+
+
Shares

नेपालमा लगानी गर्न यूएई उत्सुक, कृषि, रेलवे र ‘हरित डाटा सेन्टर’ मा विशेष चासो

यूएईले विशेषगरी नेपालको कृषि क्षेत्रमा लगानी गर्न गहिरो रुचि देखाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योगमन्त्री गौरीकुमारी यादव र यूएईका मन्त्री डा. थानी बिन अहमद अल जियोडीबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनबारे मन्त्रालयमा महत्त्वपूर्ण छलफल भएको छ ।
  • यूएईले नेपालको कृषि क्षेत्रमा लगानी गर्न विशेष रुचि देखाएको छ भने रेलवे र सूचना प्रविधिमा पनि लगानी विस्तार गर्न उत्सुकता व्यक्त गरेको छ ।
  • यूएई सरकारले नेपालमा हरित डाटा सेन्टर स्थापना गर्ने योजना बनाएको र नेपाली कृषि उपज निर्यातका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

२६ असार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र युनाइटेड अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जियोडीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको दुई देशका मन्त्री र उच्च अधिकारीहरू सम्मिलित बैठकमा द्विपक्षीय व्यापार, लगानी विस्तार र आपसी सहकार्यका विविध आयामबारे महत्त्वपूर्ण छलफल भएको हो ।

भेटका क्रममा यूएईका मन्त्री डा. थानीले नेपालका विभिन्न औद्योगिक क्षेत्रमा लगानी गर्न यूएई तयार रहेको बताएका छन् । उनले लगानीमैत्री वातावरण निर्माण गर्दै सहकार्यको ढोका खोल्न मन्त्री यादव समक्ष आग्रह समेत गरे ।

यूएईले विशेषगरी नेपालको कृषि क्षेत्रमा लगानी गर्न गहिरो रुचि देखाएको छ । मन्त्री डा. थानीले विभिन्न कृषि परियोजनामा लगानी भित्र्याउन आवश्यक सहजीकरण गरिदिन अनुरोध गरे ।

यसैगरी यूएईको उच्चस्तरीय प्रतिनिधिमण्डलमा सहभागी निजी क्षेत्रका प्रतिनिधिले नेपालको रेलवे क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गर्दै यसका लागि कानुनी र व्यावहारिक सहजताको अपेक्षा राखेका छन् ।

नेपालका लागि यूएईका राजदूत सहित सहभागी उक्त टोलीले नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा ठूलो सम्भावना रहेको औँल्याएको छ । यूएई सरकारले नेपालमा ‘हरित डाटा सेन्टर’ स्थापना गर्ने योजना बनाएको र यसका लागि आवश्यक सम्पूर्ण लगानी भित्र्याउन आफूहरू तयार रहेको जानकारी गराएको छ ।

नेपालमा उत्पादित फलफूल तथा तरकारी जस्ता ताजा कृषि उपज यूएई निर्यात गर्ने सम्बन्धमा दुवै देशबीच आपसी समझदारी कायम गर्ने प्रतिबद्धता जनाइएको छ ।

नेपाली उत्पादन निर्यात थप सहज र प्रभावकारी बनाउन खाद्य गुणस्तर निर्धारण र प्रमाणीकरणको क्षेत्रमा प्राविधिक सहयोगका साथै आवश्यक लगानी गर्न यूएई सकारात्मक देखिएको छ ।

छलफलमा उद्योगमन्त्री यादवले ‘नेपाल–यूएई व्यापार मञ्च’ लाई थप विस्तार र सुदृढ गर्न विशेष प्रस्ताव राखेकी थिइन् । यूएई पक्षले यस प्रस्तावलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा यसबारे थप ठोस छलफल अघि बढाउने बताएको छ ।

साथै, मन्त्री यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘फ्लाई दुबई’ उडान सञ्चालन गर्न तयार भएकोमा यूएई सरकारलाई विशेष धन्यवाद दिइन् ।

यस उच्चस्तरीय भेटवार्ताले आगामी दिनमा नेपालमा वैदेशिक लगानी भित्र्याउन सहज वातावरण बन्ने र दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धले नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?