News Summary
Generated by OK AI. Editorially reviewed.- गणेश नेपालीको आत्मदाहपूर्ण निधनले नेपाली समाजमा विद्यमान मानवीय संवेदनाको क्षयीकरण र नैतिक विघटनलाई सतहमा ल्याइदिएको छ।
- डिजिटल सञ्जालमा पीडालाई राजनीतिक खपत वा मनोरञ्जनको सामग्री बनाउने प्रवृत्तिले आधुनिक समाजको संवेदनशीलता कमजोर भएको पुष्टि गर्छ।
- राज्यको क्रूरताभन्दा समाजको नैतिक पतन भयावह बनेकाले नागरिकमा मानवीय संस्कारगत पुनर्जागरणको खाँचो देखिएको छ।
युवा गणेश नेपालीको आत्मदाहपूर्ण देहावसानको खबरले नेपाली समाजको आंशिक तप्का मर्माहत भएको छ। आंशिक कुन अर्थमा भने, बहुसङ्ख्यक डिजिटल समाजले उनको मृत्युलाई स्वाभाविक मानिरहेको छ र आत्मदाहको कारण उनको मानसिक स्वास्थ्यसँग पनि जोडेको छ।
एउटा युवकले राज्यको बलजफ्ती व्यवहारले आफैंमाथि पेट्रोल खन्याएर मृत्युवरण गर्छ। यो एउटा गम्भीर एवं दुःखद् घटना त हुँदै हो, तर त्यो घटनाभन्दा पनि भयावह अर्को घटना त्यसपछि शुरु भइरहेको थियो र अद्यापि छ। जब समाजले आफ्नो कुनै सदस्यको मृत्युबाट आफूलाई चिन्ने प्रयास गर्दैन, बरु त्यसलाई राजनीतिक बहस, डिजिटल एनार्की, विचारधारात्मक विजय-पराजय वा सामाजिक सञ्जालको क्षणिक उपभोगमा रूपान्तरण गरिदिन्छ। त्यस्तो समाजसँग कुनै मानवीयस्तरको न्यूनतम आधारभूत अपेक्षा गर्न सकिन्छ या सकिंदैन ?
यो छोटो लेखमा नेपाली समाजको विकसित समकालीन संस्कारगत सङ्कटको बारेमा चर्चा गरिनेछ।
गणेश नेपालीको घटनापछि हामी समाजका रूपमा कस्तो देखिंदै छौं? सामाजिक सञ्जालका प्रतिक्रियाहरू पढ्दा बडो दुर्दान्त यथार्थ देखिन्छ। त्यहाँ करुणाभन्दा कटाक्ष धेरै थियो, उपचारको कामनाभन्दा मृत्युको अनुमान धेरै थियो। र सबैभन्दा खतरनाक कुरा- अर्को मानिसको असह्य पीडा पनि डिजिटल खपतको सामग्री बनेको थियो।
आजको समयमा सचेत नागरिक वृत्तलाई राज्यको क्रूरताभन्दा समाजको मानवीय अवस्थाले बढी विचलित बनाइरहेको छ। किनभने राज्य आकस्मिक रूपमा क्रूर हुँदैन। क्रूर राज्यको अङ्कुरण समाजको नैतिक संरचनामै निहित हुन्छ। राज्य समाजको बाहिर उभिएको कुनै पृथक् संरचना वा निकाय होइन, राज्य भनेको समाजको राजनीतिक संस्थानीकरण हो।
त्यसैले समाजमा जति करुणा बाँकी हुन्छ, राज्यमा पनि त्यति नै उत्तरदायित्व बाँकी रहन्छ। समाजमा जति संवेदनशीलता बाँकी हुन्छ, शासन पनि त्यति नै मानवीय हुन्छ। तर जब समाज स्वयं पीडाप्रति उदासीन, रमिताप्रति आकर्षित र नैतिक रूपमा अकर्मण्य बन्दै जान्छ, त्यही चेतना विस्तारै राज्यका संस्था, प्रशासन र राजनीतिक संस्कृतिमा रूपान्तरित हुन्छ। पङ्क्तिकारलाई के लाग्छ भने, नेपाली समाज यही संस्थागत दु:खान्तप्रति अभिप्रेरित हुँदैछ।
ब्रिटिश समाजशास्त्री जिग्मन्ट बाउमनले आधुनिक समाजलाई लिक्विड मोडर्निटी अर्थात् तरल आधुनिकता भनेका छन्। उनका अनुसार आधुनिक जीवनका सम्बन्ध, मूल्य, प्रतिबद्धता र नैतिक उत्तरदायित्व सबै तरल बन्दै गएका छन्।
कुनै पनि सम्बन्ध स्थायी छैन, कुनै पनि प्रतिबद्धता दीर्घकालीन छैन। सबै कुरा क्षणिक छ- समाचार, आक्रोश, सहानुभूति र स्मृति पनि। यसैले आज एउटा मानिसको पीडा पनि केही घण्टामै अर्को ट्रेन्डले विस्थापित गरिदिन्छ।
यस्तो अवस्थामा समाजसँग कानून हुन्छ, संस्था हुन्छन्, सरकार हुन्छ, तर मानिसलाई एकअर्कासँग जोड्ने नैतिक अनुशासन कमजोर बन्छ। व्यक्ति आफूलाई समुदायको हिस्सा होइन, एक्लो अस्तित्वका रूपमा अनुभव गर्न थाल्छ।
जब कुनै नागरिक मृत्यु र जीवनको बीचमा सङ्घर्ष गरिरहेको हुन्छ, तर हामी त्यसलाई ‘कन्टेन्ट’, ‘ट्रोल’, ‘मिम’ वा राजनीतिक हतियारमा बदलिदिन्छौं, तब हामीले केवल एउटा व्यक्तिलाई होइन, आफ्नै नैतिक चेतनालाई पनि त्यागिरहेका हुन्छौं।
यस्तो समाज जीवित हो भनेर मेरो नैतिक वैयक्तिक चेतनाले स्वीकार्दैन। यस्तो समाज त मृत हो, जोसँग संवेदना र सहानुभूतिका कुनै आधारभूत जीवित अवशेषसम्म रहेका हुँदैनन्।
यही कारण हिजोआज पङ्क्तिकारलाई राज्यभन्दा समाजसँग बढी डर लाग्ने गर्छ। किनभने राज्यको क्रूरता देखिन्छ, असंयमता मूर्त रूपमा आउँछ, त्यसको नागरिक प्रतिरोध गर्न सकिन्छ, त्यसलाई नियमित आवधिक निर्वाचनले बदल्न सकिन्छ।
तर समाजको नैतिक विघटन मौन हुन्छ। त्यो कानूनले रोकिन्न। त्यो सरकार फेरिएर सुध्रिन्न। त्यो संविधान संशोधनले स्वस्थ र स्वच्छ हुँदैन। त्यो तब मात्र बदलिन्छ, जब समाजले फेरि अर्को मानिसको अनुहारमा आफ्नै मानवता देख्न सिक्छ।
गणेश नेपालीको मृत्युको सबैभन्दा गम्भीर प्रश्न शायद यही मात्रै होइन कि- उनी किन मरे ? शायद त्योभन्दा गम्भीर प्रश्न यो हो- उनको मृत्युको सामना गर्दा हामी कस्ता मानिसका रूपमा देखियौं, देखिंदै छौं र देखिइरहेका छौं ? र सम्भवतः इतिहासले यही प्रश्नलाई हाम्रो समयको नैतिक परीक्षाका रूपमा सम्झिरहनेछ।
डिजिटल क्राउड र नेपाली समाजको नैतिक विघटन
गणेश नेपालीको असामयिक राज्यप्रेरित निधनले केवल एउटा नागरिकको जीवनको अन्त्यलाई सूचित गर्दैन; यसले हाम्रो समयको एउटा गहिरो सामाजिक विचलनलाई पुनः उजागर गरेको छ। अझ स्पष्ट रूपमा भन्नुपर्दा, यो डिजिटल समाजमा मानवीय संवेदनाको क्रमिक विघटनको श्यामश्वेत तस्बिरको प्रतिबिम्ब हो।

कुनै समय थियो- समुदाय भनेको छिमेकी थियो, गाउँ थियो, परिवार थियो। मानिसका दुःख-सुखको सामूहिक अनुभूति थियो। एउटा घरमा शोक पर्दा गाउँभरि चुलो निभ्थ्यो, किनकि त्यो समय दुःखलाई सामाजिक घटना मानिन्थ्यो। आज समुदायको ठाउँ डिजिटल नेटवर्कले प्रतिस्थापन गरेको छ। हामी हजारौंसँग जोडिएका छौं, तर कसैसँग सम्बन्धित छैनौं।
आज आधुनिकताले सम्बन्धलाई क्षणिक, प्रतिबद्धतालाई अस्थायी र नैतिकतालाई सुविधा अनुसार प्रयोग हुने वस्तुमा रूपान्तरण गरिदिएको छ। डिजिटल संसारमा कुनै पनि घटना लामो समय बाँच्दैन। एउटा मृत्यु अर्को ‘ट्रेन्ड’ ले विस्थापित हुन्छ। एउटा पीडा अर्को भाइरल भिडियोले छोपिदिन्छ। आज सामाजिक सञ्जालमा कसैको मृत्युको प्रतीक्षा गर्दै ‘रिप’ लेख्ने हतार, पीडामाथि व्यङ्ग्य गर्ने सहजता वा दुःखलाई राजनीतिक खपतमा बदल्ने प्रवृत्ति त्यही सामान्यीकृत अमानवीयताको समकालीन वेदनाहीन रूप हो।
यदि एउटा नागरिकको चरम पीडाले पनि हाम्रो करुणालाई होइन, राजनीतिक पूर्वाग्रह वा पुराना/नयाँप्रतिको राजनीतिक प्रतिशोध अथवा प्रवृत्तिको भोकलाई जगाउँछ भने हामी केवल डिजिटल रूपमा सक्रिय छैनौं; हामी नैतिक र मानवीय रूपमा निष्क्रिय हुँदैछौं र भइरहेका छौं।
हामीसँग लोकतन्त्र छ, संविधान छ, निर्वाचन छ, सामाजिक सञ्जाल छ, विकासका नाराहरू छन्। तर के हामीसँग अझै पनि अर्को अपरिचित मानिसको पीडामा थोरै रोकिएर सोच्ने ‘कग्निटिभ’ अर्थात् संज्ञानात्मक संस्कार बाँकी छ ?
यसैले आजको प्रश्न प्रविधिको मात्रै नभएर सभ्यताको हो, सामाजिक संस्कारको हो, मानवीयताको हो। र, त्यसको उपचार केवल नैतिक र संस्कारगत पुनर्जागरण हो।
प्रतिक्रिया 4