२६ असार, किगाली (रुवान्डा) । अफ्रिकी मुलुक युगान्डाबाट रुवान्डाका लागि उडेको विमानको शैली अन्यत्र हेरी अनौठो थियो । लाग्थ्यो, त्यो कुनै आधुनिक हवाईजहाज होइन, काठमाडौंका सडकमा यात्रु उठाउँदै हिँड्ने रैथाने लोकल बस हो ।
हामी युगान्डाको ‘एन्टेब्बे एयरपोर्ट’बाट रुवान्डाको लागि उडे पनि केन्याको नैरोबीमा थप यात्रु टिप्न विमानले केही बेर भुइँ छोयो ।
अफ्रिकी मूलका रैथाने अनुहारहरूको भिडमा एक्कासि दुई वटा परिचित आकृतिका अनुहार झुल्किए । रङ, रूप र हाउभाउ ठ्याक्कै नेपाली/भारतीय जस्तो ! सबै नौला र अपरिचित मानिसहरूको त्यो बिरानो भूमिमा ती अनुहारहरू देखिनु आफैँमा एउटा सुखद आश्चर्य थियो ।
तर, त्यो आश्चर्य त्यसपछि झन् आत्मीयतामा बदलियो, जब अफ्रिकी हुल छिचोल्दै नेपाली भाषाको ‘गुनगुन’ कानमा ठोक्कियो । विमानले रुवान्डाको भुइँ छुनासाथै परिचय हुँदा थाहा भयो– उनी काठमाडौं टीकाथली बस्दै आएकी गया कार्की रहिछन् ।
गया रुवान्डामा आफ्ना छोरा–बुहारी र नातिलाई भेट्न आएकी थिइन् । तर यो उनको पहिलो भ्रमण थिएन । करिब १० वर्षदेखि रुवान्डामै बस्दै आएका छोरालाई भेट्न उनी बेलामौकामा यहाँ आउने रहिछन् । यता रहेको परिवार पनि काठमाडौंमा परिवार भेट्न वर्षैपिच्छे गइरहने रहेछन् ।

छोरा शाश्वत कार्की, बुहारी सुमित्रा पहाडी र सानो नाति भेट्न रुवान्डा आएकी गयालाई १० वर्षअघि भने यति सहज होला भन्ने कल्पना नै थिएन । हुन पनि अफ्रिका सुन्दा दिमागमा सबैभन्दा पहिले आउने आम तस्वीर हो– भोकमरी, गृहयुद्ध र गरिबी ।
सोही ठाउँमा छोरा काम गर्न जाँदैछ भन्ने सुन्दा आमा चिन्तित थिइन् । शाश्वत स्वयं रुवान्डा उड्नुअघि त्यस्तै परिकल्पनाले थोरबहुत आत्तिएका थिए ।
तर, रुवान्डाको राजधानी किगालीको सफा सडक, अनुशासित ट्राफिक र सुरक्षित रात्रिकालीन यात्रा–अनुभवहरूले ती कल्पनालाई चुनौती दिए । शाश्वत जे सोचेर उडेका थिए, त्योभन्दा फरक चित्र यहाँ पाए ।
०००
एक दशक बढी समयदेखि किगाली बस्दै आएका शाश्वत टीकाथलीमै जन्मे–हुर्के । प्लस टु सकेपछि चार्टर्ड एकाउन्टेन्सी (सीए) पढ्न भारत गए । त्यो समय भारतीय बोर्डबाट सीए पढ्ने नेपालीको संख्या उच्च थियो । अन्तर्राष्ट्रिय एक्सपोजर पाइने लोभले पनि धेरै नेपालीलाई त्यहाँ तानेको थियो । शाश्वतले पनि अन्य नेपाली जस्तै दिल्लीबाट सीए गरे ।
दिल्लीमा पढाइ सकिने बेला ‘कलेज प्लेसमेन्ट’मार्फत उनको छनोट एउटा भारतीय मूलको एक कम्पनीमा भयो, जसको मुख्य कारोबार अफ्रिकामा हुने रहेछ । त्यही सिलसिलामा सन् २०१६ मा उनी पहिलो पटक रुवान्डा पुगे । तर अफ्रिकामा काम गर्नुपर्छ भन्दा सुरुमा त उनलाई मन लागेन ।
अफ्रिका जाने कुरा सुनेपछि घरपरिवार र साथीभाइले पनि ‘जेनोसाइड’ अर्थात् नरसंहारबाट गुज्रिएको देश हो भन्दै नजान सल्लाह दिए । हुन पनि गुगलमा रुवान्डा सर्च गर्दा सबैभन्दा पहिले देखिने कुरा नै सन् १९९४ को नरसंहार हो । त्यसबेला सामुदायिक हिंसा भड्किँदा जम्मा १०० दिनको बीचमा करिब १० लाख मानिस मारिएका थिए । यो कुराले शाश्वतका आफन्त र शुभचिन्तक चिन्तित थिए ।
‘तर त्यो त १९९४ मै सकिएको घटना हो । त्यसपछि रुवान्डाले ३० वर्षमा गरेको प्रगति कतै त्यत्तिको चर्चामा आउँदैन,’ शाश्वतले अनलाइनखबरसँग भने, ‘त्यसबेला पनि सबैको मत आत्तिँदा मलाई अफ्रिका जान हौस्याउनेमा मेरी माइजु हुनुहुन्थ्यो । माइजुको साथी संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफमा काम गर्ने हुनाले रुवान्डाबारे जानकार हुनुहुन्थ्यो । उहाँले नै काठमाडौं–दिल्लीभन्दा सयौं गुणा सुरक्षित रहेको बताएपछि सबै जना केही हदसम्म ढुक्क भएका थियौं ।’
कलेजबाट प्लेसमेन्ट भएको कम्पनीको ‘ह्युुमन रिसोर्स’ विभागले पनि ‘मन नपरे एक महिनामा फर्किन सक्नुहुन्छ, टिकटको पैसा तिर्नु पर्दैन’ भन्दा शाश्वत ढुक्क भए । राम्रो भए ठिकै छ, नभए एक महिनामा फर्किहालिन्छ भन्ने सोचेर उनी रुवान्डा उडे ।

रुवान्डा ओर्लेको केही समयमै उनको धारण पूरै बदलियो । दिल्लीको फोहोर सडक झेलेर आएका उनलाई किगालीका सफा बाटो र व्यवस्थित शहर देखेपछि लाग्यो– यो त अफ्रिका नै होइन कि ?
बस्नको लागि पनि साना झुपडी जस्ता घर पाइने अनुमान गरेर पुगेका उनलाई कम्पनीले भव्य संरचनामा राख्दा झन् उत्साही भए । त्यसपछि रुवान्डामै रत्तिन थाले ।
सुरुमा दुई वर्षका लागि मात्र सोचेर आएका शाश्वतले भारतमा सीए पढ्दाताकाकै प्रेमिका सुमित्रा पहाडीलाई पर्खाएर बसे । दुई वर्षपछि फर्कने आशमा उनी पनि कुरेरै बसिन् । तर दुई वर्ष पूरा हुने बेला कन्ट्र्याक्ट रिन्यु भयो । दुई वर्ष चार वर्षमा फेरियो । त्यही अवधिमा नेपाल फर्किएर विवाह गरे । र, त्यसपछि पत्नी सुमित्रालाई पनि रुवान्डा नै लगे ।
त्यसबेलासम्म शाश्वत पनि नयाँ कम्पनीमा जोडिइसकेका थिए । उनकी पत्नीलाई पनि क्रमश: ठाउँ रमाइलो लाग्न थाल्यो । त्यही किगालीमा उनीहरूको छोरा जन्मिए, जो अहिले तीन वर्षका भइसकेका छन् । त्यहीँको स्थानीय स्कुल धाउन थालिसकेका छन् ।
शाश्वत हाल दुबई आधारित एउटा व्यावसायिक ग्रुपको ‘करन पेट्रोलियम’ कम्पनीमा रुवान्डा कोर्पोरेसन प्रमुख (सीईओ) का रूपमा कार्यरत छन् । यो कम्पनीको सेयर धनी भारतीय भए पनि सञ्चालन दुबईबाट हुन्छ । कम्पनीले पेट्रोल–डिजेल जस्ता पेट्रोलियम पदार्थ आयात गरेर रुवान्डा र पूर्वी अफ्रिकाभर वितरण गर्छ । आफ्नै पेट्रोल पम्पसहित अन्य साना पेट्रोल कम्पनीहरूलाई ‘होलसेल’ (थोक) बेच्नु र कारखाना तथा खानी क्षेत्रहरूलाई पनि सप्लाइ गर्नु यसको दायित्व हो ।
कम्पनीका ६ वटा पेट्रोल आउटलेटमध्ये चार वटा राजधानी किगालीभित्रै पर्छन् । दुई वटा आउटलेट भने सीमावर्ती क्षेत्र आसपास पर्छन् ।
रुवान्डाको भूराजनीतिक अवस्थितिले पनि यो व्यवसायलाई फाइदा दिएको छ । छिमेकी देश कंगो (डीआरसी)का गोमा र बुकाबु जस्ता शहरहरूमा राम्रो सडक सञ्जाल नभएकाले र ती शहरहरू आफ्नै देशका मुख्य शहरहरूबाट कटअफ भएकाले त्यहाँको लगभग ९९ प्रतिशत आपूर्ति रुवान्डाकै सडकमार्फत जान्छ । शाश्वतका अनुसार रुवान्डाबाट बाहिर निकासी गर्नेहरूका लागि मुख्य आयस्रोत नै गोमा र बुकाबुसँगको व्यापार हो ।

व्यवसाय विस्तार गर्दै उनको समूहले ‘करन इन्भेस्टमेन्ट’ सञ्चालनमा ल्याएको छ । यसले लजिस्टिक्स अर्थात् मालवाहक ट्रकको व्यवसाय पनि सञ्चालन गरेको छ, जसमा हाल २०/२१ ट्रक छन् । र, यसको सीईओ पनि नेपाली मूलका शाश्वत नै हुन् ।
रुवान्डामा इन्धन बजारको आफ्नै शैली छ । नेपालमा सरकारी स्वामित्वको ‘नेपाल आयल निगम’ले नै सबै पाटो हेर्छ । तर त्यहाँ सरकारले हरेक महिना पम्प मूल्य तोक्छ, जसको सीमाभित्र बसेर निजी क्षेत्रले बेच्ने गर्छन् । आपूर्तिको हकमा पनि कताबाट कसरी आपूर्ति गर्ने भन्ने कुरा नितान्त निजी क्षत्रकै हातमा रहन्छ ।
गुणस्तर नियन्त्रणमा भने कडाइ छ । आयातका बेला र पम्पहरूमा नियमित रूपमा गुणस्तर जाँच हुने भएकाले कम्पनीहरूले लापरबाही गर्ने दुस्साहस गर्न सक्दैनन् ।
दिल्लीबाट रुवान्डा आइपुग्दा पनि शाश्वतले यस्तै कम्पनीमा काम थालेका थिए । सुरुमा उनी माउन्ट मेरु पेट्रोलियम नामको अर्को भारतीय सम्बद्ध पेट्रोलियम कम्पनीमा कार्यरत थिए । त्यसपछि ‘करन ग्रुप’ अन्तर्गतको कम्पनीमा आउँदा सिईओकै रूपमा सक्रिय हुन थाले । यसरी रुवान्डाभित्र रहेका दुई जना नेपाली मूलका सीईओमध्ये शाश्वत एक हुन् ।
‘अर्का एक जना साथी पनि सीईओको रूपमा हुनुहुन्छ । उहाँ पनि मजस्तै व्यवसायको नेतृत्व गरेर, कम्पनी हाँकेर बस्नु भएको छ । यो हामी नेपालीका लागि गर्वको कुरा हो,’ शाश्वतले अनलाइनखबरसँग भने ।
शाश्वतका अनुसार, एक समय १०/१५ नेपाली परिवार नै रुवान्डामा बसेका थिए । धेरैजसो संयुक्त राष्ट्रसंघीय निकाय र विकासे संस्थाहरूमार्फत रुवान्डा छिरेका थिए । तर पछिल्लो समय अमेरिकी सरकारले वैदेशिक सहायता कटौती गरेपछि यी संस्थामा काम गर्नेहरूको संख्या घट्दै गएको छ । फलस्वरूप अहिले सात–आठ परिवार मात्र बाँकी छन् ।
शाश्वतले सिईओका रूपमा चिनाएका अर्का नेपाली पनि सीए नै पढेर आएका थिए । समय क्रममा सीईओ भएका उनीसहित बाँकी नेपालीहरू फाइनान्स म्यानेजर, जनरल म्यानेजर जस्ता उच्च पदमा कार्यरत छन् । रेस्टुरेन्ट आदिमा काम गर्नेसमेत जोड्दा कूल करिब ५० जना नेपालीको सम्पर्क–सञ्जाल आफूहरूसँग रहेको उनी बताउँछन् ।
आज नेपाली समुदायमा घुलमिल हुने वातावरण मिले पनि रुवान्डा पुगेको सुरुका दिनमा शाश्वतलाई आफूलाई त्यहाँ पुग्ने पहिलो नेपाली नै हो कि भन्ने भान भएको थियो । किनकि, नेपालमै पनि सामान्यतया: अस्ट्रेलिया, अमेरिका, युरोप जस्ता देशमा पहिलेदेखि नै जाने प्रचलन रहे पनि अफ्रिकाको त्यति चर्चा हुँदैन ।
शाश्वत र सुमित्राको तीन वर्षे छोरा अहिले किगालीको एक अन्तर्राष्ट्रिय विद्यालयमा पढ्छन्, जहाँ फ्रान्स, चीन, अमेरिकालगायत विभिन्न देशका विद्यार्थी छन् । पढाइको माध्यम अंग्रेजी भए पनि फ्रेन्च पनि त्यहाँ पढाइ हुन्छ । छोरालाई फ्रान्सको भाषा अलि नयाँ र गाह्रो लाग्छ । रुवान्डाकै स्थानीय भाषासमेत साथीहरूसँग खेल्दै सिकिरहेका छन् भने नेपाली भाषा घरमै सिकिरहेको शाश्वतले बताए ।
यसरी रुवान्डामा रत्तिएको यो नेपाली परिवारको उक्त देशलाई लिएर आफ्नै किसिमको अनुभव छ । जस्तो, त्यहाँ प्रशासनिक पक्ष धेरै सहज छ । मन्त्रीहरूसमेत सजिलै भेट्न सकिने, यतिसम्म कि, सुरक्षागार्डबिनै हिँड्ने दृष्टान्तसमेत उनले सुनाए । धेरै सरकारी काम अनलाइनबाटै हुने भएकाले सरकारी कार्यालयमा लामो लाइन र भिडभाड नेपालमा जस्तो देखिँदैन ।
१० वर्षभन्दा बढी रुवान्डा बसेर काम गर्दा शाश्वतले धेरैजसो कर्मचारीसँग व्यक्तिगत चिनजान बनाइसकेका छन् । कुनै काम अलपत्र परे पैसाको लेनदेनबिनै फोन गरे सहयोग पाइने उनले सुनाए । विदेशी भएकै आधारमा भेदभाव नगरिने र सरकारी कर्मचारीहरू पनि उत्तिकै सहयोगी हुने अनुभव उनको छ ।
शाश्वतका अनुसार रुवान्डाको सबैभन्दा राम्रो पक्ष भनेको सफाइ र सुरक्षाको भाव हो । जो कोही पनि राति बाह्र–एक बजे हिँड्डुल गर्दा पनि लुटिने डर नहुने, गाडी बिग्रियो भने नबोलाउँदै वरपरका मानिसले सहयोग गर्ने लगायतका अनुभव उनीसँग छन् । त्यसैले पनि यसलाई अफ्रिकाको सबैभन्दा सुरक्षित देश मानिन्छ । अझ सरसफाइ यसको ‘यूएसपी’ नै हो ।

शाश्वतका अनुसार, यस्तै सूक्ष्म व्यवस्थापनका कारण किगाली विकासमा उकालोलाग्दो अवस्थामा छ । अझ रुवान्डाले विदेशी लगानी (एफडीआई) आकर्षित गर्न सफल भएको मुख्य कारण हो– लगानीकर्तालाई ‘सुरक्षित’ महसुस गराउन सक्नु । फलस्वरूप, पछिल्लो १०/१५ वर्षमा विदेशी कम्पनीहरूको रुवान्डा प्रवेश उल्लेख्य रूपमा बढेको छ ।
श्रमको हकमा भने अन्यत्रभन्दा फरक छ । विदेशीलाई श्रम भिसा दिने प्रक्रियामा रुवान्डाले ‘प्राथमिकता क्षेत्र’ (डाक्टर, इन्जिनियर, सीए, यहाँसम्म कि कुकसमेत) तोकेको छ । यसभित्र पर्नेलाई सजिलै श्रमको अनुमति पाइन्छ । अन्य साधारण कामका लागि भने कम्पनीले स्थानीय (रुवान्डा) जनशक्ति उपलब्ध नभएको प्रमाणित गर्नुपर्छ । सरकारले पनि लगानीको आकारअनुसार विदेशी कर्मचारी राख्ने कोटा कम्पनीहरूलाई तोकेको छ । यसले गर्दा रुवान्डामा विदेशी लगानी भित्रिए पनि कर्मचारी पनि त्यहाँ उपलब्ध भएसम्म स्थानीय नै राख्नुपर्ने बाध्यता रहेको शाश्वतले सुनाए ।
यी सबै कारण पनि शाश्वतको परिवारले योग्य भए पनि हालसम्म रुवान्डाको नागरिकता लिएको छैन । लिने बारेमा सोचेको छैन । मुख्य लक्ष्य भविष्यमा नेपाल फर्किनु नै रहेको उनी बताउँछन् ।
‘यहाँ जस्तै भए पनि आफ्नो देश जस्तो हुँदैन । हामी विदेशी नै हौं, सेकेन्ड सिटिजन नै हौं,’ शाश्वतले भने, ‘अहिले तत्काल फर्किने योजना नभए पनि दीर्घकालीन रूपमा भने एक न एक दिन नेपाल फर्किने सोच छ । छोरो ५–६ कक्षामा पुगेपछि नेपालमै पढाउने सोच छ । एसईई नेपालबाटै देओस् भन्ने योजना बनाएका छौँ ।’
यसरी रुवान्डामा बसेर अफ्रिकाको स्वाद लिइरहेका शाश्वतको परिवार आज ढुक्क छ । हिजो छोरो अफ्रिका जानेभन्दा आत्तिएकी आमा पनि आजको दिनमा आनन्दले परिवार भेट्न ओहोरदोहोर गरिरहेकी छन् । विश्व नै सानो लागिसकेको उनीहरूलाई अब यी कुरा सामान्य दैनिकीबाहेक केही होइन । उमेर घर्किंदै गरेकी शाश्वतकी आमासमेत यसमा दृढ सुनिइन् ।
‘उहिल्यै रुँदै, डर मान्दै यता पठाएका थियौँ । मन आत्तिएको थियो । अहिले त अब ढुक्क छ । हामी यसैगरी यताउता गर्दै एकअर्कालाई भेटिरहेका हुन्छौँ,’ परिवार भेट्न रुवान्डा आएकी शाश्वतकी आमा गयाले अनलाइनखबरसँगको भेटमा भनिन्, ‘अब त विश्व नै सानो लाग्न थालिसकेको छ ।’
प्रतिक्रिया 4