+
+
Shares

ट्रम्पको चेतावनी- इरानतर्फ १००० मिसाइल तैनाथ छन्, जवाफी कारबाहीको आदेश दिइसकें

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्याको प्रयास गरेमा अमेरिकाले अभूतपूर्व हमला गर्ने चेतावनी दिएका छन्।
  • इजरायलमा तैनाथ रहेका १२ वटा एफ-२२ फाइटर जेटहरूलाई अमेरिकाले फिर्ता बोलाउन थालेको छ।
  • इरानले पारचिन र पिकएक्स माउन्टेनमा रहेका क्षतिग्रस्त आणविक केन्द्रहरूको मर्मत र पुनःनिर्माण सुरु गरेको स्याटेलाइट तस्बिरहरूले देखाएका छन्।

२७ असार, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले आफ्नो हत्याको प्रयास गरेमा अमेरिकाले यसअघि कहिल्यै नदेखिएको हमला गर्ने चेतावनी दिएका छन्।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले इरानतर्फ १००० मिसाइलहरू तयारी अवस्थामा राखिएको र आवश्यक परेमा हजारौं थप मिसाइलहरू प्रहार गरिने लेखेका छन्।

ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘यदि इरानले ममाथि हमला गर्‍यो भने इरानलाई पूर्ण रूपमा ध्वस्त पारिनेछ।’ उनले जवाफी कारबाहीका लागि पहिले नै आदेश दिइसकेको र अमेरिकी सेना कम्तीमा एक वर्षसम्म यस्तो कुनै पनि कारबाहीका लागि पूर्ण रूपमा तयार रहेको दाबी गरेका छन्।

सन् २०२० मा अमेरिकी ड्रोन हमलामा इरानी कमाण्डर कासिम सुलेमानीको मृत्यु भएदेखि नै इरानले बदला लिने चेतावनी दिँदै आएको छ। हालै इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिमा केही मानिसहरूले ट्रम्पको हत्या गर्ने नारा लेखिएका ब्यानर बोकेपछि ट्रम्पले थप आक्रामक चेतावनी दिएका हुन्।

यसैबीच, इजरायली मिडिया ‘कान न्युज’ को रिपोर्ट अनुसार, अमेरिकाले इजरायलबाट आफ्ना १२ वटा ‘एफ-२२’ स्टेल्थ फाइटर जेटहरू फिर्ता बोलाउन थालेको छ। यी लडाकु विमानहरू गत फेब्रुअरीदेखि इजरायलको ओभ्दा एयरबेसमा तैनाथ थिए।

रिपोर्टमा दाबी गरिए अनुसार यी विमानहरूलाई इरानविरुद्धको सैन्य अभियानका लागि पठाइएको थियो र यिनले भर्खरैका हमलाहरूमा पनि भाग लिएका थिए। सामाजिक सञ्जाल एक्समा सार्वजनिक भएको एउटा फुटेजमा यी जेटहरू इजरायलबाट उडान भरिरहेको देख्न सकिन्छ।

इजरायललाई इरानको चेतावनी

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले यदि इजरायलले आफ्ना महत्त्वपूर्ण स्थानहरूमा फेरि हमला गरेमा कडा जवाफ दिइने बताएको छ। यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमाथि थप हमलाको चेतावनी दिएका थिए।

कतारद्वारा तनाव कम गर्न अपिल

कतारले अमेरिका र इरान दुवैलाई सम्झौताको पालना गर्न र वार्ता जारी राख्न अपिल गरेको छ। साथै, होर्मुज जलसन्धिमा जहाजहरूको सुरक्षित आवतजावत कायम राख्न जोड दिएको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठकमा रुसले बेलायत, फ्रान्स र जर्मनीले इरानको नागरिक पूर्वाधारमा अमेरिका र इजरायलले गरेको हमलाको समर्थन गरेको आरोप लगाएको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले अमेरिका-इरान तनाव बढेमा विश्वव्यापी तेल आपूर्ति प्रभावित हुन सक्ने र ऊर्जा सङ्कट लम्बिन सक्ने चेतावनी दिएको छ।

क्षतिग्रस्त आणविक केन्द्रहरू पुनः निर्माण गर्दै इरान

अमेरिकी न्युज च्यानल सीएनएनले स्याटेलाइट तस्बिरहरूको विश्लेषण गर्दै इरानले पारचिन र पिकएक्स माउन्टेनमा रहेका आफ्ना क्षतिग्रस्त आणविक केन्द्रहरूको मर्मत र पुनः निर्माण सुरु गरेको दाबी गरेको छ।

यदि यी गतिविधिहरू आणविक कार्यक्रमसँग जोडिएका हुन् भने, यो जुन महिनामा अमेरिका र इरानबीच भएको सम्झौताको उल्लङ्घन हुन सक्ने विज्ञहरूले बताएका छन्।

शनिबार इरानको राजधानी तेहरानको पूर्वी भागमा सुनिएको ठूलो विष्फोटको आवाज कुनै हमला नभई सुरक्षा एजेन्सीहरूले विष्फोटक पदार्थ नष्ट गर्न गराएको ‘नियन्त्रित विष्फोट’ रहेको स्थानीय प्रशासनले स्पष्ट पारेको छ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?