News Summary
Generated by OK AI. Editorially reviewed.- फ्रान्सेली कप्तान किलियन एमबाप्पे फिफा विश्वकपको इतिहासमा सबैभन्दा छिटो २० गोल पूरा गर्ने खेलाडी बनेका छन् ।
- एमबाप्पेले मात्र २० खेल खेल्दै विश्वकपमा २० गोल गर्ने कीर्तिमान कायम गरेका हुन् ।
- उनी २७ वर्षको उमेरमै विश्वकपको नकआउट चरणमा सर्वाधिक १२ गोल गर्ने कीर्तिमान बनाउन सफल भएका छन् ।
२६ असार, काठमाडौं । फ्रान्सका कप्तान किलियन एमबाप्पेले फिफा विश्वकपमा सबैभन्दा छिटो २० गोल गर्ने खेलाडी बनेका छन् । साथै उनी विश्वकपमा २० गोल गर्ने सबैभन्दा कान्छा खेलाडी समेत हुन् ।
उत्तर अमेरिकामा भइरहेको २३औ संस्करणको फिफा विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले लगातार जसो कीर्तिमान बनाइँरहँदा फ्रान्सका कप्तान एमबाप्पेले पनि केही कीर्तिमानहरु बनाएका छन् ।
क्वाटरफाइनल अन्तर्गत पहिलो खेलमा मोरक्को विरुद्ध २-० को जितमा १ गोल र १ असिस्ट गरका एमबाप्पेले पनि आफ्नो नाममा विश्वकपका कीर्तिमानहरु लेखाएका हुन् ।
मेसीले विश्वकपमा सर्वाधिक खेल र सर्वाधिक गोल देखि सर्वाधिक ६ पटक विश्वकप सर्वाधिक असिस्ट गर्ने लगायत मुख्य कीर्तिमान बनाउँदा मेसीकै चर्चा धेरै भइरहेको छ ।
एमबाप्पे तीन विश्वकप मात्र खेलेर पनि ठूला कीर्तिमानहरु बनाइसकेका छन् जुन मेसीको कीर्तिमानको अघि केही छायामा पनि परेको छ ।

एमबाप्पेले फिफा विश्वकपको नकआउट चरणमा सर्वाधिक गोल गर्ने खेलाडी हुन । यस विश्वकपमा ८ गोल गरिसकेका एमबाप्पेले विश्वकपको नकआउट चरणमा १२ गोल गरिसकेका छन् ।
एमबाप्पेले यसअघि नै विश्वकपको नकआउट चरणमा ८ गोल गरेका ब्राजिलका लियोनिडास र रोनाल्डोलाई पछि पारेका हुन् ।
यस्तै एमबाप्पेले २७ वर्षको उमेरमै विश्वकपमा २० गोल गरेका हुन् । मेसीले ३८ वर्षको उमेरमा विश्वकपमा २० गोल पूरा गरेका थिए ।
यस्तै मेसीले ३० खेलमा विश्वकपमा २० गोल गरेकोमा एमबाप्पेले २० खेलमै उक्त आँकडा पूरा गर्दै सबैभन्दा छिटो २० गोल गर्ने खेलाडी बनेका हुन् ।
एमबाप्पे जारी विश्वकप र समग्रमा विश्वकिमै गोल मेसिनको रुपमा रहेका देखिएका छन् । उनले अहिलेसम्म जम्मा ३ संस्करण मात्र विश्वकप खेलेका छन् । जसमा उनले एक पटक विश्वकप उपाधि नै जितिसकेका छन् भने एक पटक सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड पनि जितिसकेका छन् ।
फ्रान्सलाई लगातार तेस्रो पटक फाइनल पुर्याउने लक्ष्यमा एमबाप्पे छन् ।
एमबाप्पेले फ्रान्सका लागि विश्वकपमा सर्वाधिक खेल खेल्ने ह्युगो लोरिसको कीर्तिमान पनि बराबरी गरेका छन् । लोरिस र एमबाप्पेको समान २० खेल भएको छ । अब सेमिफाइनल खेलपछि एमबाप्पे फ्रान्सका लागि सर्वाधिक विश्वकप खेल्ने खेलाडी बन्नेछन् । उनले विश्वकपमा प्रान्सका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाइसकेका छन् । यस्तै फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान पनि एमबाप्पेले यसै विश्वकपमा तोडिसकेका छन् । उनले फ्रान्सका लागि १०४ खेलमा ६४ गोल गरिसकेका छन् ।
दुई संस्करणमा ८-८ गोल
एमबाप्पेले विश्वकपको दुई फरक संस्करणमा ८ वा त्यो भन्दा बढी गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान पनि बनाएका छन् ।
सन् २०२२ मा कतारमा भएको विश्वकपमा एमबाप्पेले सर्वाधिक ८ गोल गर्दै पहिलो पटक गोल्डेन बुट अवार्ड जितेका थिए । त्यसबेला उनले फ्रान्स विरुद्ध फाइनलमा ह्याट्रिक समेत गरेका थिए ।
फ्रान्ससँग फाइनलमा पराजित भएपनि एमबाप्पेले व्यक्तिगत रुपमा गोल्डेन बुट जितेका थिए । उनले सन् २०१८ मा विश्वकपमा डेब्यु गर्दा ४ गोल गरेका थिए । त्यसयता दुई संस्करणमा ८-८ गोल गरेर नयाँ कीर्तिमान बनाएका हुन् ।
यसअघि अर्जेन्टिनाका मेसीले दुई फरक संस्करणमा ७-७ गोल गर्ने कीर्तिमान बनाएका थिए ।

यस्तै यस विश्वकपमा पनि एमबाप्पेले सेमिफाइनलसम्म आइपुग्दा ८ गोल गरिसकेका छन् । उनले समूह चरणमा नर्वे विरुद्ध बाहेक यस विश्वकपमा खेलेको ५ खेलमा गोल गरेका छन् ।
समूह चरणमा सेनेगल र इराक विरुद्ध २-२ गोल गरेका एमबाप्पेले राउण्ड अफ ३२ मा स्वीडेन विरुद्ध पनि २ गोल नै गरे । तयसपछि पाराग्वे विरुद्ध प्रिक्वाटरफाइनलमा पेनाल्टीमा निर्णायक गोल गरेका एमबाप्पेले क्वाटरफाइनलमा मोरक्को विरुद्ध पनि गोल गरे ।
एमबाप्पे नकआउट चरणका राजा जस्तै बनेका छन् । २७ वर्षको उमेरमै विश्वकप जित्ने देखि विश्वकपमा गोलको वर्षा गरिरहेका एमबाप्पे अझै धेरै कीर्तिमान ब्रेक गर्ने संकेत देखाएका छन् ।
एमबाप्पे लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको पुस्तापछि विश्वकप फुटबलमा सुपर स्टारको रुपमा देखा परेका छन् ।
यस विश्वकपमा मेसी भन्दा पछि रहेका एमबाप्पेले अब दुई संस्करण विश्वकप खेल्ने हो भने धेरै कीर्तिमान तोड्न सक्नेछन् ।
लगातार गोल्डेन बुट जित्ला?
किलियन एमबाप्पे यस विश्वकपमा गज्जबको लयमा देखिएका छन् । समूह चरणदेखि नै गोल गर्दै आएका उनले सेमिफाइनलसम्म त्यो लय कायम राखेका छन् ।
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले मात्र यस विश्वकपमा खेलेको सबै खेलमा गोल गरेका छन् । मेसीले ५ खेलमै ८ गोल गरेका छन् र सर्वाधिक गोल गर्नेमा एमबाप्पेसँगै अघि छन् । मेसीले स्विट्जरल्यान्डसँग क्वाटरफाइनल खेल खेल्नै बाँकी छ ।
यस्तोमा यस विश्वकपमा गोल्डेन बुटका लागि एमबाप्पे र मेसी नै मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । एमबाप्पेल ३ असिस्ट समेत गरिसकेका छन् भने मेसीको नाममा १ असिस्ट छ ।
यी दुई खेलाडीपछि तेस्रोमा रहेका नर्वेका स्ट्राइकर एर्लिङ हालान्डले ७ गोल गरिसकेका छन् तर उनको नाममा कुनै असिस्ट छैन । त्यसैले पनि एमबाप्पे र मेसीलाई फाइदा छ ।
यस्तै इंग्लयान्डका कप्तान ह्यारी केनले ६ गोल र१ असिस्ट गरेका छन् । क्वाटरफाइनलमा केनको इंग्ल्यान्ड र हालान्डको नर्वे खेल्ने भएकोले एक खेलाडीको चुनौती क्वाटरफाइनलमै सकिनेछ । इंग्ल्यान्ड र नर्वेको विजेताले सेमिफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेलको विजेतासँग खेल्नेछ । मेसी, हालान्ड र केन मध्ये एक खेलाडी मात्र फाइनल पुग्ने हुँदा गोल्डेन बुट रेस पनि अली खुकुलो बन्न सक्छ ।
त्यसैले फाइनलसम्म पुग्दा २ खेलाडी मात्रै गोल्न बुटको रेसमा कायम रहने सम्भावना धेरै छ । एमबाप्पेको फ्रान्स सेमिफाइनल पुगिसकेको र कम्तीमा पनि अझै दुई खेल खेल्ने (सेमिफाइनल हारेपनि तेस्रो स्थानको लागि खेल हुन्छ) भएकोले एमबाप्पेलाई अब दुई खेलमा गोल संखया बढाउने अवसर छ ।
फिफा विश्वकपक सर्वाधिक गोलकर्ता:
लियोनल मेसी : २१ गोल
किलियन एमबाप्पे : २० गोल
मिरोस्लाभ क्लोज : १६ गोल
रोनाल्डो : १५ गोल
गर्ड मुलर : १४ गोल
ह्यारी केन : १४ गोल
जस्ट फोन्टेन : १३ गोल
पेले : १२ गोल
प्रतिक्रिया 4