News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले हङकङलाई १८१ रनले पराजित गर्दै लगातार तेस्रो जितसहित समूहविजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ।
- नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको हङकङ २० ओभरमा ९ विकेट गुमाएर ३० रनमात्र बनाउन सफल भयो।
- कप्तान सोनी पाख्रिनले ६० बलमा १३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ९० रन बनाएर टोलीको जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्।
३० असार, काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित निकाल्दै समूहविजेता बनेर क्वाटरफाइनल प्रवेश गरेको छ ।
समूह ‘डी’ अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा नेपालले हङकङमाथि १८१ रनको अर्को फराकिलो जित हासिल गरेको हो ।
नेपालले दिएको २१२ रनको बलियो लक्ष्य पछ्याएको हङकङले पूरा २० ओभरमा ९ विकेट गुमाएर ३० रन मात्र बनाउन सक्यो ।
वोङ विङले सर्वाधिक १३ रन बनाइन् । अन्यले दोहोरो अंक छुन सकेनन् । नेपालका लागि कप्तान सोनी पाख्रिनले ४ ओभरमा ४ रन दिएर ४ विकेट लिइन् । मनिषा उपाध्यायले २ तथा कृश्मा गुरुङ र स्न्हा महराले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो । कप्तान सोनी पाख्रिनले सर्वाधिक ९० रन बनाइन् । ६० बलमा उनले १३ चौका र १ छक्का प्रहार गरिन् । सावित्री धामीले ५२ तथा अलिशा यादवले अविजित २३ रन बनाइन् ।
नेपालले यू-१९ स्तरमा बनाएको यो दोस्रो सर्वाधिक योगफल हो भने जारी प्रतियोगिताको सर्वाधिक योगफल समेत हो । यसअघि सन २०२५ महिला यू-१९ टी-२० विश्वकप छनोटमा नेपालले कुवेतविरुद्ध २१३ रनको योगफल बनाएको थियो ।
हङकङका लागि निमरा अरबले २ तथा वोङ विङ र आरुज फातिमाले १-१ विकेट लिए ।
नेपालले यसअघि पहिलो खेलमा कतारलाई १०५ रनले अनि दोस्रो खेलमा सिंगापुरलाई १५१ रनले पराजित गरेको थियो ।
प्रतिक्रिया 4