२५ असार, काठमाडौं । ढल्केबर–हेटौंडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुलेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रसारण लाइन विस्तारका लागि वनको जग्गालाई प्रयोग गर्न दिने निर्णयसँगै ठूलो क्षमताको प्रसारण लाइनको निर्माण प्रक्रिया अघि बढ्ने भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले उक्त प्रसारण लाइन निर्माणमा लामो समयदेखि देखा परेका अवरोध हटाउन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव परेका थिए ।
मन्त्रिपरिषद्बाट वनको जग्गा प्रयोग गर्न दिने निर्णयसँगै ठूलो क्षमताको प्रसारण लाइन बनाउन बाटो खुलेको मन्त्रालयले जनाएको छ ।
मन्त्रिपरिषद्ले ‘नेपाल विद्युत प्राधिकरणलाई हेटौंडा ढल्केबर ४०० केभी विद्युत प्रसारणलाइन आयोजनाको मकवानपुर खण्डको एलाइनमेन्ट परिवर्तनको लागि संलग्न सर्तहरुको पालना गर्ने सर्तमा वन ऐन २०७६ को दफा ४२ (१) बमोजिम मकवानपुर जिल्लाको हेटौंडा १५ मा रहेको रातोमाटे सामुदायिक वन उपभोक्ता समूह र बकैया– २ मा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेको राष्ट्रिय वनको २.२ हेक्टर जग्गा प्रयोग गर्न दिने र सो जग्गामा रहेका विभिन्न प्रजातिका १ हजार २ सय ९२ गोटा रुख/पोल हटाउन स्वीकृति दिने’ निर्णय गरेको थियो ।
यो निर्णयका लागि ऊर्जामन्त्री श्रेष्ठले मंगलबार मात्रै कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीसँग छलफल समेत गरेका थिए । आम नागरिकलाई सुविधा पुग्ने खालको विषय भएकाले प्रधानमन्त्री बालेन्द्र शाह पनि तत्कालै निर्णय गर्न तयार भएका थिए । ऊर्जामन्त्री श्रेष्ठले प्रसारण लाइन मार्गमा बसोबास गर्ने स्थानीय बासिन्दा तथा जनप्रतिनिधिसँग पनि सम्वाद र समन्वय गरेका थिए ।
नेपाल विद्युत प्राधिकरणका कायममुकाय कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले १२ वर्षदेखि रोकिराखेको ढल्केबर–हेटौँडा चार सय केभी प्रसारण लाइन निर्माणको बाटो खुलेको बताए ।
ढल्केबर–हेटौँडा ट्रान्समिसन लाइन पुरानो हो । सुनसरीको इनरुवासम्मै पुग्ने यो लाइन ३ सय सय किलोमिटर हाराहारी छ । यसमा सहि बाटोको समस्या थियो । लामो समयदेखि वनले स्वीकृति दिएको थिएन । जसले गर्दा तार तान्नका लागि समस्या रहँदै आएको थियो ।
‘४०० केभीको हाई भोल्टेज लाइनको दायाँबायाँ गरेर ४६ मिटरको राइट अफ वे (मार्ग) हुन्छ । त्यहाँ परेका रुख पनि काट्नुपर्यो’ श्रेष्ठले भने ‘त्यो जग्गा भोगादेश पनि लिनुपर्यो । त्यहाँ वनको जग्गा पनि पर्छ । त्यसैले लामो समयदेखि अड्किरहेको थियो ।’
यसअघि हेटौंडादेखि पूर्वसम्म १३२ केभीको मात्रै करिडोर थियोे । कामु कार्यकारी निर्देशक श्रेष्ठका अनुसार हेटौँडादेखि बुटवलसम्म २२० केभीको सर्किट बनिसकेको छ ।
यो प्रसारण लाइन बनेपछि तीन हजार मेगावाटसम्म आपूर्ति हुने उनले बताए । कामु कार्यकारी निर्देशक श्रेष्ठले अब प्रसारण लाइन निर्माण गर्न डेढ महिना लाग्ने बताए ।
‘अधिकतम दुई महिला लाग्ला । दुई महिनापछि हाम्रो सिस्टम एकदम स्टेबल हुन्छ । बिजुली अझ बढी बेच्न सक्छौं । कहिलेकाही पूर्वमा भएको बिजुली बुटवलसम्म लान सक्छौं । बुटवलबाट पनि गोरखपुर क्रस बोर्डर लाइन बनाउँदैछौं । डिसेम्बरसम्म बनिसक्छ । हाम्रो लागि बुटवल र ढल्केवर सब स्टेसन महत्वपूर्ण हुन्छ,’ उनले भने ।
निर्देशक श्रेष्ठकाअनुसार अब १६ वटा टावर निर्माण गरिनेछ । जसमा दुईवटा एमसीए नेपाल र १४ वटा प्राधिकरणले बनाउनेछ ।
प्रतिक्रिया 4