News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेन १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
- लस एन्जलस स्टेडियममा सम्पन्न क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
२७ असार, काठमाडौं । स्पेन १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दे स्पेनलाई सेमिफाइनलमा पुर्याए ।
८८औं मिनेटमा पाउ क्युबार्सीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्ण रुपमा नियन्त्रणमा लिन सकेनन् । जसको फाइदा उठाउँदै मिकेल मेरिनोले स्पेनलाई अग्रता दिलाएका थिए । त्यसअघि यसअघि खेलको ३०औं मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, त्यसको ११ मिनेटपछि चार्ल्स डे केटलेरले हेडर गोल गर्दा खेल बराबरीमा फर्किएको थियो ।
खेलमा स्पेन अधिकांश समय बल पोजिसनमा रह्यो । स्पेनले १६ सर्ट प्रहार गर्दा बेल्जियमले मात्र ५ सर्ट प्रहार गरेको छ । सन् २०१० को विश्वविजेता स्पेन सन् २०१४ मा टोली समूह चरणबाटै बाहिरिएको थियो भने २०१८ र २०२२ मा अन्तिम १६ बाटै घर फर्किएको थियो । यसपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
१७औं पटक विश्वकप खेलिरहेको स्पेनको यो तेस्रो सेमिफाइनल यात्रा हो । यसअघि सन् १९५० र २०१० मा सेमिफाइनलमा पुगेको थियो । सन् २०१० मा च्याम्पियन बन्दा १९५० मा भने चौथो बनेको थियो ।
स्पेनसँग पराजित भएको बेल्जियमको यात्रा क्वार्टरफाइनलमै रोकिएको छ । यसअघि सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको बेल्जियम सन् २०१८ को विश्कपमा तेस्रो बनेको थियो । सन् २०२२ को विश्वकपमा भने समूह चरणबाट बाहिरिएको थियो ।
अब स्पेनले सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ ।
प्रतिक्रिया 4