+
+
Shares

लहान नगरपालिका साक्षर घोषणा, मन्त्री सिंह भन्छन्– मधेशलाई नमूना बनाउने लक्ष्य छ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १०:०७

२५ असार, सिरहा । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले मधेशलाई साक्षर र शिक्षाको क्षेत्रमा नमुना प्रदेश बनाउने लक्ष्यसहित आगामी आर्थिक वर्षको बजेट ल्याइएको बताएका छन् ।

लहान नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गर्ने कार्यक्रममा बोल्दै मन्त्री सिंहले सीमित स्रोतसाधनका बाबजुद शिक्षा क्षेत्रको गुणस्तर सुधार, डिजिटल शिक्षाको विस्तार र शिक्षाबाट वञ्चित समुदायलाई मूलधारमा ल्याउने कार्यक्रमलाई प्राथमिकता दिइएको बताए ।

उनका अनुसार आगामी आर्थिक वर्षदेखि डिजिटल तथा प्राविधिक शिक्षाको प्रवर्द्धन, छात्रावाससहितका नमुना विद्यालय सञ्चालन, पाँच सय स्वयंसेवक शिक्षक नियुक्ति तथा दलित, मुसहर, बातरलगायत विपन्न समुदायका बालबालिकालाई विद्यालय शिक्षामा जोड्ने कार्यक्रम सञ्चालन गरिनेछ ।

मन्त्री सिंहले मधेशका आठवटै जिल्लाबाट विद्यालय शिक्षाबाट बाहिर रहेका चार हजार बालबालिकाको पहिचान गरी विद्यालयमा ल्याउने योजना रहेको जानकारी दिए ।

बजेटमा प्रत्येक जिल्लामा कम्तीमा दुईवटा नमुना विद्यालय स्थापना गर्ने, अंग्रेजी माध्यम सञ्चालन गर्ने सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्ने, उच्च शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउने तथा कम्प्युटर, विज्ञान र गणित प्रयोगशालाको व्यवस्था गर्ने कार्यक्रम समेटिएको उनले बताए ।

सिरहाका ८७ विद्यालयमा मोडल किचेन निर्माण गरिने र आगामी वर्षमा यसको विस्तार गर्दै लैजाने योजना रहेको पनि मन्त्री सिंहले जानकारी दिए ।

लहान नगरपालिका साक्षर घोषणा

यसैबीच, सिरहाका १७ स्थानीय तहमध्ये लहान नगरपालिका साक्षर घोषणा हुने पहिलो नगरपालिका बनेको छ । नगरपालिकामा स्थायी बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९६ प्रतिशत नागरिक साक्षर रहेको पाइएको छ ।

राष्ट्रिय मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएमा स्थानीय तहलाई साक्षर घोषणा गर्न सकिने व्यवस्था छ । सोही आधारमा नगर साक्षर घोषणा समन्वय समितिको सिफारिस र नगरसभाको निर्णयअनुसार लहानलाई साक्षर नगरपालिका घोषणा गरिएको हो ।

लहान नगरपालिकाले आगामी दिनमा निरन्तर शिक्षाको प्रवर्द्धन गर्दै पूर्ण साक्षर नगरपालिका बन्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?