा नेपालको मौलिक कला, संस्कृति, परम्परा, पर्यटन र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रवर्द्धन गर्नु नै फेस्टिवल गर्नुको मुख्य उद्देश्य हो ।

नेपाली नागरिकप्रति जापानी नागरिकको आकर्षण बढाई प्रर्यटन प्रवर्द्धन साथै नेपाली उत्पादनको बजार विस्तार, व्यापार तथा लगानीको अवसर सिर्जना गर्नु पनि हाम्रो उद्देश्य रहेको छ । साथै फेस्टिवलबाट संकलित रकम चिबामा निर्माणाधीन नेपाल हाउस निर्माण परियोजनामा लगानी गरिने छ ।

व्यापार तथा लगानीको अवसर सिर्जनाको आधार के हो ?

फेस्टिवलमा नेपाली तथा जापानी व्यवसायीबीच व्यापार, पर्यटन र लगानीका सम्भावनाबारे छलफल तथा नेटवर्क विस्तार गर्ने अवसरसमेत रहने छ ।

नेपालको पर्यटन प्रवर्द्धनमा फेस्टिवलले कस्तो योगदान पुर्‍याउँछ ?

यस पटक जापानकै सबैभन्दा चर्चित पर्यटकीय क्षेत्रमध्ये एक ओदाइबामा पहिलो पटक नेपाल फेस्टिवल आयोजना हुँदैछ । त्यसैले ओदाइबामा पुग्ने हजारौं विदेशी पर्यटकमाझ नेपालका हिमाल, लुम्बिनी, पशुपतिनाथ, साहसिक पर्यटन, संस्कृति र आतिथ्यलाई प्रत्यक्ष रूपमा चिनाउने अवसर यस फेस्टिवलले सिर्जना गर्नेछ । जसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ ।

नेपाली उत्पादनको बजार विस्तारका लागि के गर्नु भएको छ ?

नेपाली उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले पहिलो पटक नेपाली ब्रान्डले फेस्टिवलमा आफ्ना उत्पादन तथा सेवाको प्रदर्शनी गर्ने छन् । हामीले नेपाली जुत्ता, कपडा, कफि, मह, आयुर्वेदिक तथा नेपाली रक्सीका उत्पादन प्रदर्शनी गर्दै छौँ ।

फेस्टिवलले दुई देशको कला र संस्कृतिलाई कसरी जोड्दै आएको छ ?

हरेक फेस्टिवलमा एनआरएनए जापानले सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । यस पटक नेपाली चर्चित कलाकारसँगै जापानी कलाकार तथा सांस्कृतिक समूहहरूको प्रस्तुति पनि रहने छ । यसले नेपाल–जापान सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

जापानमा जन्मिएका वा हुर्किएका नेपाली मुलका बालबालिका तथा जापानी बालबालिकालाई नेपाली भाषा, संस्कृति, परम्परा र खेलसँग परिचित गराउने विशेष गतिविधि सञ्चालन गरिने छ ।

साथै, नेपाली जातीय झाँकी, बाजागाजा, गुरुङ, मगरलगायत विभिन्न समुदायका मौलिक नृत्य तथा सांस्कृतिक प्रस्तुतिले नेपाललाई जीवित रूपमा प्रस्तुत गर्ने छन् ।

जापानमा हुर्कदैँ गरेको दोस्रो पुस्तालाई नेपाल जोड्न फेस्टिवलले कस्तो भूमिका खेलेको छ ?

जापानमा जन्मिएका वा हुर्किएका नेपाली मुलका बालबालिका तथा जापानी बालबालिकालाई नेपाली भाषा, संस्कृति, परम्परा र खेलसँग परिचित गराउने विशेष गतिविधि सञ्चालन गरिने छ । साथै सिंगो फेस्टिवल नै नेपालको प्रतिविम्ब भएकाले नेपाल चिनाउन सहयोग गर्नेछ ।

जापानी कम्पनी र स्थानीय निकायसँगको सहकार्य कस्तो छ ?

हामीले जापानी कम्पनी तथा यहाँको स्थानीय तहसँग सहकार्य गरेका छौँ । जापानी कम्पनी आईएचएनओले हामीलाई हरेक वर्ष फेस्टिवलमा सहयोग पुर्‍याउँदै आएको छ । फेस्टिवलमा जापानी जनप्रतिनिधिको पनि सहभागिता रहने छ ।

नेपाल सरकार, पर्यटन बोर्डसँग सहकार्य भइरहेको छ ?

एनआरएनए जापानले पर्यटन बोर्डलाई पत्रचार गरे पनि कुनै प्रतिक्रिया प्राप्त भएन । सरकारी तहबाट भने हामीलाई खासै सहयोग मिल्न सकेको छैन ।

लेखक
मनिषा चम्लागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?