२७ असार, रोल्पा । रोल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
जिल्लामा रहेका बालबालिकालाई खोप लगाउने उमेर १५ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाहरूले खोप पाएसँगै रोल्पा जिल्लालाई शनिबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
स्वास्थ्य कार्यालय रोल्पाले जिल्लाका ७२ वटै वडा र १० वटै स्थानीय तहमा ‘खोज र खोप अभियान’ सञ्चालन गरी ५ वर्षमुनिका खोप लगाउन छुटेका बालबालिकाहरूको पहिचान गरेर सबै बालबालिकालाई खोप लगाइएको जनाएको छ ।
स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख माधव राउतका अनुसार जिल्लाभर पाँच वर्षमुनिका करिब १३ हजार ५७७ जना बालबालिकाहरूले पूर्ण खोप पाएका छन् ।
पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा समारोहमा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले खोप कार्यक्रम बालबालिकाको भविष्यसँग जोडिएकोले राज्य संवेदनशील रहेको बताए ।
बालबालिकालाई भविष्यमा लाग्नसक्ने रोगबाट बचाउन खोप अनिवार्य रहेको बताउँदै मन्त्री घिमिरेले खोप अभियान विश्व समुदायको साझा अभियान पनि रहेको बताए ।
रोल्पा २०७५ सालमा पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको थियो । नेपाल सरकारले प्रत्येक वर्ष स्थानीयतह हुँदै जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पद्धति बसालेको छ ।
यसपटक गरी रोल्पा जिल्लालाई हाल आठौँ पटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
प्रतिक्रिया 4