News Summary
Generated by OK AI. Editorially reviewed.- मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि उनको शव तीन दिनदेखि त्रिवि शिक्षण अस्पतालमै रहेको छ ।
- महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका नेपालीको मृत्यु भएसँगै न्यायको माग गर्दै परिवार काठमाडौं आएका छन् ।
- पीडित परिवार र सरकारबीच पटक–पटक वार्ता भए तापनि हालसम्म कुनै सहमति हुन सकेको छैन ।
२८ असार, काठमाडौं । आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव तीन दिनदेखि उठ्न सकेको छैन । मुगुको सोरु गाउँपालिका–१ घर भएका २५ वर्षीय नेपालीको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । नेपालीले बिहीबार त्रिपुरेश्स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
मोटरसाइकलमा ह्वील लक लगाएको विषयमा महानगर प्रहरीसँग विवाद भएपछि नेपालीले आत्मदाह गरेको बताइएको छ । विवादको भिडियो फुटेज समेत बाहिरिएको छ । जहाँ महानगर प्रहरीसँग ह्वील लक लगाएको विषयमा विवाद भएको देखिन्छ ।
आत्मदाह प्रयासबाट गम्भीर घाइते भएका उनको भोलिपल्ट उपचारको क्रममा वीर अस्पतालमा उनको मृत्यु भएको थियो । तर तीन दिनदेखि उनको शव उठ्न सकेको छैन ।
उनका दाजु मदन नेपाली तथा बाआमा समेत न्याय माग्दै काठमाडौं आएका छन् । तर अहिलेसम्म कुनै सहमति हुन सकेको छैन । शनिबार रातिदेखि आइतबार बिहान ७ बजेसम्म पनि छलफल भएको थियो । छलफलमा कुनै निष्कर्ष ननिस्किएको प्रशासन स्रोतले जानकारी दियो ।
‘हिजो रातिदेखि आज बिहानीपख ७ बजेसम्म सहमतीका लागि वार्ता भएको थियो । तर सहमति हुन सकेन । उहाँहरूले विभिन्न बाहना बनाउँदा सहमति भएन । अब वार्ताको टुंगो छैन’ स्रोतले भन्यो ।
मृतक नेपालीका बा समेत न्याय माग्दै अहिले काठमाडौंमा छन् । उनका दाजु मदन पनि काठमाडौं नै बस्दै आएका थिए । अहिले भने उनीहरुलाई कोही कसैसँग सम्पर्क समेत गर्न नदिई राखिएको परिवारले बताएका छन् ।
उनीहरुलाई सीडीओ कार्यालय नजिकको खाली भवनमा राखिएको छ । जहाँ बाहिरका मान्छेसँग सम्पर्क समेत गर्न नदिइएका मृतकका दाजु मदन बताउँछन् । ‘हामीलाई बबरमहल राखिएको छ । बाहिर जान समेत दिइएको छैन । सुरक्षा घेरामा राखिएको छ । छलफल गर्ने भनिएको छ’ मदनले अनलाइनखबरसँग भने ।
अहिले बिहान भने प्रधानमन्त्री कार्यालयबाट केही प्रतिनिधि आएर भेट गरेर गएको तर कुनै सहमति नभएको पीडित परिवारको भनाइ छ । यता प्रशासनले भने फेरि छलफल गर्न लागिएको बताएको छ । सरकार र पीडित परिवारबीच सहमति हुन नसक्दा गणेशको शव उठ्न सकेको छैन ।
प्रतिक्रिया 4