News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बनेको छ।
- लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिना अतिरिक्त समयमा पराजित हुँदै उपविजेतामा सीमित भएको छ।
- सन् १९६६ पछि पहिलो पटक इंग्ल्यान्ड विश्वकपको शीर्ष तीनभित्र पर्न सफल भएको छ।
४ साउन, काठमाडौं । फिफाले विश्वकप २०२६ मा सहभागी सबै ४८ टोलीको अन्तिम वरीयता सार्वजनिक गरेको छ। फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप जितेको स्पेन प्रतियोगिताको शीर्ष स्थानमा रह्यो भने उपविजेता अर्जेन्टिना दोस्रो स्थानमा सीमित भयो ।
फिफाले समान चरणबाट बाहिरिएका टोलीको अन्तिम स्थान निर्धारण गर्दा प्रतियोगिताभरको कुल अंक, गोल अन्तर र गोल संख्यालाई आधार मानेको जनाएको छ ।
स्पेनले फिफा विश्वकपको इतिहासमा दोस्रो पटक विश्व च्याम्पियन बन्दै प्रतियोगिताको सर्वाधिक प्रभावशाली टोलीका रूपमा आफूलाई स्थापित गर्यो । समूह चरणको पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरीमा रोकिए पनि त्यसपछि उसले लगातार सात खेल जित्दै उपाधि उचाल्यो ।
साउदी अरेबिया, उरुग्वे, अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई हराउँदै फाइनल पुगेको स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्यो। प्रतियोगिताभर उसले केवल एक गोलमात्र बेहोरेको थियो।
यता साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यसहित फाइनलसम्म पुग्यो तर अन्तिम बाधा पार गर्न सकेन । समूह चरणमा तीनै खेल जित्दै नकआउट पुगेको टोलीले केप भर्डे, इजिप्ट, स्विट्जरल्यान्ड र इंग्ल्यान्डलाई रोमाञ्चक खेलमा हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
लियोनल मेसीको प्रेरणादायी प्रदर्शनका बाबजुद स्पेनसँग अतिरिक्त समयमा पराजित भएपछि अर्जेन्टिना उपविजेतामै सीमित रह्यो ।

यस्तै, सन् १९६६ पछि पहिलो पटक विश्वकपमा शीर्ष तीनभित्र स्थान बनाउन इंग्ल्यान्ड सफल भयो । समूह चरणमा शीर्ष स्थान हासिल गरेको टोलीले डिआर कङ्गो, मेक्सिको र नर्वेलाई हराउँदै सेमिफाइनल पुग्यो । अर्जेन्टिनासँग हार बेहोरेपछि तेस्रो स्थानको खेलमा फ्रान्सलाई अविश्वसनीय ६–४ ले हराउँदै प्रतियोगिता सुखद अन्त्य गर्यो ।
फ्रान्स उपाधिको प्रमुख दाबेदार मानिए पनि अन्तिम दुई खेलमा लगातार पराजित भयो । समूह चरणमा सेनेगल, इराक र नर्वेलाई हराएको टोलीले नकआउटमा स्वीडेन, पाराग्वे र मोरक्कोलाई पराजित गर्दै अन्तिम चारमा पुगेको थियो । तर सेमिफाइनलमा स्पेन र तेस्रो स्थानको खेलमा इंग्ल्यान्डसँग हार्दै चौथो स्थानमा चित्त बुझायो ।
२८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेले उत्कृष्ट प्रदर्शन गर्दै पाँचौं स्थान हासिल गर्यो । एर्लिङ हालान्डको नेतृत्वमा समूह चरण पार गरेको टोलीले कोट डिभोर र ब्राजिललाई हराएर क्वाटरफाइनल पुग्यो । अन्तिम आठमा इंग्ल्यान्डसँग अतिरिक्त समयमा पराजित भएपछि उसको ऐतिहासिक यात्रा टुंगियो ।
त्यसैगरी, कतार २०२२ को निराशापछि बेल्जियमले यसपटक बलियो पुनरागमन गर्दै छैटौं भयो । समूह चरणबाट अघि बढेपछि उसले सेनेगलविरुद्ध दुई गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकाल्यो भने अमेरिकालाई ४–१ ले हराउँदै क्वाटरफाइनल पुग्यो। अन्तिम आठमा स्पेनसँग पराजित भएपछि उसको यात्रा सकियो ।
कतार विश्वकपको ऐतिहासिक सेमिफाइनल यात्रापछि मोरक्कोले यसपटक पनि प्रभावशाली प्रदर्शन गर्यो तर सातौं स्थानमा सीमित रह्यो । समूह चरणमा ब्राजिलसँग बराबरी खेल्दै स्कटल्यान्ड र हैटीलाई हरायो। त्यसपछि नेदरल्यान्ड्स र आयोजक क्यानडालाई पराजित गर्दै क्वाटरफाइनल पुग्यो, जहाँ फ्रान्ससँग २–० ले पराजित भयो ।
स्विट्जरल्यान्डले समूह चरणमा बोस्निया एन्ड हर्जेगोभिना र क्यानडालाई हराउँदै तथा कतारसँग बराबरी खेल्दै शीर्ष स्थान हासिल गर्यो । नकआउटमा अल्जेरियालाई हराएर क्वाटरफाइनल पुगेको टोली अन्तिम समयमा अर्जेन्टिनासँग ३–१ ले पराजित भयो। प्रतियोगिताभरको प्रदर्शनका आधारमा उसले मोरक्कोसँग संयुक्त सातौं स्थान प्राप्त गर्यो ।

नवौं देखि ४८औं
सहआयोजक मेक्सिकोले ऐतिहासिक प्रदर्शन गर्दै नवौँ स्थान हासिल गर्यो भने ब्राजिल ११औं र पोर्चुगल १३औं स्थानमा सीमित भए । जर्मनी १८औं, नेदरल्यान्ड्स १७औं तथा क्रोएसिया २०औं स्थानमा रहे।
एसियाली टोलीमध्ये जापान २१औं स्थानमा रहँदै सबैभन्दा उत्कृष्ट बन्यो । त्यसपछि अष्ट्रेलिया २२औं, दक्षिण अफ्रिका २५औं, अस्ट्रिया २८औं, बोस्निया एन्ड हर्जेगोभिना २९औं, अल्जेरिया ३०औं, सेनेगल ३१औं र प्रतियोगितामा पहिलोपटक खेलेको केप भर्डे ३२औं स्थानमा रह्यो ।
इरान ३३औं, दक्षिण कोरिया ३४औं, टर्की ३५औं, स्कटल्यान्ड ३६औं, उरुग्वे ३७औं, साउदी अरेबिया ३८औं, चेकिया ३९औं, न्युजिल्यान्ड ४०औं, कतार ४१औं, कुरासाओ ४२औं, पानामा ४३औं, जोर्डन ४४औं, हाइटी ४५औं, उज्बेकिस्तान ४६औं, ट्युनिसिया ४७औं र इराक ४८औं स्थानमा रहे ।
फिफा विश्वकप २०२६ को अन्तिम वरियता
१. स्पेन
२. अर्जेन्टिना
३. इंग्ल्यान्ड
४. फ्रान्स
५. नर्वे
६. बेल्जियम
७. मोरक्को
७. स्विट्जरल्यान्ड
९. मेक्सिको
१०. कोलम्बिया
११. ब्राजिल
१२. अमेरिका
१३. पोर्चुगल
१४. क्यानडा
१५. इजिप्ट
१६. पाराग्वे
१७. नेदरल्यान्ड्स
१८. जर्मनी
१९. आइभरी कोस्ट
२०. क्रोएसिया
२१. जापान
२२. अष्ट्रेलिया
२३. डीआर कङ्गो
२४. घाना
२५. इक्वेडर
२५. दक्षिण अफ्रिका
२७. स्विडेन
२८. अस्ट्रिया
२९. बोस्निया एन्ड हर्जेगोभिना
३०. अल्जेरिया
३१. सेनेगल
३२. केप भर्डे
३३. इरान
३४. दक्षिण कोरिया
३५. टर्की
३६. स्कटल्यान्ड
३७. उरुग्वे
३८. साउदी अरेबिया
३९. चेकिया
४०. न्युजिल्यान्ड
४१. कतार
४२. कुरासाओ
४३. पानामा
४४. जोर्डन
४५. हैटी
४६. उज्बेकिस्तान
४७. ट्युनिसिया
४८. इराक
प्रतिक्रिया 4