+
+
Shares

गोरखामा निर्धारित समयभन्दा एक वर्षअगावै बने दुई पुल, निर्माण कम्पनी सम्मानित

उद्घाटनमा मुख्यमन्त्रीले भने- निर्धक्क काम गर्दा बजेटको अभाव हुन्न

गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ जोड्ने लुदी खोला पुल र पालुङटार नगरपालिका–९ शेरास्थित चुक्ति खोला पुलको निर्माण निर्धारित समय अगावै सकिएको हो ।

विकास मरहट्टा विकास मरहट्टा
२०८३ असार २७ गते १६:४२

२७ असार, गोरखा । गोरखामा गण्डकी प्रदेश सरकारको बजेटबाट दुई मोटरेवल पुलको निर्माण निर्धारित समय अगावै सकिएको छ ।

गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ जोड्ने लुदी खोला पुल र पालुङटार नगरपालिका–९ शेरास्थित चुक्ति खोला पुलको निर्माण निर्धारित समय अगावै सकिएको हो ।  शनिवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुवै पुलको उद्घाटन गरेका छन् ।

स्याउली बजार हुँदै मनकामना जाने सडक खण्डमा निर्माण भएको लुदी खोला पुलको कुल लागत ७ करोड ५९ लाख रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । दुई वर्षमा काम सम्पन्न गर्ने गरी २०८२ साल असार २२ गते गणेशकुण्ड इन्फास्ट्रक्चर एन्ड बिल्डर  प्रालिसँग सम्झौता भएको उक्त पुलको निर्माण कार्य एक वर्ष अगावै सकिएको पूर्वाधार विकास कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।

‘त्यो पुलको निर्माण अवधि २०८४ सालको असारसम्मको थियो,’ उनले भने, ‘तर एक वर्ष अघि नै काम सम्पन्न भयो ।’ उनका अनुसार प्री–स्ट्रेस, टी–बिम प्रकारको उक्त पुलको कुल लम्बाइ ३० मिटर र चौडाइ ८.४० मिटर रहेको छ ।

समय अगावै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई कार्यालयले सम्मानसमेत गरेको छ । पुल उद्घाटन कार्यक्रममा निर्माण कम्पनीका सञ्चालक राजेन्द्र थपलियालाई दोसल्ला ओढाएर कदर पत्रसहित सम्मान गरिएको हो ।

उता, पालुङटारको चुक्ति खोलामा निर्मित पुल ३ करोड ४२ लाख लागतमा बनेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । त्यसको लम्बाइ २० मिटर र चौडाइ ८.४० मिटर छ ।

उक्त पुल निर्माणका लागि २०८२ साल असार २२ गते अमृत कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो । आउँदो पुस महिनासम्म म्याद रहे पनि ६ महिना अगावै पुल सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

उक्त पुलबाट पालुङटार नगरपालिकाका वडा नम्बर ६, ९, १० तथा गोरखा नगरपालिका–१२ का स्थानीय बढी लाभान्वित हुने कार्यालय प्रमुख अर्यालले बताए ।

‘यो पुल बनेपछि तल्लो सेरा र माथिल्लो सेरा सडकमा बाह्रै महिना सवारी गुड्छ, त्यहाँ उत्पादन भएको कृषि उपजलाई बजारसम्म ल्याउन पनि सजिलो हुन्छ,’ उनले भने । समय अगावै पुल सम्पन्न भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

उद्घाटनपश्चात् बोल्दै मुख्यमन्त्री पाण्डेले पुल निर्माणले स्थानीय कृषि उत्पादनलाई बजारसम्म जोड्न सहज भएकाले उत्पादन केन्द्रित हुन स्थानीयलाई आग्रह गरे । प्रसिद्ध धार्मिक स्थल मनकामना जोड्ने छोटो बाटो भएकाले पनि सवारी आउजाउमा उक्त पुलले निकै सहज हुने धारणा उनले व्यक्त गरे ।

‘यो पुल बनाउनुअघि साठीमुरेमा बनाउने कि यहाँ बनाउने भन्ने विवाद थियो,’ मुख्यमन्त्री पाण्डेले भने, ‘मैले यस पटक यहाँ, अर्को पटक साठीमुरेमा बनाउने भनेपछि विवाद मिलेको हो ।’ साठीमुरेमा पुल बनाउनका लागि यो वर्ष बजेट विनियोजन भएको उनले जानकारी दिए ।

पुल निर्माणसँगै सडक स्तरोन्नतिका लागि पनि प्रदेश सरकारले पहल गर्ने उनले बताए । प्रदेशका योजनामा बजेटको अभाव नहुने भन्दै निर्धक्क भएर काम गर्न उनले निर्माण व्यवसायीहरूलाई निर्देशन समेत दिएका छन् ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?