+
+
Shares

मिडिया हाउसका गेटमा शंकास्पद गाडी : अनुसन्धान नै अघि बढेन

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले आन्तरिक रूपमा प्रहरीले बुझ्नुपर्ने विषय बुझेको बताए । तर मुद्दा चल्ने गरी केही पनि अनुसन्धान अघि नबढेको पुष्टि गरे ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ असार ३१ गते २१:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिडिया हाउसका गेटमा शंकास्पद सवारी साधन पार्किङ गरी अवरोध सिर्जना गर्ने घटनामा प्रहरीले हालसम्म कुनै पनि अनुसन्धान अघि बढाएको छैन ।
  • प्रहरीले मुद्दा दर्ता नभएको कारण देखाउँदै अनधिकृत पार्किङ गर्नेहरूलाई सामान्य चिट काटेर सवारी साधन फिर्ता गरिदिएको छ ।
  • मिडिया हाउसको गेटमा राखिएका सवारी साधन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग जोडिएकाले घटनाको निष्पक्ष छानबिन गर्न चौतर्फी माग उठेको छ ।

३१ असार, काठमाडौं । सोमबार बिहान मिडिया हाउसका गेटमा आवतजावत नै अवरुद्ध हुने गरी शंकास्पद रूपमा छोडिएका गाडीका विषयमा अनुसन्धान नै अघि बढेको छैन ।

सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले मंगलबार पत्रकारसँग कुराकानी गर्दै यो घटनामा छानबिन हुने बताएका थिए । मंगलबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता पोखरेलले भनेका थिए, ‘प्रहरीले यसमा को-को संलग्न छ भनेर खोजी गर्दैछ । जुनसुकै पार्टीको भए पनि के सजाय हुनुपर्ने हो हुन्छ ।’

तर, प्रहरीले भने मन्त्री पोखरेलले भने जस्तो घटनाको अनुसन्धान अघि बढाएको छैन । शंकास्पद रूपमा गाडी राखिएको विषयमा तत्कालै प्रहरी प्रशासनलाई खबर गरिएको थियो । प्रहरी प्रशासन तथा ट्राफिकको टोली आएर ती शंकास्पद गाडी क्रेनले तानेर लगिएको थियो ।

प्रहरी स्रोतका अनुसार यस घटनामा संलग्नहरूको पहिचान गरी किन त्यसरी गाडी राखियो भन्नेबारे प्रहरीले केही पनि अनुसन्धान अघि बढाएको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले पनि आन्तरिक रूपमा प्रहरीले बुझ्नुपर्ने विषय बुझेको बताए । तर मुद्दा चल्ने गरी केही पनि अनुसन्धान अघि नबढेको पुष्टि गरे । ‘हामीले आन्तरिक रूपमा बुझ्नुपर्ने विषयहरू बुझिरहेका हुन्छौं । तर मुद्दा नै चल्ने गरी अनुसन्धान अघि बढेको छैन,’ एसपी भट्टराईले अनलाइनखबरसँग भने ।

अहिलेसम्म यसमा कोही कसैको पनि जाहेरी नआएकाले मुद्दा चल्ने गरी अनुसन्धान अघि नबढाइएको उनले बताए ।

यता, ट्राफिक प्रहरीले यो अनुसन्धानको क्षेत्राधिकार आफूहरूसँग नभएको बताएको छ । ट्राफिकले चिट काट्नेसम्म काम गरेको बताएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाले विज्ञप्ति जारी गर्दै यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ को उपदफा १ (ख) बमोजिम कारबाही गरिएको जानकारी गराएका छन् ।

प्रहरीकै भूमिका शंकास्पद भनिएको विषयलाई खण्डन गर्दै विज्ञप्ति निकालेको प्रहरीले यो घटनाको छानबिनबारे भने केही बोलेको छैन । चिट काट्नु बाहेक अनुसन्धानमा प्रशासनले अहिलेसम्म ध्यान दिएको छैन । आतंकित पार्ने गरी एकै पटक एउटै शैलीमा मुख्य तीन वटा मिडिया हाउसको गेटमा कसले के उद्देश्यले शंकास्पद रूपमा गाडी राख्यो भन्नेबारे प्रशासनले अहिलेसम्म औपचारिक रूपमा केही बोलेको छैन ।

यसरी शंकास्पद रूपमा राखिएका गाडी धनीको कनेक्सन राष्ट्रिय स्वतन्त्र पार्टीसम्म देखिएको छ । उक्त पार्टीका नेताकै गाडी मिडिया हाउसको गेटमा पार्किङ गरिएको पाइएको छ । यो घटनाले सरकारमै रहेका व्यक्तिको संरक्षणमा आतंक फैलाउने काम भएको देखिन्छ ।

कतिसम्म भने, रास्वपाकै नेताले समेत राज्य आफैंले आतंक सिर्जना गरेको बताएका छन् । रास्वपा नेता मनिष झाले बुधबार बिहान फेसबुकमा लेखेका छन्, ‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान गरी कारबाही हुनुपर्छ । राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो । राज्य आफैंले थप आतंकित बनाउने हैन ।’

सत्तारुढ दलकै नेताबाट उक्त वक्तव्य आएपछि सरकारमै रहेका व्यक्तिबाट यो कदम भएको भन्ने आशंकालाई थप पुष्टि गरेको छ । शंकाको सुई सरकारतिर सोझिएको बेला छानबिन नै नगरी रास्वपाकै नेतृ तथा कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बाँस्कोटाले यसमा राज्यको संलग्नता नरहेको घोषणा नै गरिन् ।

‘मिडिया हाउस अगाडि सरकारले गाडी पार्किङ गरेको होइन,’ उनले भनिन्, ‘गाडीका नम्बर प्लेट निजी देखिन्छन् । यो विषयमा पनि समितिको ध्यानाकर्षण भएको छ ।’ तर तिनै निजी नम्बर प्लेटका गाडी रास्वपा नेताकै भएको विषयमा भने उनी मौन रहिन् ।

यता, सत्तारुढ रास्वपाले विज्ञप्ति नै निकालेर सरकारको ध्यानाकर्षण गराउँदै कारबाही गर्न माग गरेको थियो । सभापति रवि लामिछानेले पनि आफ्नै पार्टीका व्यक्ति भए पनि कारबाहीको भागिदार बन्ने बताएका थिए ।

विपक्षी दलले यो विषयलाई प्राथमिकतामा राख्दै कारबाही गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले त घटनामा प्रहरी नै जोडिएको बताउँदै संसदीय छानबिन समिति बनाउन माग गरेकी छिन् ।

‘शंकास्पद रूपमा मिडियामा अवरोध गर्ने उद्देश्यले पार्किङ गरिएका गाडीहरू कुनै अनुसन्धान नगरी दशी–प्रमाण फिर्ता गर्नुले यस विषयमा प्रहरीसमेत जोडिएको देखिन्छ,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘मिडियाको मुख थुन्न गरिएको सरकारी हर्कतबारे संसदीय छानबिन आवश्यक छ । दोषीलाई कारबाही गरियोस् ।’

कसरी बनाइएको थियो मिडियालाई त्रसित ?

गत बिहीबार मुगुका २५ वर्षीय गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङ गरेको विषयमा महानगर प्रहरीसँग विवाद भएको थियो । नो पार्किङमा पार्किङ गरेको भन्दै नेपालीको मोटरसाइकलमा ह्विल लक लगाइएपछि उत्पन्न विवादका कारण नेपालीले आत्मदाह प्रयास गरेका थिए । उपचारका क्रममा उनको वीर अस्पतालमा मृत्यु भयो ।

नेपालीले न्याय पाउनुपर्ने विषयदेखि सुकुमवासी समस्या लगायतका बारेमा मिडियाले प्राथमिकता साथ समाचार सम्प्रेषण गरेका थिए । सोमबार बिहानै मिडिया हाउसका गेट अगाडि गाडी राखेर चालक बेपत्ता भए । यो खबर बाहिरिएपछि रास्वपाकै नेताहरूले ह्विल लकको विरोध गरिएको र ह्विल लक नगाउँदा कस्तो हुन्छ भन्ने पाठ सिकाउन यस्तो गरेको हुन सक्ने आसय व्यक्त गरेका थिए ।

त्यसपछि शंकाको सुई सरकार सञ्चालन गर्नेहरूतर्फ तेर्सिएको थियो । कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रूपमा राखिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालको रहेको खुल्यो । उनी ८ जेठमा मात्रै रास्वपा प्रवेश गरेका थिए । उनी गृहमन्त्री सुधन गुरुङ निकट छन् । अनलाइनखबरदेखि हिमालय टेलिभिजनको गेट अगाडि पार्किङ गरिएका गाडी धनीको सम्बन्ध पनि सत्ता निकट व्यक्तिसँग रहेको छ । राज्यको संरक्षण यसरी मिडियाको हाउसको गेट अगाडि गाडी राख्दै आतंक फैलाउने काम भयो ।

सोमबार बिहानैदेखि मिडिया हाउसको गेट अगाडि बाटो नै अवरुद्ध पार्ने गरी शंकास्पद गाडी पार्किङ गरिएपछि यसबारे प्रहरी प्रशासनदेखि ट्राफिक प्रहरीलाई जानकारी गराउँदासमेत बेलैमा रेस्पोन्स भएन ।

लामो समयपछि बल्ल क्रेनमार्फत ती सवारी तानेर लगिएको थियो । बेलुका ट्राफिक प्रहरीले यसरी अनधिकृत पार्किङ गर्नेलाई सामान्य चिट काटेर गाडी जिम्मा लगायो । तर छानबिनमा भने तदरुकता देखाएन ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?