+
+
Shares

गगनजीलाई निष्पक्ष निर्वाचन संयन्त्र बनाऔँ भन्दा सानेपाले मानेन : डा. महत

‘मैले गगनजीलाई फोन गरेँ । मिलाउन पर्‍यो भनेँ । उहाँले हुन्छ नि दाइ, भइहाल्छ, भोलि नै गरौं भन्नुभयो,’ उनले बैठकमा भने, ‘भोलि कुनै खबर आएन । मैले ह्वाट्सएप र नर्मल म्यासेज गरेँ, कुनै खबर आएन नि भनेर । त्यसको कुनै जवाफ आएन ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १८:५६
फाइल तस्वीर

२४ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले संस्थापन इतरको राष्ट्रिय भेलाको मिति तत्काल तोक्नुपर्ने बताएका छन् ।

चुनदेवीमा जारी संस्थापन इतर समूहको तीन दिनदेखि जारी बैठक अन्तर्गत बुधबार बोल्दै महतले पार्टी मिलाउन संस्थापन समूहबाट हालसम्म कुनै प्रतिक्रिया नआएकाले अब ढिलो गर्न नहुने बताएका हुन् ।

‘साथीहरूको चासो र चिन्ता यहाँ उपस्थित साथीहरूको मात्रै होइन, पार्टीका अन्य धेरै साथीहरूको भावना पनि हो,’ महतले भने, ‘आजै मिति तोकेर सम्प्रेषण राम्रैसँग गर्नुपर्छ । भोलिसम्म रोकेर पनि गर्न सकिन्छ । भोलि प्रेस मिट गरेर बैठको निर्णय सम्प्रेषण गर्न सकिन्छ ।’

अर्को बाटोमा जानु सुखद विकल्प नभएको उनले बताए । ‘मैले त यसै पनि जाउँ । समायोजन पनि छोडिदिउँ भनेको हुँ,’ उनले भने ।

सहमतिमा १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन निर्वाचन प्रक्रिया हाँक्ने संयन्त्र बनाउन आफूले सभापति गगन थापासँग प्रस्ताव राखेको पनि उनले बैठकमा सुनाए । ‘त्यसमा गगन जीले आफ्नै बहुमत राख्दा पनि हुन्छ भनेको हुँ । सानेपाले मानेन,’ उनले भने ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ‘तपाईँ पनि पहल गर्नुस्’ भन्दा आफूले सभापति थापासँग कुरा गरेको उनले बताए । ‘मैले गगनजीलाई फोन गरेँ । मिलाउन पर्‍यो भनेँ । उहाँले हुन्छ नि दाइ, भइहाल्छ, भोलि नै गरौं भन्नुभयो,’ उनले बैठकमा भने, ‘भोलि कुनै खबर आएन । मैले ह्वाट्सएप र नर्मल म्यासेज गरेँ, कुनै खबर आएन नि भनेर । त्यसको कुनै जवाफ आएन ।’

त्यसपछि एउटा रिसेप्सनमा सभापति थापासँग भेट भएको पनि उनले बताए । ‘त्यहाँ पनि मैले त्यही कुरा गरेँ । हाँस्दै के–के भयो–भयो दाइ भन्नुभयो,’ उनले अगाडि भने ।

त्यसैले संस्थापन इतर समूहले अब समयमै निर्णय लिनुपर्ने अवस्था आएको उनले सुनाए । त्यसका लागि ६ गते बीपी स्मृति दिवसमा १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउनुपर्ने उनले प्रस्ताव राखे ।

‘साउन २५ भित्रै राष्ट्रिय भेला गर्छौँ । सकेसम्म १५ भित्रै गर्छौँ भन्ने सन्देश दिऔँ । बीपी स्मृति दिवस र राष्ट्रिय भेलाको निर्णय गरौं,’ महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?